ताजा समाचार
  • शिक्षक महिलाले धानेको नमूना विद्यालय
  • हिंसापीडित महिलालाई रेडियो कार्यक्रमले दिलायो न्याय
  • भोट माग्न महिला सक्रियता 
  • महिलालाई आत्म सुरक्षा तालिम
  • एक्स–रे गर्दा यौन दुव्र्यवहार गर्ने स्वास्थ्यकर्मी प्रहरी हिरासतमा
  • ठुला दलबाट ४३ जना महिला चुनावी मैदानमा (नामसहित)
  • राष्ट्रपतिलाई युएई भ्रमणको निम्तो
  • मतगणना स्थलमा महिला मात्रै प्रतिनिधि
  • प्रत्यक्ष चुनावमा हेपिएका महिला
  • समान ज्याला प्राप्त गर्ने अधिकारलाई कार्यान्वयनमा ल्याउन सर्वोच्चको आदेश
  • अमेरिकी राष्ट्रपतिलाई माझी औँला देखाउँदा महिलाको जागिर गयो
  • कुवेत लैजान लागिएका दुई युवतीको उद्धार
  • ८८ महिलाको स्वतन्त्र उम्मेदवारी
  • सामाजिक क्षेत्रमा अभियान थाल्न सहकारीलाई आग्रह
  • मतदाता रिझाउन ढकिया बोक्दै आरजुले भनिन्, तपाईंहरूको सेवक बन्ने धोको छ

    म नहुँदा श्रीमतीलाई बेरंगी नबनाउनु

    प्रकाशित मिति :2017-02-11 10:00:27

    प्रतिमा सिलवाल

    रातो टीका लगाएको आफ्नो तस्बिर फेसबुकमा पोष्ट गर्दै गतहप्ता लिली थापाले एकल महिलालाई रातो टीका अभियान चलाउन उत्प्रेरणा जगाइन् । उनको आव्हानपछि धेरै एकल र अन्य महिलाले रातो टीका लगाएका आफ्ना तस्बिर सामाजिक सञ्जालमा प्रस्तुत गरेर ऐक्यवद्धता जनाए । एकल, अझ परित्यक्त जीवनको चोट यति गहिरो हुन्छ, त्यसका अगाडि यस्ता सामाजिक अभियान केवल प्रदर्शन मात्र लाग्छन् । बाघको चित्र कागजमा कोरेर प्रस्तुत गरिएको कौशल र जंगलमा बाघसँग लडाईं नै लडेर बाँच्नु बीच जे भिन्नता छ, त्यस्तै लाग्छ मलाई एकल जीवनको सन्ताप र यस्ता अभियान बीचको सम्बन्ध ।

    घटनाहरु आफैंमा सामान्य हुन्छन्, यदि त्यसले दिएका चोट अलग गरिदिने हो भने । जब चोट नै सहनुपर्छ, घटनाहरू सामान्य रहँदैनन्, त्यस भित्रका संवेदनाहरूले मान्छेको मुटु हल्लाइदिन्छन् । मैले चाँहि म आफैंलाई ठूलो चोट दिएको बाल्यकालको पीडादायी घटना सम्झन पुगेँ ।

    मान्छे मर्नु भनेको के हो, म जान्न सक्ने उमेरकी पनि थिइनँ । मर्ने कुरा सुन्थेँ कहिलेकाहीँ, तर त्यो केटाकेटी खेलका संवादहरूको सीमा मात्रै बुझ्थेँ म । मृत्युको संवेदना घुल्न सक्ने मष्तिष्क म भित्र बनिसकेको थिएन ।

    घटना २०५२ साल मंसिर महिनाको हो । बुबाको देहावसान भयो । बुबाको मृत्युले मैले के गुमाएँ, थाहा थिएन । नभोगुन्जेल मृत्यु ठट्टामा प्रयोग गरिने किस्सा जस्तै लाग्थ्यो । पछि बुझ्ने भएपछि थाहा पाएँ, मैले जीवनको प्रिय व्यक्ति गुमाएकी रहेछु । अझ आमाले के गुमाउनुभयो होला ? त्यो संवेदना यहाँ म व्यक्त गर्न सक्दिनँ ।

    गाउँमा आमाको पुस्ताका महिलामध्ये सबैभन्दा पहिले एकल हुने मेरी आमा नै हुनुहुन्थ्यो । अघिल्लो दिनसम्म रातै पहिरनमा रहेकी आमालाई बुबाको निधन लगत्तै सेताम्मे देख्नुपर्‍यो । सेतो पहिरनमा आमालाई देखेर म निकै डराएकी थिएँ । मैले महिलाको त्यस्तो रुप कहिल्यै देखेकी थिइनँ, पहिलोपटक देखेँ आफ्नै आमालाई ।

    ती मेरी स्नेही आमा नै होइनन् कि ? मलाई शंका लाग्थ्यो । आमाका सन्तप्त आँखाले दिएको स्नेहले मात्र म उहाँलाई ठम्याउँथेँ । कहिले उहाँको सेतो पहिरनमा झुम्मिन मन लाग्थ्यो । छुन हुँदैन भनेर सबैले रोक्थे । म एकदमै डराउँथेँ । डरले म काँपिरहेकी मात्र थिइनँ, मनमा ठूलो पहिरो लड्थ्यो । त्यो सम्झिँदा अहिले पनि अत्यास लाग्छ ।

    सिन्दुर, पोते, टीका अनि रातो पहिरनमा सँधै देखेकी मेरी आमा पूरै फेरिनुभएको थियो । सपनामा पनि म पुरानो रुपकी आमा मात्र देख्थेँ । तर, मेरी आमा पुरै बेरंगकी भइसक्नुभएको थियो ।

    काजको १३ दिनसम्म आमाले सेतै लुगा लगाउनु भयो । काजक्रिया सकिने बेला हाम्रो आँगनमा निकै खैलाबैला भयो, आमाले यसपछि कस्तो रंगको लुगा लगाउने भन्नेबारे । बुबाका ५ दाजुभाइमध्ये पहिलो निधन हुने मेरो बुबा नै हुनुहुन्थ्यो । विधवा हुँदा आमाले लगाएको लुगाजस्तै ठूलीआमा र काकीहरुको लागि पनि निर्धारण हुने भएकाले होला उहाँले अरु रंगका लुगा लगाउन पाउनेबारे चर्चा चलेको । निरिह आमा एउटा कुनामा बसेर कचहरी चुपचाप सुन्दै हुनुहुन्थ्यो । सेतो पहिरनमा उहाँ त्यसै त्यसै उजाड देखिनु भएको थियो । मनभित्र कस्तो बाढी आएको थियो होला, कस्तो तरंग चलेको थियो होला, अनुमान गर्दा पनि मेरो आङ सिरिंङ्ङ हुन्छ ।

    आमालाई लगाउन दिने लुगाबारे पुरुष (बुबाका दाजुभाइ) टोली आँगनमा चर्चा गर्दै थिए । काकाले प्याच्च भन्नुभयो, ‘अरु के हुन्छ, विधुई टोप्रेल ल्याइदिने नि !’ काकीहरूबीच ‘विधुई टोप्रेल’ बारे चर्चा त सुनेको थिएँ, तर त्यो कस्तो हुन्छ मलाई थाहा थिएन ।

    काकीहरू भन्थे, ‘यस्तो भर्खरकी मान्छेलाई के को त्यस्तो लुगा लगाउनु पर्‍यो, रातै ल्याइदिए भइगयो नि !’ तर, उनीहरू त्यो निर्णयमा सामेल थिएनन् । निर्णय त ठूलो’बा, काकाहरुकै लागू भयो । आमालाई त्यही ‘विधुई टोप्रेल’ ल्याइयो, अर्थात्, हरियो, सेतो, निलो मिसिएको, रंग फुंङ्ग उडेको फरिया ।मैले आफ्नो जीवनका ८ वर्ष मात्रै बुबासँग बिताएँ । बुबाबारे जति सम्झना छ, उहाँको बिरामी अवस्था मात्रै मेरो स्मृतिमा आउँछ । बुबाले मेलापात, घाँस दाउरामा आमालाई सघाउन सक्नुभएको मैले कहिल्यै देखिनँ । हुन त, आमाको विवाह नै ६ वर्षको उमेरमा भएको रे ! मामाघरको हजुरबुबा हजुरआमाले छोरा जन्मिने आशामा मेरी आमाको कन्यादान गरिदिएका रे ! त्यतिबेला बुबाको उमेर २५ अनि आमाको उमेर ६ वर्षको थियो । अनमेल विवाहको शिकार भएर आमाले आफ्नो जीवन गुजार्नुभयो, पुरुषवादी समाजको दास भएर जिउनुप¥यो ।

    बुबा हुँदा आमाको शरीरमा रंगीन वस्त्र हुन्थे । मन रंगीन थियो कि थिएन ? जव बुबा बित्नुभयो, आमा बाहिर र भित्र दुवैतिरबाट रंगहीन हुनुभयो । आमाको वस्त्रको रंग त बुबा हुनुहुँदो रहेछ, मन भित्रको रंग पनि बुबा नै हुनुहुँदो हो । म त्यति जान्ने बुझ्ने भइसकेकी थिइनँ, तर उहाँले भुक्तानी गरेको संघर्षबाट अलिअलि अनुमान मात्र लगाउन सक्छु ।

    म बुबालाई एकदमै माया गर्थें । बुबाको अभाव जीवनभर खट्किरह्यो । आजपनि उत्तिकै छ । तर, आमाको अस्तित्व बुबाबिना किन पूर्ण हुन सक्दैन भन्ने प्रश्न सँधै मेरो घाँटी–घाँटीसम्म आएर अड्किन्छ । बिहेपछि पहिरन लवाई फेरिनुपर्ने, फेरी श्रीमानको मृत्युपश्चात सबैथोक फेरिनुपर्ने । कस्तो सामाजिक संरचनाबाट ग्रसित छौं हामी ?

    केही वर्षअघि मैले चितवनकी प्राध्यापक कल्याणी त्रिपाठीसँग रेडियो अन्तर्वार्ता लिएकी थिएँ । श्रीमानको् दुर्घटनामा निधन भएपछि उहाँ एकल बन्नुभयो । श्रीमान्को मृत्युपछि एउटा छोरा हुर्काउने एकल जिम्मेवारी उहाँले निभाउनु नै परेको थियो । त्यसमाथि, श्रीमानको मृत्युसँगै आफूबाट खोसिएको रातो रंगले उहाँलाई झन् मर्महात बनाएको रहेछ । जुन कुरा उहाँ विपनीमा कसैसँग गुनासो गर्न सक्नुहुन्नथ्यो । मात्रै सपनीमा गुनासो गर्नुहुने रहेछ, त्यो पनि आफ्नै श्रीमान्सँग । उहाँले रेडियो अन्तर्वार्तामा भन्नुभएको थियो– ‘म सपनामा श्रीमानलाई देख्थें । त्यतिबेला उनलाई मेरो एउटै प्रश्न हुन्थ्यो, तिमी त मरेर गयौ, गयौ मेरो रातो रंग किन लिएर गयौ ?’

    साँच्चिकै, पुरुष आफ्नो मृत्युसँगै पत्नीको पहिरन फुङ्ग उडाएर किन जान्छन् ? के उनीहरूको चाहना आफ्नी पत्नी बेरंगकी होस् भन्ने होला ? श्रीमतीलाई बेरंगकी होउन् भन्ने भावना श्रीमतीलाई माया गर्ने एक श्रीमान्को मनमा हुँदैन जस्तो लाग्छ मलाई ।

    हुन त, संस्कारको जन्जीरले यहाँ महिला पुरुष दुवै बाँधिएका छन् । विधवा भएपछि लगाउने रंगमा बाँधिएको बन्धन छिनाउने अभियानको सारथी पुरुष बन्नुपर्छ । पुरुषको सहभागिता बिना सामाजिक सञ्जालको रातो टीकाले मात्र यसलाई मेट्न सक्दैन । रातो टीका अभियान चलाइरहनुपर्ने अवस्थाबाट मुक्त हुने दिन श्रीमानहरूले नै ल्याउन सक्छन् । जीवनको अन्तिम सत्य मृत्यु हो, हामी अन्ततः मर्छौ, मात्रै ढिलो चाँडो हो । श्रीमानहरू बोल्नुस् अब, ‘म नहुँदा तिमी बेंरगकी नबन्नु’ भनेर । तर, महिलाले मात्रै चाहेर उनीहरू रंगीन हुन सक्दैनन्, यसैले पुरुषले समाजलाई पनि भन्न सकुन् – म नहुँदा मेरी श्रीमतीलाई बेरंगी नबनाउनु ।

    दाजुभाइ, बुबाहरू सोच्नुस् त, तपाईंको श्रीमतीको मृत्यु हुँदा तपाईं जति विक्षिप्त हुनुहुन्छ, त्यो भन्दा कयौं गुणा विक्षिप्तता महिलामा आउँछ कि आउँदैन । तर, महिलाले अर्को जन्म लिएझैं उराठ जीवन लिएर किन बस्नुपर्ने ? एउटै जीवनमा महिलाले कतिपटक रुप फेर्नुपर्ने ? कहिले विवाहको नाममा । कहिले विधवाको नाममा । के हामी एक पूर्ण मानवचोला बाँच्न पाउँदैनौं ? अब तपाईंहरूले सिकाइदिनुस् पुरुषको अस्तित्व जति पूर्ण छ महिला पनि एकमै पूर्ण छिन् । महिला भने कहिल्यै एक्लै पूर्ण हुँदिनन् भन्ने संरचना अब हामीले भत्काउनुपर्छ । लिली थापाहरूलाई रातो टीका अभियान होइन महिलाको स्वतन्त्र अस्तित्वको अभियान चलाउन अभिप्रेरित गर्न सम्पूर्ण श्रीमानको पहल होस् ।

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    शिक्षक महिलाले धानेको नमूना विद्यालय

    –रमेश रावल– कालिकोट । जिल्लामा महिला शिक्षक मात्र रहेको एक विद्यालय नमुना बन्दै गएको छ ।

    हिंसापीडित महिलालाई रेडियो कार्यक्रमले दिलायो न्याय

    मेरो नाम दिपा थापा । घर र माइती संखुवासभा हो । हाल म इटहरीमा बस्छु

    महिलालाई आत्म सुरक्षा तालिम

    नेपालगंज २२ गते । महिलालाई आफ्नो सुरक्षाप्रति सजग र सम्वेदनशील हुन प्रेरित गर्नका लागि नेपालगंजमा

    एक्स–रे गर्दा यौन दुव्र्यवहार गर्ने स्वास्थ्यकर्मी प्रहरी हिरासतमा

    रमला सिंगक\महिला खबर सुनसरी । पाँच दिनदेखि ढाडको समस्या लिएर एक्स–रे गर्न आमाको साथमा स्थानीय

    Read more
    ताजा अपडेट
    %d bloggers like this: