पाठेघर खस्दा पाइलैपिच्छे पीडा

प्रकाशित मिति :2017-10-09 13:09:40

-विद्या राई-

भोजपुर । यदी महिलाको पाठेघर नभइदिने हो भने सृष्टिकै हालत के हुन्छ होला ? प्राकृतिक रुपमै पाठेघर जस्तो अनुपम अंग उपहार पाएका महिलाहरू त्यही पाठेघरकै कारण पीडाको भारी बोकिरहेका घटना थुप्रै छन् । सृष्टि धान्नकै लागि सन्तान जन्माउदा रोगी भएको पाठेघरको उपचार गर्न सकिरहेका छैनन् । जसका कारण रोग लुकाउनु पर्ने पीडाले पाइलै पिच्छे आँसु चुहाउन विवस छन् ।

भोजपुरकी रामकुमारी राई पनि पाठेघरका कारण भोग्नु परेको पीडाकी एक पात्र हुन् । रामप्रसाद राई गाउँपालिकाकी ४५ वर्षीया उनका २ छोरा र एक छोरी छन् । ०५० सालमा जेठो छोरो जन्मियो । पति रोजगारीका लागि भारतको सिलाङमा थिए । पहिलो पटक सुत्केरी हुँदा एकातिर सुत्केरी ज्यान, अर्कातिर सासुको पेलान । छोरो जन्मिएको एक हप्तादेखि ४५ मिनेट टाढा रहेको कुवा पुगेर गाग्रोमा पानी ल्याउनुपथ्र्यो । जंगल पुगेर घाँस दाउरा गर्नुपर्ने, घरकामको चटारो उस्तै । छोरो कहिलेकाहीँ हजुरआमासँगै छोड्थिन् । धेरैजसो साथमै लिएर मेलापात धाउथिन् । गह्रौं कामको बोझले सुत्केरी ज्यान दिनदिनै कमजोर हुँदैगयो । तल्लो पेट दुख्ने र बेलाबेला रगतको खोलो बग्थ्यो । बिस्तारै पिसाब फेर्ने ठाउँमा अप्ठेरो अनुभव हुन थाल्यो । तर पनि उपचार गर्न त परैको कुरा, यसबारे पतिलाईसमेत थाहा नदिदा समस्या बढ्दै गयो ।

एक बर्षपछि अर्की छोरी जन्मिइन् । कामको चाप उस्तै थियो । पिसाब फेर्ने ठाउँको पीडा बल्झिन थाल्यो । त्यहाँबाट मासु लत्रिएको जस्तै अनुभव हुन थाल्यो । छोरी जन्मिएको डेढ बर्षमा कान्छो छोरो जन्मियो । यसपल्ट कामको चाप मात्रै होइन, छोराछोरीको स्याहार सम्भार र सासुको चाकरी उही सुत्केरी ज्यानको थाप्लोमा । घरमा आम्दानीको बाटो थिएन । त्यसैमाथि जड्याहा पतिको दिनरातको कुटाई । खान बस्न र सुत्नको टुंगो थिएन । पिसाब फेर्ने ठाउँको मासु बाहिरबाट प्रष्टै थाहा हुने गरी लत्रिसकेको थियो ।

‘आफूलाई के भएको हो ? भन्ने बारेमा तनाव भइरहन्थो । तर, कसलाई भन्नु, कसरी भन्नु ? पछि छिमेकी दिदीबहिनीको गफ सुन्दा थाहा पाएँ, पाठेघर खसेको रहेछ ।’ उनले आफ्नो समस्या के रहेछ ? भन्ने बारेमा थाहा त पाइन् तर, त्यो बारेमा कसैलाई सुनाइनन् । ‘साथीहरूलाई सुनाऊँ बेइज्जत होला भन्ने डर, सासुलाई सुनाउने कुरै भएन् । पतिलाई सुनाऊँ कान्छी ल्याइदेलान् भन्ने पीर,’ उनले भनिन्, ‘सुरुसुरुमा हिँडडुल गर्न मात्रै गाह्रो हुन्थ्यो, अचेल त रातदिननै दुखिरहन्छ ।’

कहिलेकाहीँ सहनै नसक्नेगरी दुख्ने र पोल्ने गर्छ । गत बर्ष महिला स्वयम्सेविकालाई सुनाएकी थिइन् । स्वयम्सेविकाले उपचार गर्न सल्लाह दिए पनि रामकुमारी लाजले स्वास्थ्य संस्था पुगेकी थिइनन् । ‘लुकाउनुपर्ने कुरा डाक्टरलाई कसरी देखाउनु ? पाप लाग्छ, सकुन्जेल सहेरै बस्ने सोचेकी थिएँ,’ उनले थपिन्, ‘छोरीले पनि उपचार गर्न सल्लाह दिइन् । अनि नजिकैको स्वास्थ्य चौकी गएँ ।’ स्वास्थ्यकर्मीले पाठेघर पुरै खसेको र संवेदनशील भएका कारण गाउँमा उपचार गर्न सम्भव छैन भनेछ । न्युन आय स्रोतले बाँचेको रामकुमारीको परिवारलाई सुविधासम्पन्न स्वास्थ्य संस्थामा पुगेर उपचार गर्ने भने सामथ्र्य छैन । सुरुमा लाजका कारण र अहिले पैसाको अभावमा पाठेघरको पीडा लुकाएर बाँच्न विवस छिन् उनी ।

आमचोक गाउँपालिकाकी ७१ बर्षीय पिरती राईको पीडा पनि कम छैन । दुई छोरा र तिन छोरीकी आमा उनी यतिबेला हजुरआमा भैसकेकी छिन् । दोस्रो सन्तान जन्मदा सुत्केरी बेलामै गह्रांै भारी बोकेर खस्न सुरु भएको पाठेघर अन्तिम सन्तान जन्मदा पुरै तल पुगेको थियो । ‘लाजले कसैलाई भन्न सकिनँ । उपचार गर्नुपर्छ भन्ने पनि थाहा भएनँ ।’ उनले भनिन्, ‘हिँडडुल गर्न अति नै अप्ठेरो भएपछि स्वास्थ्य स्वस्य्सेविकाको सल्लाहले स्वास्थ्य चौकी गएँ । अनमीले लाज मान्न नहुने र उपचार गर्नुपर्ने भन्दै सम्झाई बुझाई गरिन् । उपचार नगर्दा समस्या झन् बल्झिदै जाने हुँदोरहेछ ।’ सुरुमा थाहा नपाएका कारण आफूले यस्तो समस्या झेल्नुपरेको उनले बताइन् ।

पिरतीको पाठेघर पुरै खसेको छ । गाउँमा स्रोत साधन नहुँदा उपचार सम्भव छैन । स्वास्थ्यकर्मीले उपचारका लागि अन्तै जान सल्लाह दिएका छन् । उनले भनिन्, ‘तर, उपचार गर्ने खर्च छैन । के गर्ने ? कसो गर्ने साह्रै समस्या भइरहेको छ ।’ बढ्दै गएको पाठेघरको पीडाले पिरतीको दैनिकी निकै सकसपूर्ण छ । बेलैमा उपचार नगरेकाले यो हाल भोग्नुपरेको उनी बताउछिन् । ‘थाहा हुने बित्तिकै उपचार गर्न गर्नुपर्ने रहेछ, लाजले लुकाइयो । अहिले उपचार गर्न त मन छ नि ! खर्च कसरी जुटाउने हो खोई ?,’ उनले थपिन् ।

पिरती र रामकुमारी प्रतिनिधि पात्र मात्रै हुन् । पाठेघर सम्बन्धि समस्याको प्राय महिलाहरु हत्त पत्त उपचार गर्न मान्दैनन् । भरसक लुकाएरै राख्ने प्रयासमा हुन्छन् । परिवार र समाजले नकारात्मक दृष्टिले हेर्ने डरले खुलेर कुरा गर्न पनि सक्दैनन् । उपचार गर्नुपर्छ भन्ने चेतनाको कमी, अशिक्षा र गरिबीका कारण पाठेघर सम्बन्धि समस्या भएका ग्रामीण भेगका अधिकांश महिला उपचारको पहुँचमा छैनन् । पाठेघर सम्बन्धि निशुल्क तथा सहुलियत उपचार हुने भए पनि लाज र डरले लुकाएरै राख्न बाध्य हुन्छन् भन्छिन्, मानवअधिकारकर्मी बिमला थापा ।

जिल्ला स्वास्थ्य कार्यालयको सुरक्षित मातृत्व तथा परिवार नियोजन शाखाकी पद्मलक्ष्मी राईकानुसार जिल्लाभर आमा भएका ७० प्रतिशत महिलालाई पाठेघरको समस्या छ । उनीहरू मध्ये कतिपयले आफूलाई पाठेघरको समस्या भएको बारे थाहा नै पाएका हुदैनन् । ‘थाहा पाउनेले पनि परिवार र समाजले छिःछि, दुरदुर गर्लान् कि ! भनेर लुकाएर, सहेर बस्छन्,’ राईले अनुभव सुनाइन् ।

पाठेघरको समस्याबाट ग्रसित महिलाहरूलाई एकातिर परिवार र समाजको लाज, अर्कातिर पाठेघरमा भएको समस्या बारे पतिले थाहा पाउँदा घृणा गरेर सौता हाल्छ कि ! भन्ने डरले पनि घटना गुपचुप नै रहन्छन् । राईले भनिन् ‘उमेर नपुग्दै हुने विवाह, सुत्केरी भएको बेला कामको चटारो, घरेलु हिंसाको मारले गर्दा पाठेघरको समस्या हुने गरेको छ ।’ सहरी क्षेत्रको तुलनामा दुरदराजमा पाठेघरको समस्या झेल्ने महिलाहरूको संख्या धेरै रहेको पनि राईले बताइन् ।

आर्थिक रुपमा सम्पन्न भन्दा पनि विपन्न समुदायका महिलामा यसले विकराल रुप लिदै गएको छ । डर, लाज र आर्थिक अभावले उनीहरू उपचारका लागी स्वास्थ्य संस्थाको पहुँचसम्म पुग्न नसक्दा मानसिक सन्तुलन गुम्ने खतरा बढेको पनि सुरक्षित मातृत्व तथा परिवार नियोजन शाखाकी राईको भनाइ छ ।

पाठेघर झरेका महिलाहरूले स्वास्थ्य संस्थामा गएर परामर्श, सरसल्लाह र उपचार लिनुको साटो कपडाको डल्ला, टेवलटेनिसको बल घुसारेर लत्रिएको अंगलाई भित्र ठेल्ने गरेका थुप्रै उदाहरण राईसँग छन् । भन्छिन्, ‘यसो हुँदा शरीरभित्र घुसारिएका डल्लाहरू जेलिएर उनीहरूको स्वास्थ्य झन् जोखिममा पर्ने गरेको छ । रोगको उपचार गर्नुको साटो लुकाउने प्रवृत्तिले समस्या माथि समस्या थपिने गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले आव ०७३÷०७४ मा जिल्लाका चार स्थानमा शिविर सञ्चालन गरेको थियो । ओखे्रमा ५२, बालंखामा २४, पाँचामा २६ र कुदाककाउलेमा १५ जनाको स्वास्थ्य परीक्षण भएको थियो । जहाँ (१८ देखी ७५ बर्ष उमेर समुहका) महिलाले स्वास्थ्य परीक्षण गराएका थिए । २२ देखी ३० बर्ष उमेरका महिलाहरूमा पाठेघरको समस्या बढी थियो ।

एक लाख २० हजार बजेटमा भएका चारवटै स्वास्थ्य शिविरमा १६ जनालाई रि¨ प्रेसरी लगाइएको, ५० जनाको प्राथमिक उपचार गरिएको र पाँच जनालाई अपरेसनका लागी अन्यत्र रेफर गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय कार्यालय भोजपुरले जानकारी दिएको छ । पाठेघरको समस्याले तिन जनालाई पिसाब चुहिने समस्यासमेत भएको जनस्वास्थ्यको तथ्यांकमा उल्लेख छ ।

जिल्लामा पाठेघरको उपचारका लागी सरकारी स्वास्थ्य संस्थामा पर्याप्त व्यवस्था छैन । एक मात्र जिल्ला अस्पतालमा समेत स्क्रिनि¨ र रि¨ लगाउने सेवा मात्र उपलब्ध छ । गम्भीर प्रकृतिका बिरामी अन्यत्रै रेफर गरिन्छन् । सदरमुकाममा आएर अस्पतालमा सेवा लिनु गरिब समुदायका महिलालाई पहुँचभन्दा टाढाको बिषय बनेको छ । पाठेघरको समस्या समाधानका लागि आयोजना हुने स्वास्थ्य शिविर गाउँ पुगेका बेला समेत सबै क्षेत्र र भूगोललाई एकैचोटी समेट्न गाह्रो हुँदा धेरै केसहरू बाहिर आउन नसकेको जिल्ला स्वास्थ्य कार्यालयको सुरक्षित मातृत्व तथा परिवार नियोजन शाखाकी पद्मलक्ष्मी राई बताउँछिन् ।

शिविरका लागी बजेट पनि निश्चित मात्रै आउने, उक्त बजेटले शिविर प्रचार प्रसार, तिन जना स्वास्थ्यकर्मीलाई सेवा सुविधा, स्क्रिनि¨ खरिदजस्ता असिमित खर्च टारेर सेवा दिन एकदमै समस्या हुँदा सबै पाठेघर रोगी कहाँ सेवा पु¥याउन गाह्रो भईरहेको पनि राईको भनाइ छ । उनका अनुसार एउटा वडामा औसत १७ देखी २० जना महिलाहरू पाठेघरको समस्याबाट अति नै पीडित छन् । यहाँ ९ वटा स्थानीय तह र ८१ वडा छन् ।

पाठेघर रोगको उपचार सेवाका लागी महिला अधिकारवादी, अधिकारकर्मी समेत चासो नदिदा समस्या सुल्झाउन झनै गाह्रो छ । ‘सबैले हातेमालो गरेर जनचेतना जगाउने र उपचार गराउन सके पाठेघरको समस्या जटिल छैन । तर, यहाँका कसैलाई चासो चिन्ता केही छैन । धेरैसँग समन्यव गरौं, बजेट जुटाआंै, अभियान चलाआंै भनेर बिन्ति गरेँ कसैले सुनेनन्’ सुरक्षित मातृत्व तथा परिवार नियोजन शाखाकी राईले बताइन् ।

                                                                      – विद्या राई भोजपुरमा कार्यरत पत्रकार हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इन्सेक भन्छः राज्य पक्षबाटै ८६ महिला पीडित

–महिला खबर– काठमाडौं । पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले पछिल्लो समय बलात्कारका घटनामा मिलापत्र हुने गरेको

बलात्कारको घटना मिलापत्र गर्नेलाई के हुन्छ कारवाही ?

–महिला खबर– ललितपुर । बालिका बलात्कारको घटना मिलाउन खोज्ने वडा अध्यक्षलाई बलात्कारको मतियारको रुपमा मुद्दा चलाउन

प्रदेशसभाः महिलालाई ‘उप’ मै सिमित

–महिला खबर– सभामुख वा उपसभामुख मध्ये एक पदमा अनिवार्य महिला राख्नु पर्ने संवैधानिक व्यवस्था यदि नभएको

आफ्नै साथीलाई बलात्कार गर्ने तीन आरोपी पक्राउ

पीडित किशोरीका आफन्तले दाबी गरेअनुसार उनीहरूले बलात्कार पछि हत्याको प्रयास गरे । यद्यपि ती मध्ये

संरक्षणमा रहेकी चेलीको विवाह

–महिला खबर– सिपमूलक व्यवसाय पश्चात व्यवसाय संचालन गरिरहेकी चेली शिलाको विवाहका केटा पक्षसँग चेली नेपालले अभिभावकका

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: