‘म हाउस हस्वेन्ड’

प्रकाशित मिति :2017-09-01 16:03:24

-खेमा बस्नेत-

काठमाडौं । ‘सानैमा नै मञ्जुसँग जोडिइसकेको थिएँ । उनी मेरी नहुँदा पनि मेरो श्रीमती उनी नै हुन्थिन् ।’ बाल्यकालदेखि नै आफूमाथि काजीमान गुरुङले हक जमाएको बताउँदा उनकी श्रीमती मञ्जुको उत्तर चाँही यस्तो थियो – ‘उहाँ नभएको भए कुनै लाहुरेसँग विवाह गरेर गृहिणी बन्थें की ?’

मन्जु गुरुङ र काजीमान गुरुङ वैवाहिक सम्बन्धमा बाँधिएको २७ वर्ष भयो । त्यो पनि हक लागेर गरेको विवाह । गुरुङ समुदायमा फुफुचेला र मामाचेलीमा विवाह गर्ने प्रचलन छ । त्यही हकले उनीहरुको सम्बन्ध पनि स्थापित भएको हो । र, काजीमानले ‘उनी नहुँदा पनि मेरो श्रीमती उनी नै हुन्थिन्’ भन्ने आँट आजपनि गरेका हुन् ।

मञ्जु गुरुङ अहिले वैदेशिक रोजगारीबाट दुःख पाएर फर्किएका महिलालाई संरक्षण दिने एउटी सहाराको रुपमा स्थापित छिन् । उनका श्रीमान् काजीमान् आफैलाई ‘म हाउस हजबेन्ड’ भन्न रुचाउँछन् । अर्थात् काजिमान घर सम्हाल्छन् मञ्जु बेसहारा महिला सम्हाल्छिन् ।

जन्मिनाबित्तिकै परिवारले तोकिदिएका नाता (विवाह) मा जोडिदा दुवै जना २० वर्षका थिए । विवाहपछि काजीमान वैदेशिक रोजगारीको लागि जापान गए । त्यतिवेला मञ्जुले घरको जिम्मेवारी सम्हालिन् ।

जब उनी घर फिरे त्यसपछि एकअर्काको जिम्मेवारी परिवर्तन भयो । काजीमान घर चलाउन थाले र मञ्जु सामाजिक कार्यमा सक्रिय हुन थालिन् ।

मञ्जु पौरखी नेपालकी अध्यक्ष हुन् । आजकाल उनी वैदेशिक रोजगारीबाट दुःख पाएका महिलाहरुको पुर्नस्थापना लगायतका सामाजिक कार्यमा निकै व्यस्त छिन् । घरको सम्पूर्ण जिम्मेवारी भने काजीमानले सम्हाल्दै आएका छन् ।

काजीमानका दम्पत्तीको दैनिकी चाँही कसरी सुरु हुने रहेछ ? घर सम्हाल्ने पुरुष र सामाजिक काम गर्ने महिलाका दैनिकी बुझ्न चाँहदा मञ्जुले आफूलाई अल्छी उपमा दिँदै दैनिकी सुनाईन् – म अलि अल्छी छु । अलि ढिलो उठ्छु । उठेपछि समाचार सुन्छु । अफिसको केही काम छ भने गर्छु  । अनि खाना खाएर अफिस निस्कन्छु । त्यसपछि एकैचोटी साँझ घर फर्कन्छु ।

काजीमानको जाँगर मञ्जुको भन्दा बढि रहेछ । आखिर घर सम्हाल्ने श्रीमान् न परे ! दैनिकी एकै सासमा सुनाए – ‘बिहान ५ः३० मा उठ्छु । छोरा क्याम्पस जाने हुनाले छोरालाई पनिसँगै उठाउँछु । हाम्रो होटल पनि छ । प्रायः ब्रेकफाष्ट होटलमै हुन्छ । होटलमा ब्रेक फाष्ट नभएको दिन म आफै चिया बनाउँछु । त्यसपछि एक्ससाइज (व्यायाम) का लागि जान्छु । घर र होटलको काम गर्छु । अरु दिन खाना होटेलमै हुन्छ । शनिबार भने म आफैले बनाएर खुवाउँछु ।’

नेपाली समाजमा श्रीमतीले घरधन्दा गर्दिनन् भन्दा अझै पनि जिब्रो टोक्ने मानिस धेरै छन् । सामाजिक परम्परा र कुप्रथाले गाँजेको हाम्रो समाजमा पुरुषले आफूलाई घर सम्हाल्ने रुपमा परिचय दिँदा सहज रुपमा नलिने सोच काजीमानमा पटक्कै रहेनछ ।

आफ्नो कामको बारेमा सुनाउन काजीमान अझ हौसिए – दश वर्ष जापान बसेर नेपाल फर्किएपछि होटल व्यवसाय सुरु गरेँ । म जतिबेला वैदेशिक रोजगारीका लागि जापानमा थिएँ, मञ्जु नेपालमा गृहणी थिइन् । अहिले म गृहणी भएको छु । उनी बाहिर जान्छिन् । म घरमा बिहानै छोरालाई समयमा उठाउने, नास्ता बनाउने, खाना बनाउने गर्ने गर्नेछु । अहिले गृह व्यवस्थापनको जिम्मेवारी मेरै काँधमा छ । लामो हाँसो सहित.. अहिले म गृहमन्त्री भएको छु ।

काजीमानको कुराले मञ्जुलाई पनि थोरै उत्साह थपेछ । उनी बोलिन् – अहिलेसम्म घरको काम महिलाले गर्नुपर्छ भन्ने सोच र व्यवहार मैले उहाँमा पाएकी छैन । यदि भएको भए १४ वर्षसम्म म यसरी समाजिक क्षेत्रमा सक्रिय भएर काम गर्न सक्थे होला ?

काजीमान पनि समर्थन सहित भन्छन् – घरको काम महिलाले गर्ने हो र पुरुषले गर्नु हुँदैन भन्ने सोच गलत हो ।’
उनी दैनिक घरमा कुचो लगाउने, पोछा लगाउने जस्ता काम आफै गर्छन् । घरको काम गर्दा उनलाई पुरुष हुनुको मपाईंत्वले कहिल्यै छोप्दैन । बरु थप्छन् – मञ्जुलाई सामाजिक जिम्मेवारी बढी छ । त्यसैले घरको कामको बाँडफाँडमा भन्दा नि सबै घर व्यवहार मैले नैै हेर्दै आएको छु ।

अधिकांश परिवारमा श्रीमान् छोराछोरीको कपडा सम्हालेर राखिदिने बाहिर निस्किने बेला ठिक्क निकालिदिने श्रीमती हुन्छन् । गुरुङ दम्पत्तीको परिवारमा भने फरक छ । मञ्जु भन्छिन्, ‘घरको व्यवहार मात्रै होइन छोरा र मैले कुन ड्रेसअप लगाउँदा राम्रो देखिन्छ जस्ता कुरा सबै उहाँलाई थाहा हुन्छ ।’

मञ्जुका श्रीमान् काजीमानले उनलाई यति स्वतन्त्र नछोडिदिएको भए सायद उनी गृहिणीमै सीमित हुने थिइन् होला । श्रीमान्को सोचाइ उदार भयो । मञ्जुले सामाजिक क्षेत्रमा उत्रिने आँट राखिन् ।

काजीमानले थपे – उनी बाहिर निस्किएपछि थाती रहेका काम मैले गर्न थाले । उनको लक्ष्यमा म कहिल्यै बाधक भइन । बालबच्चा हुर्काउनेदेखि घरको सम्पूर्ण जिम्मेवारी मैले नै सम्हालें ।

अहिले परिवारका सदस्यबाहेक सामाजिक रुपमा काजीमान मञ्जुको नामबाट चिनिन्छन् । केहीले भन्ने पनि गर्छन् – तिमी भन्दा तिम्रो श्रीमतीको नाम अगाडि आउँछ ।’ यहि पहिचानमा गर्व गर्छन् काजीमान । भन्छन्– त्यसैमा मलाई खुशी लाग्छ र गौरव अनुभव हुन्छ ।

‘वैवाहिक जीवन भनेको एक–अर्को प्रतिको विश्वास, आस्था, आदर र भरोसा हो । विवाह एक सम्झौता पनि हो । उहाँलाई मन नपर्ने काम मैले गर्नु हुँदैन । यसो गरेमा वैवाहिक जीवन सफल हुन्छ ।’ श्रीमानको कुरा सुनिसकेपछि अलिकति दार्शनिक तरिकाले मञ्जुले धारणा राखिन् ।

त्यसैमा कजिमानले थपे – विश्वास, एक अर्कालाई आदर गर्ने, केही कुरा एक जनालाई मन परेको छैन भने पनि सम्झौता गर्ने सिक्नुपर्छ । त्यसले गर्दा वैवाहिक जीवन सुखी र सफल हुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इन्सेक भन्छः राज्य पक्षबाटै ८६ महिला पीडित

–महिला खबर– काठमाडौं । पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले पछिल्लो समय बलात्कारका घटनामा मिलापत्र हुने गरेको

बलात्कारको घटना मिलापत्र गर्नेलाई के हुन्छ कारवाही ?

–महिला खबर– ललितपुर । बालिका बलात्कारको घटना मिलाउन खोज्ने वडा अध्यक्षलाई बलात्कारको मतियारको रुपमा मुद्दा चलाउन

प्रदेशसभाः महिलालाई ‘उप’ मै सिमित

–महिला खबर– सभामुख वा उपसभामुख मध्ये एक पदमा अनिवार्य महिला राख्नु पर्ने संवैधानिक व्यवस्था यदि नभएको

आफ्नै साथीलाई बलात्कार गर्ने तीन आरोपी पक्राउ

पीडित किशोरीका आफन्तले दाबी गरेअनुसार उनीहरूले बलात्कार पछि हत्याको प्रयास गरे । यद्यपि ती मध्ये

संरक्षणमा रहेकी चेलीको विवाह

–महिला खबर– सिपमूलक व्यवसाय पश्चात व्यवसाय संचालन गरिरहेकी चेली शिलाको विवाहका केटा पक्षसँग चेली नेपालले अभिभावकका

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: