नेता महिलाका जिम्मेवारी

प्रकाशित मिति :2017-05-29 11:29:21

-अमृता अनमोल-

नयाँ संविधानले स्थानीय तहमा दलले प्रमुख-अध्यक्ष र उपप्रमुखरउपाध्यक्षमध्ये एकजना महिला अनिवार्य उठाउनुपर्ने व्यवस्था गरेको छ । वडा समितिमा ४० प्रतिशत महिला सुनिश्चितता गरिएको छ । यसले गर्दा उल्लेख्य संख्यामा महिलाको प्रतिनिधित्व स्थानीय तहमा हुने भएको छ । यो महिला प्रतिनिधिका लागिमात्र होइन, नेपालकै लागि ठूलो उपलब्धि र परिवर्तन हो । हिजोसम्म छुवाछूतको मार खेपेका र लैङ्गिक भेदभाव सहेका महिला नै नेता बन्नु पनि गौरवको कुरा हो । स्थानीय तह भनेको स्थानीय सरकार हो । कहिल्यै नेतृत्वको अनुभव गर्न नपाएका महिलाका लागि स्थानीय तह सम्हाल्नु चुनौती पनि हो । पितृसत्तात्मक सोच र संरचनाले पुरुषभन्दा महिलाका लागि स्थानीय तह सम्हाल्न जटिल काम हुनसक्छ । आफूमा नेतृत्व क्षमता बढाएर जटिलतालाई कसरी सहज पार्ने त्यो महिलाकै जिम्मामा छ । पुरुष नेतृत्वमा रहँदा महिलाले अवसर नपाए जस्तो गुनासो पुरुषलाई हुन नदिन थप सजगता भने अपनाउनुपर्छ ।

स्थानीय तहका जनप्रतिनिधिको मुख्य काम त्यहाँको विकास निर्माणमा अगुवाइ र सहजीकरण गर्नु हो । विकास योजनालाई प्रक्रियागत रूपमा बस्ती स्तरदेखि वडा हुँदै गाउँपालिका वा नगरपालिकासम्म पुर्‍याउनु हो । विकास योजना निर्माणमा सबै वर्गको सहभागिता जुटाउनु र आवश्यकतामुखी कार्यक्रम छनोट गर्नु हो । विकास योजना छान्दा लैंगिक तथा सामाजिक समावेशी बनाउनु हो । जनप्रतिनिधि नहुँदा विकासका कार्यक्रममा अहिले सबैभन्दा बढी अनियमितता देखिन्छ ।

विगत डेढ दशकमा स्थानीय निकाय कर्मचारी र दलीय संयन्त्रका भरमा चले । आफूखुसी बजेट बनाउने र आफू नजिकका व्यक्ति वा संस्थामार्फत खर्च गर्ने प्रवृत्ति देखियो । यसले विकासको उपयोग र अपनत्व गर्नबाट धेरै नागरिक छुटेका छन् । कतिपयमा विकासको जिम्मा लिने तर पुरा नगरेर बेरुजु बढाइरहने प्रवृत्ति छ । यसले गर्दा न्युनतम सर्त मापनमा अनुत्तीर्ण हुने र अनुदान काटिने गरेको छ । बजेटमा तल्लो वर्गका योजना समेट्न, स्थानीयका आवश्यकतालाई विकास बजेटमा पार्न र नियम विपरीत बजेट खर्च हुने समस्या रोक्न महिला नेता चनाखो बन्नुपर्छ । यसका लागि स्थानीय स्रोतसाधनको उपयोग कसरी बढाउने भन्नेमा ध्यान दिनुपर्छ । स्थानीयको वास्तविक आवश्यकता बुझ्न बस्ती स्तरमा रहेका महिला समूह, बाल क्लब, नागरिक सचेतना केन्द्र, वडा नागरिक मञ्च लगायतसँगको सामिप्यता बढाउनुपर्छ ।

विकासमा सबैको पहुँच बढाउन राज्यले स्थानीय तहको विकास बजेटमा लक्षित वर्ग छुट्याएको छ । बजेटलाई लक्षित वर्गमुखी, माग र आवश्यकतामुखी बनाउनु साटो परम्परागत रूपमै बाँडफाँड गर्ने गरिएको छ । लक्षित वर्गको बजेटमा समेत उनीहरूका प्रत्यक्ष हितका योजना परेका छैनन् । लैंगिक र समावेशी बजेट बनेका छैनन् । बनिहाले कार्यान्वयन भएका छैनन् । अधिकांश स्थानीय तहमा कर्मचारी र जान्ने–सुन्नेले मात्रै कार्यान्वयन र उपयोग गरेका छन् । कतै सबैको हित भन्दै लक्षित बजेट साझा विकासमा खर्चेका छन् । वास्तविक हित र प्रत्यक्ष लाभ हुने काममा खर्चेका छैनन् । स्थानीय तह हाँक्न गएका महिला नेताले लक्षित वर्गको विकासको यो बजेट निर्माण र सदुपयोग गराउन पनि लाग्नुपर्छ ।

संविधानले महिलालाई अधिकार दिएको छ । अधिकारले अवसर सिर्जना गर्छ । राज्यले महिलालाई नेतृत्व तहमा पनि पुर्‍याएको छ । महिलाको मान, सम्मान र जिम्मेवारी बढेको छ । अधिकार, अवसर र जिम्वारीको तुलनामा काम बाँडफाँडको सस्कृति भने विकास भएको छैन । घरका पुरुष सदस्य फुर्सदिला नै भए पनि अधिकांशले चुलोचौकोमा सहयोग गर्दैनन् । यसले गर्दा अधिकांश महिलाले चुलोचौको भार बोकेरै घर बाहिरको काम गर्नुपर्ने बाध्यता छ । नेता महिला पनि यसबाट अछुतो रहने छैनन् । उनीहरूले चुलोचौको, घरधन्दा, राजनीति र स्थानीय तह सँगसँगै हाँक्नु पर्नेछ । घरपरिवार, समाज र राज्यको विश्वास सँगसँगै जित्नु पर्नेछ । इश्र्या लाग्यो कि महिलालाई सजिलै लगाइदिने चारित्रिक कमजोरीको उपमालाई हटाउन सक्नु पर्नेछ । योजना र कार्यक्रममा सहभागितामात्रै होइन, निर्णय लिन–दिन पनि अघि बढ्नु पर्नेछ । यसका लागि थप मिहेनत, लगाव र अध्ययन आवश्यक पर्नेछ । आफ्नो काम डराएर वा अह्राएर होइन, निर्धक्क गर्न सक्नुपर्छ ।

राम्रोसँग घर चलाउने महिलाले समुदाय पनि राम्रोसित हाँक्न सक्छन् । त्यसैले नागरिकले नेता महिला रोजेका हुन् । त्यसका तमाम उदाहरण नेपाली समाजमा छन् । महिलाले हाँकेका सामुदायिक वन हराभरा छन् । महिलाले सञ्चालन गरेका सहकारी संस्था उत्कृष्ट छन् । महिलाले नेतृत्व गरेका टोल विकास समिति, वडा नागरिक मञ्च, उपभोक्ता समिति अनुशासित छन् । सञ्जालका रूपमा रहेका महिला समूह र आमा समूह गाउंँका दलभन्दा प्रभावकारी छन् । सामाजिक अभियान चलाउन र विकास निर्माणका गतिविधि चलाउन यिनै समूह अघि सर्ने गरेका छन् । महिलालाई प्रकृतिले सबैभन्दा ठूलो अस्त्र दिएको छ, धैर्यता र सहनशीलता । यही अस्त्रको प्रयोगले होला, तेहरो जिम्मेवारीमा पनि महिला खरो उत्रिएका छन् । स्थानीय तहको नेतृत्वमा पनि महिला खरो उत्रने नै छन् । यसका लागि अध्ययन र नेतृत्व क्षमता बढाउनु पर्नेछ । हरेक नागरिकले अहिले परिवर्तन चाहेका छन् । आफ्नो पहिचान र अपनत्व चाहेका छन् । सबैलाई समेट्न इमानदारी, जिम्मेवारी, साझेदारी र समझदारीको चरित्रलाई सधैं आत्मसात गर्नु पर्नेछ । हरेक काममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको सिद्धान्तलाई पालना गर्नु पर्नेछ ।

स्रोतः कान्तिपुर दैनिक 

    Comment Here!

Related NEWS
मुख्य खबर

सर्वोच्चद्वारा नाङ्गा बाबालाई रोक नलगाउनुको कारण माग

–महिला खबर– काठमाडौं । सर्वोच्च अदातलले पशुपति क्षेत्रमा शिवरात्रि लगायत अन्य पर्वमा नाङ्गा बाबा र

१० युवती विमानस्थलबाट पक्राउ

–महिला खबर– काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली भीसा प्रयोग गरी कुवेत जान लागेका १०

कम्युनिष्टलाई छोइ छिटो गर्ने समयमा कम्युनिष्ट बनाउदै हिँड्ने माया बनिन् मन्त्री

–महिला खबर– कम्युनिष्ट सिद्धान्तमा विश्वास गर्ने व्यक्ति मान्छेको पनि मासु खान्छन्, जात, धर्म केही मान्दैनन् भन्दै

बलात्कारको आरोपमा पक्राउ

–महिला खबर– काठमाडौं । उदयपुर कटारी नगरपालिका घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचौक

बेपत्ता बालक मृत अवस्थामा फेला

–महिला खवर– कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–४, पिपराका वडा अध्यक्ष फत्ते मोहम्मदका ७ वर्षका छोरा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: