ताजा समाचार
  • किनमेल गर्ने श्रीमतीहरुका लागि चीनमा ‘श्रीमान् भण्डार’ कक्ष
  • नेपाली महिलामा मनोसामाजिक समस्या बढी: डा.राणा
  • तीन महिला मृत भेटिए
  • पाँच महिना बित्दा समेत किशोरी हत्या रहस्यमै
  • करौडौं खर्चेर भत्काइएका छाउगोठ फेरि ठडिए
  • पोखरा महानगरमा एकल महिलालाई विशेष सुविधा
  • बालविवाहले निम्त्याएको स्वास्थ्य समस्या
  • विराटनगर महानगरको कार्यपालिकामा ७ जना महिला
  • रोगी बन्दै मनोञ्जनकर्मी
  • ‘छोरा नभएकै कारण श्रीमानकाे टोकसो’
  • अंश र वंशका पेचिला कुरा
  • ‘छाउ बार्न’ धामीकै दबाब
  • कार्यक्रम संचालन, संजाल विकास र मेलमिलाप तालिम शुरु
  • चट्याङ लागेर आमा छोरीको ज्यान गयो
  • ब्लड क्यान्सर पीडित उर्मिलालाई आर्थिक सहयोग

    घरपरिवारलाई कसरी जोगाउने ?

    प्रकाशित मिति :2017-06-18 09:57:00

    -लीला लुइटेल-

    अहिले महिला साक्षरताको प्रतिशत बढेको र छोरीलाई विद्यालय पठाउने प्रचलनमा वृद्धि भएको पाइन्छ । केही समय अघिसम्म पनि छोरालाई महँगा विद्यालयमा पढाउने र छोरीलाई शुल्कै तिर्न नपर्ने विद्यालय खोज्ने अभिभावकको बाहुल्य नेपाली समाजमा व्यापक रूपमा रहेकै हो । छोरीलाई आत्मनिर्भरताको लागि शिक्षा दिनुभन्दा पनि योग्य वर प्राप्तिका लागि पढाउने, छोरी अभिभावकका लागि बोझका रूपमा रहनेजस्ता सङ्कीर्ण सोचाइ पनि परिवर्तन हुँदैछन् । पछिल्लो समय सहरी क्षेत्रमा शिक्षामा लगानी गर्दा छोरा तथा छोरीमा विभेद नगर्ने अभिभावकको सङ्ख्या बढिरहेको छ । ऋणै गरेर भए पनि छोरीलाई पनि छोरासरह विदेशका महँगा विश्वविद्यालयमा पढ्न पठाउने चलन अहिले नेपाली समाजमा बढ्दै गएको छ । यसलाई राम्रो संकेतका रूपमा लिनुपर्छ ।

    तर अझै पनि दाइजो, तिलकजस्ता कुप्रथा कायम रहनु महिला मुक्तिका लागि अभिशाप नै हो । उहिले छोरीलाई स्वावलम्बी नबनाउने जमानामा जीवनयापन सहज होस् भनेरै दाइजो एवं तिलकको व्यवस्था भएको हुनुपर्छ । यस दृष्टिले त्यसबेला यो ठिकै पनि थियो होला, तर अहिले छोरीहरू आफ्नो खुट्टामा उभिएर छोरासरह कमाउन सक्ने भइसकेका छन् । त्यसमा पनि आजभोलि विदेशका महँगा विश्वविद्यालयमा पढ्न पठाउँदा कैयौँ अभिभावकका घरखेतै समाप्त भएको तथ्य पनि हामी कसैबाट छिपेको छैन । यस स्थितिमा पनि दाइजो, तिलक तथा नेपाली समाजमा बुहारीप्रतिको दृष्टिकोणमा परिवर्तन नआउनुचाहिँ सिङ्गो समाजका लागि त्रासदी नै हो । समय एक्काइसौँ शताब्दीको विद्युतीय सञ्चारको युगमा पुगिसक्दा पनि वर पक्षको मागअनुरूप दाइजो ल्याउन नसक्दा कैयौँ चेलीबेटी जिउँदै डढेर मर्न बाध्य छन् भने कैयौँ अपाङ्ग बनाइएका छन् । साथै वरका परिवारबाट बुहारीप्रति राखिने दृष्टिकोणमा परिवर्तन आउन नसक्नु विडम्बनापूर्ण अवस्था हो ।

    अब छोराका लागि बुहारी भित्र्याउने अभिभावकले विचार नपुर्‍याए ठूलो सामाजिक सङ्कट निम्तिने खतरा देखापर्न थालिसकेको छ । पहिलो कुरा कतिपय परिवारमा छोराछोरीको पढाइमा गरिने लगानीमा विभेद नभएपछि घरखेत गरेर छोरीलाई पढाउनु, पढाइ सकिएर छोरीले कमाउन थालेपछि अर्कालाई सुम्पनु, त्यतिले पनि नपुगेर उसैलाई दासी बनाउन वर पक्षको माग र फर्माइस पुरा गर्न असीमित खर्च गर्नु, विवाहपछिका अनेक चाडपर्वमा पनि छोरीकै अभिभावकलाई पिल्सिन बाध्य पार्नु, उनीहरूकै वंश विस्तार हुँदासमेत छोरीकै अभिभावकले असीमित खर्च गर्नुपर्ने बाध्यात्मक परिस्थिति यथावत रहनु सामाजिक विसङ्गति र कुरूपताको चरम नमुना हुन् । यस्ता गतिविधि सामाजिक र मानवीय दृष्टिले तर्कसङ्गत र न्यायपूर्ण देखिँदैनन् । अझ कतिपय परिवारमा त छोराको भन्दा बढी आय बुहारीले भित्र्याउने गरेको पनि पाइन्छ । यस प्रकारको परिवेशमा यस्तो सामाजिक विसङ्गति र कुरूपता कथित इज्जतका लागि छोरीका अभिभावकले केही हदसम्म सहन स्वीकार गरे पनि स्वयं छोरीहरूले भने अब सहन गर्ने स्थितिमा नरहेको देखिँदैछ । किनकि अहिलेका छोरीहरू ‘महिला–पुरुष बराबर हुन्’ तथा ‘अन्याय सहनु अपराध हो’ भन्नेजस्ता नाराबाट दीक्षित छन् र हुनु पनि पर्छ । उनीहरू मानवअधिकारको व्याख्या गर्न सक्छन्, विश्व परिवेशसँग साक्षात्कार छन्, त्यसमा पनि आफ्ना अभिभावकले छोरालाई भन्दा बढ्ता सम्मान दिएर पालनपोषण गरेका हुनाले उनीहरूको शब्दकोशबाट अब दासी बनेर सहिरहनुपर्छ भन्ने केही छैन ।

    अर्को कुरा, आफ्नो छोरोचाहिँ एककप चिया पकाउन नसक्ने, आफ्ना मोजा धुन नसक्ने स्थितिलाई सहजै सहन गरिरहेका अभिभावकले आफ्नै छोरासरह सुविधा भोग गरेर योग्यता हासिल गरेकी अनि छोरासरह नै आर्जन भएकी बुहारीचाहिँ प्रत्येक कुरामा चुस्त–दुरुस्त भएर उनीहरूको घरमा प्रवेश गर्नुपर्ने तथा उनीहरूका आफन्तको दासीका रूपमा उपस्थित हुनुपर्ने अहंवादी अपेक्षा कत्तिको तर्कपूर्ण र न्यायसङ्गत हुन्छ रु यसबारे अब सोच्न ढिला भइसकेको छ । यसो भनेर यहाँ बुहारीले सासु–ससुराको सेवा गर्नु पर्दैन, इष्टमित्रको स्वागत–सत्कार गर्नु पर्दैन भन्न खोजिएको होइन, यस्ता कार्यका लागि समान सहभागितातर्फ इङ्गित गर्न खोजिएको हो । अबका महिलाले अपेक्षा गर्ने नै समान सहभागिता र आत्मसम्मानको परिवेश हो । यसका लागि छोराका अभिभावकले आफ्ना छोरालाई पनि घरभित्रका प्रत्येक काममा अभ्यस्त बनाउनु जरुरी भइसकेको छ । कुनै पनि धार्मिक एवं पारम्परिक संस्कार जोगाउने हो भने छोरालाई पनि यी सन्दर्भमा अनिवार्य रूपमा समावेश गराउनुपर्छ । धार्मिक एवं पारम्परिक संस्कार भनेको महिलाकै ठेक्का हो भन्ने सङ्कीर्ण सोचबाट अब सबै मुक्त हुनुपर्छ ।

    कुनै पनि महिलाले पतिका आमाबाबुलाई आफ्नै आमाबाबु मानेर सेवा गर्ने भएपछि पतिले पनि आफ्ना आमाबाबुलाई आदर गर्नुको साटो ज्वाइँ बनेर सासु–ससुराबाट मानमर्यादा खोजी अनावश्यक अहं देखाउनुलाई पनि अबका महिलाले सहन गर्नसक्ने छैनन् । यसैगरी यो घर मेरो हो, म यसको मालिक हुँ, ऊ मेरो दासी हो भन्ने सङ्कीर्ण दृष्टिकोणबाट मुक्त भएर समान सहभागिता एवं पत्नीको आत्मसम्मानको जगेर्नातर्फ प्रत्येक पुरुष सावधान हुनुपर्ने बेला आइसकेको छ ।

    भविष्यमा आउन सक्ने पारिवारिक एवं सामाजिक सङ्कटको अनुमान गरेरै यी दृष्टिकोण प्रस्तुत गरिएका हुन् । यसैले यसतर्फ गम्भीर ढङ्गले सोच्न ढिला भइसकेको कुरातर्फ पनि सबैको ध्यान जानु आवश्यक छ । अहिले महिला एकातिर स्वावलम्बी छन् भने अर्कोतिर उनीहरूमा रहेको सहनशील क्षमता क्रमशस् कम हुँदै गएको तथ्य सबैले देखेभोगेकै यथार्थ हो । यिनै कारणले गर्दा आजभोलि नेपाली समाजमा सम्बन्धविच्छेदका घटना पनि त्यत्तिकै बढिरहेका छन् । हाल देखिएका अधिकांश सम्बन्धविच्छेदमा आत्मसम्मान गुमाएर पितृसत्तात्मक मानसिकताको चेपमा महिलाहरू बस्न नचाहनु नै प्रमुख कारण रहेको यथार्थ छर्लङ्गै छ । सम्बन्ध विच्छेदको असर महिलालाई मात्र पर्छ, पुरुषको त खुट्टा भए जुत्ता कतिकति भन्ने सोच पनि अब नेपाली समाजमा ‘डेट एक्सपाएर’ भइसकेको छ । किनकि सम्बन्धविच्छेद भएका महिलाहरूप्रति परिवार एवं समाजले राख्ने नकारात्मक दृष्टिकोण पनि कम हुँदै गएको हामीले देखिरहेकै छौँ ।

    सम्बन्ध विच्छेद गर्दा पत्नीलाई कानुनी रूपमा दिनुपर्ने अंश, मानाचामल तथा सन्तानको पालनपोषण एवं शिक्षादीक्षाको व्यवस्थाले पतिको परिवारमा पनि विखण्डन एवं सङ्कटसाथ त्रासदीसमेत प्रवेश गर्ने अवस्था टड्कारो भइसकेको छ । यस स्थितिमा अब घरपरिवार र समाजलाई जोगाउन पुरुषले समान सहभागिता एवं पत्नीको आत्मसम्मानका लागि गम्भीरतापूर्वक सोच्नु आवश्यक छ । यसैगरी पतिका परिवार एवं आफन्तले बुहारीलाई सुनको फुल पार्ने कुखुरीका रूपमा हेर्ने तथा शिक्षित, कमाउदार एवं इमानदार दासी देख्ने एकाङ्गी, सङ्कीर्ण एवं पूर्वाग्रही दृष्टिकोणमा परिवर्तन नगरे स्थिति भयावह हुनेछ । यसैले अबका दिनमा परिवार र समाजलाई कता र कसरी लैजाने भन्ने कुरामा विशेषगरी पुरुषका आफन्त तथा लोग्ने नाम गरेका प्रत्येक पुरुषहरू सचेत हुन जरुरी छ ।

    स्रोतः कान्तिपुर दैनिक 

      Comment Here!

    Related NEWS
    मुख्य खबर

    किनमेल गर्ने श्रीमतीहरुका लागि चीनमा ‘श्रीमान् भण्डार’ कक्ष

    एक रिर्पोट अनुुसार चीनमा श्रीमतीहरुलाई किनमेलको लागि प्रोत्साहन गर्न ‘श्रीमान् भण्डार’ इकाईको स्थापना गरिएको छ

    नेपाली महिलामा मनोसामाजिक समस्या बढी: डा.राणा

    -महिला खबर संवाद- महिलाहरु सँधै घरपरिवार, बालबच्चा जस्ता काममै अडिरहेका हुन्छन् । उनीहरुका चाहाना, रहर, पीडाहरु

    पोखरा महानगरमा एकल महिलालाई विशेष सुविधा

    काठमाडौं । पोखरा लेखनाथ महानगरपालिकाले एकल महिलालाई यातायात, स्वास्थ्य र शिक्षा निःशुल्क गर्ने भएको छ

    बालविवाहले निम्त्याएको स्वास्थ्य समस्या

    –सर्मिला बुढाथोकी– दोलखा । मेलुङ गाउँपालिका वडा नम्बर ६ को ७५ वर्षीया रमादेवी चापागाईंको पाठेघरको शल्यक्रिया

    Read more
    ताजा अपडेट
    %d bloggers like this: