बलात्कृत बलात्कारी छुटाउँछन् पैसाको लोभमा

प्रकाशित मिति :2017-07-16 13:08:53

जाजरकोट : गत पुसमा जुनीचाँदे मजकोटकी २५ बर्षीया एक महिला बलात्कारमा पर्नुभयो । पीडित पक्षको किटानी जाहेरीको आधारमा सोही ठाँउका २६ बर्षीया कृष्णबहादुर शाहीलाई प्रहरीले पक्राउ गर्यो । जर्वजस्ती करणीमा शाही विरुद्ध अदालतमा मुद्धा दायर भयो । अदालतको आदेशले पुर्पक्षका लागी शाही थुनामा पर्नु भयो । यता शाही जेलमा रहेपनि शाहीका आफन्तले पीडित पक्षलाई केही रकम लिएर मिल्न र अदालत समक्ष बयान फेर्न बारम्बार दवाव दिईरहे ।

मोटो रकमको लोभ देखाईरहे । अन्त्यमा रकममा कुरा मिल्यो अनि पीडित र पीडितका आफन्त बयान फेर्न राजी भए । घटना पुरै युटर्न भयो । अदालत गएर बकपत्र गर्ने बेला ती पीडित महिलाले नै मलाई कसैले बलत्कार गरेको छैन । ब्यक्तिगत रिसिईवीले गर्दा उक्त आरोप लगाएकी हुँ भन्दै अदालत समक्ष प्रतिबयान ( होस्टाईल ) दिनुभयो ।

उहाँका अन्य साक्षीले पनि बयान फेरे । पीडित पक्ष र पीडक पक्ष दुवैको बयान सुनेपछि जिल्ला न्यायधिस लिलाराज अधिकारीले बलत्कार भएकी भनिएकी ती महिलालाई उल्टै तीन हजार रुपैया जरिवाना गराउनुभयो । पीडक भनिएका शाहीले पाँच महिनाको जेल सजायपछि सफाई पाउनुभयो ।

त्यस्तै, गत माघमा छेडागाड नगरपालिका वडा नम्बर ५ दशेराकी १५ बर्षीया सम्झना पुन (नाम परिवर्तित ) बलत्कारमा पर्नुभयो । उजुरीको आधारमा तत्काल सोही ठाँउका चन्द्रबहादुर शाहीलाई प्रहरीले पक्राउ गरी जर्वजस्ती करणी मुद्दा लगायो । तर अदालतमा पीडित स्वयमं उपस्थित भइ गरिने बकपत्रको बेला बयान फेरियो । ‘मलाई कसैले बलत्कार गरेको छैन’पीडित सम्झनाले बयान फेदै भन्नुभएको थियो । पीडित स्वयमले बयान फेरेपछि चन्द्रबहादुरले सफाई त पाउनुभयो तर बयान फेर्ने ती किशोरीलाई तीन हजार रुपैया उल्टै जरिवाना गर्यो अदालतले ।

बलत्कारको आरोपमा गत पुसको पहिलो साता झाप्रा वडा नम्बर १ कि बोल्न नसक्ने १४ बर्षीया रुपा सुनार ( नाम परिवर्तित ) बलत्कारमा पर्नुभयो । घरपरिवारले तत्काल प्रहरीमा उजुरी गरे । घटनामा संलग्न दुई जना पक्राउ परे । पक्राउ परे लगत्तै कुरा मिलाउन पीडकका आफन्त देखि गाँउका गन्ने मान्ने र राजनैतिक दलका नेताहरु सक्रिय भए । प्रहरीमा मुद्दा दर्ता नगराउने पीडक पक्षको प्रयास असफल भयो । महिला विकास कार्यालयको सक्रियतामा प्रहरीले अदालतमा बलत्कार मुद्दा दर्ता गराएर छोड्यो । जव अदालतमा पीडित पक्ष र साक्षीहरु स्वयम उपस्थिति भएर बकपत्र गर्ने बेला आउँदै थियो । घटना पुरै युटर्न भयो । प्रहरी समक्ष आफु बलत्कृत भएको बताउनु भएकी पिडित स्वमंले अदालतमा बकपत्र गर्ने बेला न्यायधिस समक्ष संकेतकै आधारमा आफुलाई बलत्कार नगरिएको बताउनुभयो । साँक्षी रहेका पिडितका आफन्तले पनि बलत्कार नभएको भनेर बयान दिए ।

प्रहरीसँग गरेको बयान ६ महिना नपुग्दै अदालतमा आएर प्रतिबयान ( होस्टाईल ) भयो । बलात्कारको अभियोगमा पाँच महिनादेखि पुर्पक्षका लागी जेल पर्नुभएका छेडागाड नगरपालिका झाप्राका २० बर्षीय विश्व थापा र २२ बर्षीय पदम महरले सफाई पाउनुभयो । ‘बालिका अपाङ्ग भएकोले दण्ड जरिवाना गरिएन’जिल्ला न्यायधिस लिलाराज अधिकारीले भन्नुभयो ‘बलत्कारका धेरै मुद्दा होस्टाईल हुने गरेका छन् । गरीवी र जनचेतनाको कमीले गर्दा यस्ता घटनामा बयान फेर्ने प्रबृत्ति बढ्दै गएको छ, यो चिन्ताको विषय हो’उहाँले भन्नुभयो ।

‘पीडित स्वयमले प्रहरी समक्ष ‘म बलत्कारमा परे मलाई न्याय दिलाई दिनु परयो’ भन्छन । तिनै मान्छे आर्थिक प्रलोभनमा परेर केही महिनापछि ‘म बलत्कारमा परेकी छैन,उहाँ निर्दोष हुनुहुन्छ’भन्दै प्रतिबयान दिन्छन्’ महिला विकास अधिकृत पंकजाकुमारी जोसी भन्नुहुन्छ ‘यस्तो अवस्थामा पिडितले कसरी न्याय पाउँछन् ।’

‘मर्दापर्दा चाहिने छिमेकीलाई यति सानो घटनामा जेल हाल्ने भन्दै बारम्बार धम्क्याउने, गरीवीका कारण पैसाको प्रलोभन, गाँउका कथित भद्रभलादमी भन्नेहरुको दवाव आदि कारणले गर्दा पिडितले बयान फेर्ने गरेका छन्’ महिला विकास अधिकृत जोशीले भन्नुभयो ‘जाजरकोटमा पहिला उजुरी गर्दा एउटा बयान दिने अदालत सम्म आईपुग्दा (प्रतिकुल बकपत्र) बयान फेर्ने प्रबृत्ति निकै पाईयो । यस्तो हुनु दुःखको कुरा हो ।’ आव २०७३/०७४ मा दर्ता भएका सात ओटा बलत्कारका मुद्धामा चार ओटा होस्टाईल भएको अदालतले जनाएको छ ।

साभार : अन्नपूर्ण पोष्ट दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

नेपाली महिलामा मनोसामाजिक समस्या बढी: डा.राणा

-महिला खबर संवाद- महिलाहरु सँधै घरपरिवार, बालबच्चा जस्ता काममै अडिरहेका हुन्छन् । उनीहरुका चाहाना, रहर, पीडाहरु

पोखरा महानगरमा एकल महिलालाई विशेष सुविधा

काठमाडौं । पोखरा लेखनाथ महानगरपालिकाले एकल महिलालाई यातायात, स्वास्थ्य र शिक्षा निःशुल्क गर्ने भएको छ

बालविवाहले निम्त्याएको स्वास्थ्य समस्या

–सर्मिला बुढाथोकी– दोलखा । मेलुङ गाउँपालिका वडा नम्बर ६ को ७५ वर्षीया रमादेवी चापागाईंको पाठेघरको शल्यक्रिया

विराटनगर महानगरको कार्यपालिकामा ७ जना महिला

-महिला खबर- दोस्रो चरणको स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आएपछि विराटनगर महानगरपालिकमा २९ सदस्यीय नगर कार्यपालिकामा

Read more
%d bloggers like this: