महिला नेतालाई पाखा लगाइदै छः अमृता नेपाल

प्रकाशित मिति :2017-10-22 15:30:25

विद्यार्थी छदै राजनीतिक जीवनको सुरुवात गरेकी अमृता नेपाल २०५५ मा तत्कालिन नेकपा माओवादीको जनयुद्धमा सामेल भईन् । भूमिगत भई पार्टीको विभिन्न जिम्मेवारी पुरा गरेकी उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला अध्यक्ष हुँदै हाल केन्द्रिय सचिवालय सदस्य छिन् । पार्टीको जिल्ला सचिवको भूमिका समेत निर्वाह गरेकी उनी संविधान सभामा पार्टीको तर्फबाट समानुपातिक सभासद पनि भइन् । अब हुन लागेको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा फेरी समानुपातिक कै चर्चामा रहेकी नेपालसँग महिला खबरका लागि बिदुर आचार्यले निर्वाचनमा महिला नेतृत्वको सवाल र सहभागिता बारे गर्नुभएको कुराकानीः

प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको तयारी कस्तो छ ?

निर्वाचनकोलागि पार्टीका सबै जनवर्गीय संगठन तयारी अवस्थामा छन् । उमेद्वारी दर्तासँगै अझ बढी चुनावी माहोल बढ्नेछ । यो अवधिमा संगठन सुदृढीकरण, आवश्यक प्राविधिक तयारी, पार्टी नीति जनतासम्म पु¥याउने काम भईरहेको छ ।

महिला उम्मेदवारको चर्चा र प्रचार कस्तो छ ?

महिला उम्मेदवारको कुरा गर्दा दुख लाग्छ । खासै चर्चा छैन । हामी महिला आन्दोलनमा लागेर पनि महिलाको सशक्तिकरण गर्न सकेका छैनौं । लामो समयदेखि महिलाहरू राजनीतिमा छौँ तर, महिलाको अर्थपूर्ण सहभागिता हुन सकेको छैन । स्थानीय निर्वाचनमा ४० प्रतिशत महिला अनिवार्य थियो तसर्थ बाध्यात्मक रुपमा महिला निर्वाचित गरियो । तर अब प्रदेश र केन्द्रमा त्यो अवस्था रहनेमा व्यापक शंका छ । देशभरको अवस्था हेर्ने हो भने पनि महिला उम्मेदवार कम र चर्चा अझै कम छ । त्यो अवस्था सिन्धुपाल्चोकमा पनि उस्तै छ । महिला उम्मेदवारको आवश्यकता अन्तरआत्माबाट जरुरी नठान्दासम्म अवस्था फेरिने छैन ।

समावेशी सिद्धान्तलाई बढी अवलम्वन गर्ने भनिएको तपाईको पार्टीले जिल्लामा किन महिला उम्मेदवार नबनाएको ?

सैद्धान्तिक नारालाई व्यवहारमा लैजान राजनीतिक पार्टीहरू प्रतिवद्ध हुनुपर्छ । माओवादी यसमा प्रतिवद्ध छ भन्ने मेरो विश्वास कायम छ । सोचाई र व्यवहार परिवर्तन गर्न निकै गाह्रो छ । पितृसतात्मक सोच राजनीतिमा पनि छ । हामी त्यसकै बिरुद्धमा लडिरहेका छौँ । महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन कै लागि हामी निरन्तर आवाज उठाईरहेका छौँ । भूगोलको हिसाबले हामी राजधानीसँग जोठिएका छौ तर, हाम्रो जिल्लाको महिलाको अवस्था भने निकै दर्दनाक छ । महिलाको अवस्था सुधार गर्दै महिला मुद्दालाई मूल धारमा ल्याउन कुनै एक होईन सबै राजनीतिक दल लाग्नुपर्छ । संगठित रुपमा महिला अधिकारकर्मी लाग्नुपर्छ ।

राज्यका हरेक निकायसँगै प्रतिनिधीसभा र प्रदेशसभामा महिलाका लागि छुट्याइएका कोटामा महिलालाई शसक्त रुपमा निर्वाचित गर्न के गर्नुपर्ला ?

प्रतिनिधी सभा र प्रदेशसभामा महिलाको उपस्थिती ३३ प्रतिशत हो । तर, त्यसको सुनिश्चितता छैन । पार्टीहरूले महिला उम्मेदवारको संङ्ख्या पु¥याउन निकै असहज मानिरहेको सहजै बुझ्न सकिन्छ । यस अघि अन्तरपार्टी महिला सञ्जालले संविधानमा उल्लेख भए अनुरुप महिलाको स्थान सुरक्षित गर्न आफ्ना पार्टीलाई अनुरोध गर्यो । सञ्जालले कुनै क्षेत्रमा महिला महिला बीच नै प्रतिस्पर्धा गराउनपनि अनुरोध ग¥यो । तर त्यो पनि सम्भावना टरेको बुझिन्छ । यदि त्यसो भएको भए महिला उम्मेदवार विजय हुने निश्चित हुन्थ्यो । पुरुष र महिला बीच पतिस्पर्धा हुँदा पुरुष विजयी हुने संभावना पुरुष प्रधान देश भएकै कारणले हुन्छ । महिला पुरुषको तुलनामा अहिले पनि केही कमजोर छन्, त्यो व्यवहारिक कारणले हो । त्यसो हुँदा असमान क्षमता र समान प्रतिस्पर्धा हुन्छ र महिलाको उपस्थिति घट्छ । राजनीतिक दलले प्रतिनिधीसभामा १ र प्रदेशसभामा १ महिला अनिवार्य बनाईनुपर्छ भन्ने मेरो माग हो ।

महिला नेतृत्वमा पुगेपछी समाजको आर्थिक, सामाजिक र न्यायीक  अवस्थामा कस्तो प्रभाव पर्छ ?

समाजको आधा बढी हिस्सामा रहेको महिलाले हरेक अवसर, शिक्षा, स्वास्थ्य, सम्मान पाउन सकेका छैनन् । समाजको आवश्यकताले अब गुणात्मक फड्को मार्न भनिरहेको छ । आार्थिक परनिर्भरताले पनि महिलाको अवस्था थप जटील बनेको छ । यो अवस्थामा महिलालाई अत्मनिर्भर बनाउने, समाजका कुरीति हटाउने, प्राकृतिक न्यायका सिद्धान्तलाई आत्मसात गर्दै सबै वर्ग र समुदायलाई सुन्दर बनाई समाज निर्माणमा सहभागी बनाई महत्वपूर्ण प्रभाव दिन सकिन्छ ।

जिल्लामा  राजनीतिक दलले महिला नेतृत्वलाई पछाडी पारेका छन् अब अगाडी बढाउन के गर्नुपर्ला ?

राजनीतिकर्मीमा महिला आधा शक्ति हो भन्ने पर्नुप¥यो । महिलाको नेतृत्व भूमिका बिना समृद्ध जिल्ला निर्माण सम्भव हुदैन भन्ने प्रष्ट हुनुप¥यो । महिलाले नेतृत्व गर्न सक्दैनन् भन्ने चिन्तन हट्नुप¥यो । अवसर बाँड्ने कुरामा हिच्किचाउनु भएन । आवश्यकताले नै क्षमता विकास हुने हो । सबै पार्टीले क्रमभङ्ग गर्दै महिला उम्मेदवार बनाउने महिला लक्षित कार्यक्रम, नीति बनाउने र मुल्याङ्कन गर्ने क्रम जारी राख्नुुपर्छ । महिला शक्ति पछाडी पर्नु आधा समाज पछाडी पारिनु हो, यसतर्फ पार्टी नेतृत्व सदैव सजग रहनुपर्छ ।

तपाईं निर्वाचित भएपछी हिंसापीडित र पछाडी परेका महिलाको लागि के गर्नुहुन्छ ?

समाजमा व्याप्त समस्याका आधारमा अर्थात हिंसा र उत्पीडनमा परेका महिलाहरूको पक्षमा नीति बनाई कार्यान्वयन तहमा लैजानु पहिलो काम हो । दोस्रो भनेको राजनीतिक, आर्थिक र सामाजिक रुपमा महिलाको अवस्थामा सुधार गर्न आवश्यक नीति कार्यक्रम बनाउनु र कार्यान्वयन गर्नु हो ।

संघ र प्रदेशमा महिलाहरूलाई के कस्ता अवसरहरू छन् ?

प्रतिनिधित्वका हिसाबले ३३ प्रतिशत महिला हुनेछन् । संविधानले महिलाका अधिकर सुरक्षित गरेको छ । त्यो अधिकार प्रत्याभूत गराउन सक्दा पनि महिलाहरूले अवसर पाएको मान्नुपर्ने अवस्था छ । स्थानीय तह, संघ र प्रदेशसभा निर्वाचनले जनतामा मौलिक अधिकार कार्यान्वयन गर्दै अगाडी बढ्नेछ ।

जिल्लाका महिला नेताहरूमा नेतृत्व गर्ने क्षमता कस्तो पाउनु हुन्छ ?

क्षमता छ तर अवसर छैन । महिलालाई मतदाताकै रुपमा हेरिन्छ । आफ्नो प्रतिनिधीको रुपमा लिएको पाईदैन । महिला भएकै कारण वर्षौ त्याग गरेका, राजनीतिमा खारिएका महिलाहरू पनि आफ्नो पार्टीको नेतृत्वमा सर्वमान्य नभएको भन्ने भान हुन्छ नै । त्यसो हुनुमा अन्य कारण नभई महिला भएकै कारण भएको हो । अधिकार र एजेण्डामा एक हुन नसक्दा महिलालाई कमजोर परिभाषित गरिएको छ । र त्यसको फाईदा पुरुष नेताहरूले लिइरहनुभएको छ । तसर्थ आफ्नो समुदायको शक्तिलाई पहिचान गरी संगठित गर्दै आवाज उठाउनु जरुरी छ । अवसर पाँउदा महिला नेताहरूले बढी नै जिम्मेवार ढंगले नेतृत्व प्रदान गरेका छन् ।

निर्णायक स्थानमा पुगेपछी तपाईको भुमिका कस्तो हुनेछ ?

सवै वर्ग र समुदायलाई एक ढिक्का बनाई समृद्धिका लागि सशक्त रुपमा लाग्नेछु ।

पार्टीले गठवन्धन गरेर अगाडी बढ्दा महिला नेतालाई उम्मेदवार बन्न कति बञ्चित बनायो ?

गठवन्धन हुनु वस्तुगत आवश्यकता हो र स्वागतयोग्य छ । महिला उम्मेदवार एकल हुँदा नि कम गठवन्धन हुँदा नि कम हुने सम्भावना छ । संवैधानिक समस्या नआउला भन्न सकिन्न । समानुपातिकबाट महिला बढी पठाउने प्रयत्न भएको देखिन्छ तर त्यसले ३३ प्रतिशत पुग्दैन । जति लचिलो भएर गठवन्धन वनेको छ त्यति नै लचिलो भएर महिला उम्मेदवार बनाइनुपर्दथ्यो । तर त्यो हुन सकेन । पहिलो चरणमा हुन लागेको निर्वाचनकका लागि उम्मेदवारको टुंगो लगाउने क्रममा महिलालाई पाखा लगाएर पुरुषका नाममा सहमति भएका छन् । पार्टीमा पुरुष जत्तिकै महिलाहरूको पनि योगदान छ तर अवसरको कुरा महिलाको क्षमतामा प्रश्न उठाएर बञ्चित गर्ने कामको अन्त्य हुन सकेन । त्यसकारण प्रत्यक्ष निर्वाचनमा एकाध महिलाहरूले मात्रै टिकट पाए र पाउने भएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बालअधिकार हननका घटना बढ्दै, बालिका बढी पीडित

–सन्दिप विक– नेपालले बालअधिकार सम्बन्धी महासन्धि र यसका दुईवटा ऐच्छिक सन्धि पत्रहरूमा निशर्त अनुमोदन गरेर बालअधिकार

विद्यालयमा छात्रामाथि कस्तो दुव्र्यवहार हुन्छ ?

–महिला खबर– शिक्षा विभागले बनाएको कार्यविधि अनुसार प्रत्येक विद्यालयले गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने, उजुरी पेटिका राख्नुपर्ने

नवलपरासीका छोरीहरुलाई यसरी ढाडस दिइन्, रेखा थापाले (भिडियोसहित)

–सीता शर्मा– ‘तपाइहरु आफ्नो नामबाट बाच्नुस् । आफ्नो पहिचानका साथ बाच्नुस्’ कार्यक्रममा सहभागी किशोरीहरुलाई ढाडस दिदै

बालिका बलात्कार गरि हत्या गर्नेलाई जन्म कैद

–महिला खबर– ललितपुर । बालिकालाई बलात्कार गरि हत्या गर्ने दुई जनालाई जिल्ला अदालत बैतडीले जन्मकैदको

जवरजस्ती विवाह गर्न खोज्ने युवा तीन वर्ष पछि पक्राउ

–महिला खबर– अपहरण तथा शरीर बन्धक घटनामा संलग्न खत्री निर्दोष रहेको र मुद्दा दर्ता गराउन नहुने

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: