गृहिणी हुनुको गर्व

प्रकाशित मिति :2017-10-24 13:12:15

विकिपिडियाका अनुसार ‘हाउस वाइफ’ अर्थात् गृहिणी भन्नाले आफ्नो परिवार तथा घर चलाउने वा व्यवस्थापन गर्ने यस्तो महिलालाई बुझिन्छ, जसको घरबाहिर कुनै जागिर हुँदैन । वेब्स्टर्स शव्दकोशले गृहिणीलाई घरव्यवहारको मूली भनी अथ्र्याएको छ । अर्बान डिक्सनरीले एक कदम अघि बढ्दै गृहिणी भनेको त्यस्तो महिलालाई भनेको छ, जो पैसाको लागि बाहिर काम गर्न जानुको साटो आफ्नो परिवारभित्रै सुरक्षित, न्यानो र स्वच्छ वातावरण सिर्जना गरी परिवारलाई समुन्नत बनाउन आफ्नो सम्पूर्ण समय, ऊर्जा र स्नेह खर्च गर्छिन् । उल्लेखित परिभाषाहरूबाट निस्कने एउटै निष्कर्ष के हो भने गृहिणीलाई हेर्ने नजर, गर्ने व्यवहार तथा चिन्ने तरिका फरक–फरक छन् । तथापि समयक्रमसँगै सामाजिक संरचना, सामाजिक व्यवहार, सामाजिक सम्बन्ध तथा मूल्यहरू बदलिँदा छन् र त्यही मुताविक पुराना मान्यतामा परिवर्तन भइरहेको छ । फलत: अहिले गृहिणीले ‘घर व्यवस्थापक’को पहिचान खोजिरहेका छन् ।

मीना मरासिनी

बेलायतको इन्स्टिच्युट अफ सोसल एन्ड इकोनोमिक रिसर्चले गरेको अध्ययन अनुसार विवाहित पुरुषले अविवाहित वा एकल पुरुषले भन्दा तबमात्र धेरै आय आर्जन गर्न सक्छन्, जब उनीहरूका श्रीमती घरमै बसेर घरधन्दा गर्छन्, अर्थात् जागिर गर्दैनन् । उक्त अध्ययनका अनुसार श्रीमतीले जति धेरै घरबाहिर काम गर्छिन्, उनीहरूका श्रीमानको शारीरिक तथा मानसिक स्वास्थ्य उति नै कमजोर हुन्छ । यद्यपि यस्तो निष्कर्ष यहाँ उद्धृत गरिरहँदा पुरुषको भलाइ, कमाइ वा रमाइका लागि महिलाहरू आफूलाई घरभित्रै बन्धक बनाउनुपर्ने पो रहेछ भन्ने तर्कलाई पुष्टि गर्ने धृष्टता गरिएको जस्तो लाग्न सक्छ । अध्ययनको निष्कर्षले महिलालाई घरबाहिर कामकाजी बन्नबाट निरुत्साहित गरेको भन्ने विश्लेषण पनि हुनसक्ला । तर यसलाई फरक तथा सकारात्मक कोणबाट विश्लेषण गर्दा एउटी गृहिणी महिलाको कार्य आफू, आफ्नो परिवार तथा जीवनसाथी समेतको आर्थिक, सामाजिक, शारीरिक तथा मानसिक समृद्धिका लागि कति महत्त्वपूर्ण हुँदोरहेछ भन्ने प्रमाणको रूपमा यो तथ्यांकलाई प्रस्तुत गर्न सकिन्छ ।

स्यालरी डट कम वेबसाइटले गतवर्ष १५ हजार अमेरिकी महिलामा गरेको सर्वेक्षणअनुसार बाहिर जागिर नगर्ने एकजना गृहिणीले हप्तामा औसत ९४ घन्टा आफ्नो घरभित्रै घरधन्दाका विभिन्न काममा खटेर बिताउँछिन् । त्यस्तै जागिरे महिलाले समेत हप्तामा ५९ घन्टा घरधन्दाका काममा बिताउनुपर्छ । गृहिणीले बिहानदेखि बेलुकासम्म घरधन्दामा गर्नुपर्ने विभिन्न प्रकारका कामलाई श्रम बजारका तत्तत् क्षेत्रका काममा वर्गीकरण गरी उक्त समयलाई ज्याला पाउने कार्यघन्टामा परिणत गर्ने हो भने एकजना अमेरिकी गृहिणीको एक वर्षको घरधन्दाको ज्याला १ लाख ४३ हजार १०२ अमेरिकी डलर हुन्छ । त्यस्तै जागिरे महिलाले जागिरमा जस्तै घरधन्दामा पनि ज्याला पाउने हो भने उनीहरूको घरधन्दाको ज्यालाचाहिँ वार्षिक ९० हजार २२३ डलर हुन्छ । यसरी जागिरे महिलाको तुलनामा जागिर नगर्ने गृहिणीले एक वर्षमा ५० हजार अमेरिकी डलरभन्दा बढी ज्याला बराबरको घरधन्दा गर्दारहेछन् । हुन त यी तथ्य हामीलाई बकबास लाग्न सक्छन् । हाम्रै छिमेकी मुलुक भारतमा समेत गृहिणीलाई उनीहरूका श्रीमानले मासिक तलब दिनुपर्ने भनी अदालतले फैसला गरेका समाचार बेलाबखतमा सुन्न पाइन्छ । तर हामीकहाँ गृहिणीको कामको कुनै मौद्रिक मूल्यांकन गर्ने विधि र सोच विकास हुनसकेको छैन । गृहिणीको मौद्रिक मूल्यको हिसाब–किताब भइनसकेको भए पनि परिवार, समाज र राष्ट्रले तिनको महत्त्वलाई भने हृदयंगम गर्दै जानुलाई सन्तोषजनक मान्नुपर्छ ।

नवजात शिशुलाई असल नागरिक बनाउने तथा निर्जीव र खाली घरलाई स्नेह र सम्भारले ममतामय वासस्थानको रूपमा परिणत गर्ने जिम्मेवारी गृहिणीकै हुन्छ, जसलाई कुनै मौद्रिक मूल्यमा मापन गर्न सकिँदैन । यसका लागि कुनै पुरुष तथा सन्तानको सफलताका पछाडि रहने महिला तथा आमाका हातको उचित कदर आवश्यक हुन्छ । गृहिणीहरू रोजगार तथा श्रम बजारमा असक्षम सावित भएर घरधन्दामा सीमित भएका होइनन् । धेरै शिक्षित र सक्षम महिलासमेत आफ्ना इच्छा, आकांक्षा र प्रतिभालाई आफैभित्र छोप्दै आफू बलेर परिवारलाई उज्यालो दिइरहेका छन् । जस्तोसुकै होस्, तर जागिर गर्नैपर्छ अनि ‘टेन टु फाइभ’ घरबाहिर हुुन नपाए त आधुनिक महिला नै भइँदैन भन्ने मान्यतालाई चुनौती दिँदै पारिवारिक सुख, सन्तुलन र मातृत्वका खातिर कुशल गृहिणीको भूमिका निर्वाह जीवनलाई आत्मसम्मानपूर्ण र सुखमय बनाउने महिलाको कमी छैन, समाजमा । भौतिक र बौद्धिक रूपले समेत घरको चौघेराभित्र सीमित हुने परम्परागत नियन्त्रित गृहिणीको परिभाषालाई बदलेर निर्णायक गृह व्यवस्थापक अर्थात् ‘होम मेकर’को रूपमा आफूलाई चिनाउन र स्थापित गर्न चाहन्छन्, उनीहरू । अन्तर्राष्ट्रिय स्तरमा समेत ‘हाउस वाइफ’ शव्दको साटो ‘होम मेकर’ शब्दको प्रचलन बढ्दै जानु गृहिणीहरूले आफ्नो अस्तित्व, आत्मसम्मान र मूल्यको खोजी गर्नुको परिणाम मान्न सकिन्छ ।

जुन काम चाहे जति महत्त्वपूर्ण नै किन नहोस्, यदि प्रत्यक्ष रूपमा आर्थिक आयसँग नजोडिएमा त्यो कामको श्रेणीभित्र नै पर्दैन । त्यसैले जबसम्म अर्थशास्त्रीहरूले गृहिणीहरूको घरधन्दाको आर्थिक मूल्यांकनको लागि कुनै सर्वमान्य सूत्र आविष्कार गर्दैनन्, त्यसको मौद्रिक भुक्तानी हुँदैन, तबसम्म हामीसँग एउटामात्र विकल्प छ– त्यो के भने घरका हरेक सदस्यले आफ्नो घरभित्रका गृहिणीहरू (आमा, बुहारी तथा छोरी) को घरधन्दाको उचित मूल्यांकन तथा कदर गर्ने । अनि गृहिणीहरूले आफू र आफ्नो भूमिकाप्रति गर्व गर्ने । कान्तिपुरबाट

    Comment Here!

Related NEWS
मुख्य खबर

बालअधिकार हननका घटना बढ्दै, बालिका बढी पीडित

–सन्दिप विक– नेपालले बालअधिकार सम्बन्धी महासन्धि र यसका दुईवटा ऐच्छिक सन्धि पत्रहरूमा निशर्त अनुमोदन गरेर बालअधिकार

विद्यालयमा छात्रामाथि कस्तो दुव्र्यवहार हुन्छ ?

–महिला खबर– शिक्षा विभागले बनाएको कार्यविधि अनुसार प्रत्येक विद्यालयले गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने, उजुरी पेटिका राख्नुपर्ने

नवलपरासीका छोरीहरुलाई यसरी ढाडस दिइन्, रेखा थापाले (भिडियोसहित)

–सीता शर्मा– ‘तपाइहरु आफ्नो नामबाट बाच्नुस् । आफ्नो पहिचानका साथ बाच्नुस्’ कार्यक्रममा सहभागी किशोरीहरुलाई ढाडस दिदै

बालिका बलात्कार गरि हत्या गर्नेलाई जन्म कैद

–महिला खबर– ललितपुर । बालिकालाई बलात्कार गरि हत्या गर्ने दुई जनालाई जिल्ला अदालत बैतडीले जन्मकैदको

जवरजस्ती विवाह गर्न खोज्ने युवा तीन वर्ष पछि पक्राउ

–महिला खबर– अपहरण तथा शरीर बन्धक घटनामा संलग्न खत्री निर्दोष रहेको र मुद्दा दर्ता गराउन नहुने

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: