ताजा समाचार
  • किनमेल गर्ने श्रीमतीहरुका लागि चीनमा ‘श्रीमान् भण्डार’ कक्ष
  • नेपाली महिलामा मनोसामाजिक समस्या बढी: डा.राणा
  • तीन महिला मृत भेटिए
  • पाँच महिना बित्दा समेत किशोरी हत्या रहस्यमै
  • करौडौं खर्चेर भत्काइएका छाउगोठ फेरि ठडिए
  • पोखरा महानगरमा एकल महिलालाई विशेष सुविधा
  • बालविवाहले निम्त्याएको स्वास्थ्य समस्या
  • विराटनगर महानगरको कार्यपालिकामा ७ जना महिला
  • रोगी बन्दै मनोञ्जनकर्मी
  • ‘छोरा नभएकै कारण श्रीमानकाे टोकसो’
  • अंश र वंशका पेचिला कुरा
  • ‘छाउ बार्न’ धामीकै दबाब
  • कार्यक्रम संचालन, संजाल विकास र मेलमिलाप तालिम शुरु
  • चट्याङ लागेर आमा छोरीको ज्यान गयो
  • ब्लड क्यान्सर पीडित उर्मिलालाई आर्थिक सहयोग

    नेतृत्व दिए पो सक्षम

    प्रकाशित मिति :2017-05-11 19:37:30

    -सुशीला बुढाथोकी-

    स्थानीय चुनाव नजिकिँदै जाँदा महिला उम्मेदवारको चर्चा जति चुलिएको छ, त्यो भन्दा बढी उनीहरुको सक्षमता र योग्यतामा प्रश्न उठाउन थालिएको छ । असक्षम महिलालाई भोट नदिने कुरा जायजै हो, किनकी नेतृत्वमा पुगेर मात्र हुँदैन, काम गरेर देखाउन सक्नुपर्छ । तर, सक्षमता र योग्यताको मानक के हो त ? के पुरुष नेता सक्षम छन् त ?

    महिलालाई सक्षम नदेख्नेमा हाम्रै मानसिकताले पनि काम गरेको देखिन्छ । एकपटक त्यस्तै भयो । महिला नेताको फोटो पठाइदिन जिल्लाका एक साथीलाई टेलिफोनमा मैले भनें ‘चुलोचौको गरेको होइन है, अलि नेताजस्तो देखिने चाँहि पठाउनु ।’ तर, फोन राखेपछि, म आफैं सोच्न बाध्य भएँ, महिलालाई नेता जस्तो देखाउने फोटो चाँहि कस्तो होला ! जिल्लाका नेता स्वाभावैले गाउँले परिवेशका, साधारण र सीधा देखिन्छन् । त्यसमा पनि महिला त गृहणी भन्दा केही पनि देखिँदैनन् । अनि, संविधानसभामा ठाँटिएर जाने जस्ता नेताका स्वरुप खोज्न कसरी सुहाउँछ?

    हो, तिनै त हुन्, हाम्रा महिला नेता ! हामीलाई त यस्तै नेता चाहिएको छ, जसले स्थानीय तहमा काम गर्न सक्छन् । टोल, टोलमा अझ भनौं घर, घरमा गएर काम गर्न सक्छन् । सर्वसाधारणको पीरमर्का बुझ्न सक्छन् । तर, हामीले पुरुष नेतालाई यति सक्षम ठानेका छौं कि लाग्छ, हरेक महिला नेता उनीहरुको अगाडि अयोग्य छन् ।

    वास्तविकता हेर्दा, महिला नै समूदायको काम गर्न अनुभवी र सक्षम देखिन्छन् । जिल्लामा हेर्ने हो भने, पुरुष नेताहरु ठूला आर्थिक चलखेल हुने ठाउँ खासगरि जग्गा, ठेक्कापट्टा लगायतमा कुनै न कुनै रुपले संलग्न देखिन्छन् । त्यहिँनेर, महिला भने समूदायमा आधारित वन, सहकारी, कृषि, घरेलु उद्योग तथा निर्यातजन्य सामाग्री उत्पादनमा देखिन्छन् । यहाँ महिलाले आर्थिक चलखेल गर्न सक्दैनन् भन्न खोजिएको होइन, आर्थिक भन्दा समुदायको लाभ हुने ठाउँमा आफ्नो संलग्नता चाहेका छन् भन्नु हो ।

    कतिपयले शिक्षा, पहुँच र प्रभावको दृष्टिले महिलालाई असक्षम मान्छन् । तर के शिक्षा पाएका, नीति नियम र कानुनबारे जानकार पुरुष नेताले नै भ्रष्टाचार बढाएका होइनन् ? अनि उनीहरु कसरी सक्षम भए ? हो, शैक्षिक, आर्थिक, साँस्कृतिक रुपले पछि पर्दा महिला विभिन्न मानेमा पछि परेकै हुन् । खासगरि, ग्रामीण क्षेत्रका महिलाले देशका नीतिनियम, कानुनबारे व्याख्या गर्ने तथा आफ्ना काम, कारवाहीमा व्यवसायिक आचरण देखाउन नसक्लान् । तर, यत्ति कुरा बुझे हुन्छ, हाम्रा महिला प्रतिनिधि सामान्य पृष्ठभूमिका हुन् । र, उनीहरुले तपाइँका, हाम्रा समस्या बुझ्न र सुल्झ्याउन सक्छन् ।

    अर्कोतिर, पुरुष नेतृत्वले शिक्षा पाएका महिला नेतालाई पनि अवसर नदिएको प्रष्ट देखिन्छ । विवेकशील नेपालीले रञ्जु दर्शनालाई मेयरमा उभ्याउनुको अर्थ के हो ? जबकी चार ठूला दलले काठमाडौंमा महिला मेयर हुनसक्ने सम्भावना नै देखेनन् । काठमाडौं जस्तो सुगम ठाउँमा पढेका र धेरै कुराले योग्य महिला नेता प्रशस्त छन् । के उहाँहरुमा नेतृत्व क्षमता नै नभएको हो त ? रञ्जुले चुनाव जित्लिन्, नजित्लिन् अर्कै कुरा हो, तर परिणाम जे आए पनि उनलाई नेपाली राजनीतिले नस्वीकारी सुख छैन ।

    महिला सक्षमतालाई पार्टीगत योगदानको आधारमा कम आँक्ने हो भने पनि गलत हुनेछ । अहिले दलका एजेण्डा स्थानीय स्तरसम्म लैजाने र कार्यक्रम सफल बनाउनेमा महिलाको ठूलो योगदान छ । अहिले पनि हामी हेर्न सक्छौं, पुरुष नेता चुनावको निहुँमा घर परिवारबाट सम्र्पक विच्छेद हुन, बेपत्ता हुन, प्रचार प्रसारमा व्यस्त हुन तथा आफ्नो मन र विवेकले भ्याएसम्मका काम गर्न स्वतन्त्र छन् । तर, त्यहिँनेर महिला नेतालाई घरधन्दा सकेर, छोराछोरीको हेरविचार गरेर, खेतीपाती, वस्तुभाउ व्यवस्थापन गरेर राजनीतिमा संलग्न हुनुपर्ने बाध्यता छ । यसमाथि, अरुलाई समय दिन श्रीमानको मन्जुरी नभइ हुँदैन । के यो योगदान होइन ? आफ्ना काम छाडेर दलका झण्डा बोक्दै हिँड्नु योगदानमा पर्दैन ? के दलका कार्यक्रममा महिला भेला हुन वा पुरुष नेतृत्वको कुरा सुन्न मात्र जम्मा भएका हुन् ?

    महिला आफ्नो अधिकार चाहन्छन्, नागरिकको अधिकार, सम्मानपूर्वक बाँच्ने अधिकार । महिलाले चाहेको भनेको राज्यले व्यवस्था गरेको मौलिक अधिकार र महिलाले पाउनुपर्ने खास अधिकार हो । तर, यो पुरुषको लागि जन्मसिद्ध अधिकार हो भने, महिलाले राज्य विरुद्ध नै लड्नुपर्ने अवस्था छ । तर, यति पीडित हुँदा हुँदै पनि महिलाले आफनो अधिकारको लागि कसैको टाउको फोरेका छैनन्, चक्काजाम गरेका छैनन्, बन्द हड्ताल गरेका छैनन् ।

    राज्यले महिलाको यो सहनशीलतालाई कमजोरीका रुपमा अपव्याख्या गरेको छ । त्यसैले त, अझैपनि महिलालाई नेतृत्वमा पुर्याउने कुरा गर्दा आरक्षण छँदैछ नी, भनेर टारिन्छ । तर, विचार गर्ने हो भने आरक्षणको व्यवस्था महिलालाई निल्नु न ओकल्नु भएको छ । किनकी, यसले एकातिर महिलाको सहभागिता सुनिश्चित गरेको छ भने अर्कोतिर, अरु बाँकी पद सबै पुरुषको भन्ने अर्थ लागेको छ । व्यवहारमा पनि त्यस्तै देखिन्छ । यसले परम्परावादी पुरुष राज्यको वकालत गरेको छ, जहाँ महिला सेवाग्राही त हुन सक्छन्, तर आफ्ना समस्या लिएर जान सक्दैनन् । अनि, समस्या लिएर पुगेपनि न्याय पाउन वञ्चित हुन्छन् ।

    यस्तो प्रवृतिले महिला प्रतिनिधि ५० प्रतिशत पनि आउन नसक्ने देखिएको छ । यसले हाम्रो मानसिकता गएको २० वर्षसम्म पनि परिवर्तन नभएको देखाउँछ । जनसंख्या अनुसार प्रतिनिधित्व नहुँदा समुदाय पछाडि परेको यर्थाथ कतै लुकेको छैन । महिला पछाडि परिरहँदा विकास मात्रै अघि बढ्न सक्दैन । त्यहि भएर महिलालाई अगाडि बढाउनुपर्छ भनिएको हो, त्यो भनेको स्थानीय तह नै हो ।

    सर्वसाधारण विकासमा द्रुत गति खोजिरहेका छन् । ठूला छिमेकीहरुले असंभव मानिने क्षेत्रमा समेत प्रगति गरिरहँदा हामी संभावनाले प्रचुर क्षेत्रहरुमा समेत कछुवा गतिमा छौं । अब पनि एउटा वर्ग सधैं नेतृत्व खोसाखोसमा लागिरहने र अर्को वर्ग पीडित भइरहने हो भने ‘विकास हाम्रै पालामा’ देख्न मुश्किल छ ।

    पछिल्ला चुनावमा महिला प्रतिनिधित्व बढेको भनेर जति नै फूर्ति लगाएपनि, हामीले इतिहास बिर्सन हुँदैन । हिजो महिलाको प्रतिनिधित्व समानुपातिक चुनाव प्रणालीका कारण बढेको थियो । अहिले स्थानीय तहमा भोट गन्तीको आधारमा अर्थात प्रत्यक्ष प्रणालीबाट चुनाव जित्नुपर्ने अवस्था छ । यो नै अहिले महिलाको लागि ठूलो चूनौती हो । यस्तो निर्वाचन प्रणालीले महिलालाई पुरुषसँग भिड्नैपर्ने वातावरण बनाएको छ । त्यसैले स्वाभाविक रुपमा अगाडि बढिसकेका पुरुष नेतृत्वसँग महिलालाई दाँज्नुभन्दा सक्षमताको अर्थ पहिल्याई नेतृत्व चयन गर्नु वेश हुनेछ ।

    अनि, बल्ल भोट हालेपछि निर्धक्क भन्न पाउनेछौं, हामीले असक्षम महिलालाई मत दिएनौं ।

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    किनमेल गर्ने श्रीमतीहरुका लागि चीनमा ‘श्रीमान् भण्डार’ कक्ष

    एक रिर्पोट अनुुसार चीनमा श्रीमतीहरुलाई किनमेलको लागि प्रोत्साहन गर्न ‘श्रीमान् भण्डार’ इकाईको स्थापना गरिएको छ

    नेपाली महिलामा मनोसामाजिक समस्या बढी: डा.राणा

    -महिला खबर संवाद- महिलाहरु सँधै घरपरिवार, बालबच्चा जस्ता काममै अडिरहेका हुन्छन् । उनीहरुका चाहाना, रहर, पीडाहरु

    पोखरा महानगरमा एकल महिलालाई विशेष सुविधा

    काठमाडौं । पोखरा लेखनाथ महानगरपालिकाले एकल महिलालाई यातायात, स्वास्थ्य र शिक्षा निःशुल्क गर्ने भएको छ

    बालविवाहले निम्त्याएको स्वास्थ्य समस्या

    –सर्मिला बुढाथोकी– दोलखा । मेलुङ गाउँपालिका वडा नम्बर ६ को ७५ वर्षीया रमादेवी चापागाईंको पाठेघरको शल्यक्रिया

    Read more
    ताजा अपडेट
    %d bloggers like this: