‘गठबन्धनले महिला नेताहरूको क्षमतालाई वेवास्था गरेकै हो’– विन्दा पाण्डे

प्रकाशित मिति :2017-10-24 20:38:19

–महिला खबर संवाद–

आउँदो मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा प्रत्यक्ष तर्फ महिलाको उम्मेदवारी अत्यन्तै न्यून अर्थात ५ प्रतिशत मात्रै पुगेको छ ।  प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका ३ सय २० जनामा १८ र प्रदेशसभातर्फका ४ सय ८२ उम्मेदवारीमा २४ जना मात्रै महिला छन् । ठुला दलले महिला नेतालाई प्रत्यक्ष चुनावमा उठ्नबाट रोकेका छन् । अझ भन्नुपर्दा समावेशी र समानताका विषयमा चर्का कुरा गर्ने वामपन्थी दलहरूनै महिला उम्मेदवारीमा उदासीन देखिए । उद्धार देखिएनन् । यसले राजनीति गरिरहेका र गर्न चाहने महिलाहरुमा कस्तो मनोविज्ञान जन्माउला ? महिलालाई प्रत्यक्ष निर्वाचनमा उठाउन ठुला दलहरू किन चुके ? भनेर नेकपा एमालेका पोलिटव्युरो सदस्य विन्दा पाण्डेसँग महिला खबर डटकमका लागि सन्दिप सन्दिप वि.कले गर्नुभएको कुराकानीः

प्रत्यक्षमा महिलालाई उठाउन वाम गठबन्धन कसरी चुक्यो ? के थिए बाधा अप्ठ्यारा ?

वाम गठबन्धन चुकेको भन्दापनि एक तिहाई महिला सुनिश्चित गर्ने भन्ने संवैधानिक व्यवस्था विरुद्ध पार्टी नेतृत्व जादैनन् भन्ने हाम्रो विश्वास हो । तलदेखि नै उम्मेदवारको नाम पठाउने क्रममा पनि जिल्ला तह चुके । त्यसको मूल कारण भनेको पुरुषवादी चिन्तन हो । नेतृत्वकर्ता पुरुष नै हुन्छ र हुनुपर्छ भन्ने संकुचित मानसिकताको उपज हो । पुरुष प्रधान मानसिकताहरू परिवर्तन हुन नसकेकै कारण महिलाहरूले चुनाव जित्दैनन् भन्ने गलत सोच हावी छ । त्यो सोच स्थानीय निर्वाचनमा गलत साबित भइसक्दा पनि यसपटक फेरि पनि महिलाहरूलाई पत्याइएन । मुख्य कारण त्यहि नै हो ।

उम्मेदवारको टुंगो लगाउँदा तपाईहरू जस्ता महिलाहरूको राय सल्लाह लिइयो कि लिइएन ?

यसमा राय दिइराख्नुपर्ने जरुरी नै छैन र थिएन पनि । पार्टीका नेताहरूलाई देशभरका आफ्ना महिला कार्यकर्ताहरू को कहाँ छन, कति खटिराखेका छन्, कति क्षमताका छन्, पार्टीमा उनीहरूको के कस्तो योगदान छ भन्ने कुराको राम्रो ज्ञान छ । नेताहरूले प्रत्यक्षमा निर्वाचन लड्ने योग्य महिला नै नदेखेर, थाहा नै नपाएर यस्तो भएको होइन । उम्मेदवार छान्ने क्रममा धेरै ठाउँमा पुरुषहरूको बिचमा धेरै प्रतिस्पर्धा हुने, सहमति जुटेन भने अन्तिममा सिनियारिटीको कुरा ल्याउने काम भयो । सिनियारिटीको कुरा गर्दा हिजोदेखि नै महिलालाई माथिल्ला पदमा काम गर्न दिइएको छैन त कसरी पुरुष भन्दा महिला सिनियर देखिन्छन् ? त्यसर्थमा पनि यो सिनियारिटीको कुरा महिलालाई पाखा लगाउने हतियार बन्यो ।

हिजैदेखि जुन बेला पार्टी गठन भयो । पार्टी गठनदेखि नै महिलाहरूलाई माथिल्ला पदमा जान प्रोत्साहित गरिएन । एमालेको कुरा गर्दा महिलाहरू पार्टी संरचनामा माथिल्लो पदमा आउन थालेको २०६१ साल भन्दा पछाडी मात्रै हो । वि.स २०६२ सालमा जब एक तिहाइ महिलाको सहभागिताको निर्णय पार्टीले गर्यो । त्यसपछि मात्रै पार्टीले महिलाको संख्या बढाउन थालेको हो । २०६२ सालमा कमिटीमा आएको, माथिल्लो पदमा पुगेको मान्छे र ५० सालदेखि कमिटीमा काम गरेको मान्छेबिच तुलना हुँदैन । पार्टीभित्र र चुनावका बेला सिनियारिटी र जुनियारिटीको कुरा भन्दापनि सिमान्तकृत समुदायलाई मूल धारमा ल्याउने अहिलेको आवश्यकता हो ।

हामीले जुन समृद्ध नेपालको कुरा गरिराखेका छाैँ । समृद्धि नेपालमा एक पक्षिय मान्छेलाई मात्रै संरचनामा राखेर हुँदैन । यसलाई समावेशी ढंगबाट अगाडी बढाउने कुरा सोच्नुपर्छ र व्यवहारमा लागु पनि गर्नुपर्छ । त्यही हिसाबबाट सोच्ने कुरामा पार्टी संरचनामा जिल्लाको सिफारिसदेखि माथि अन्तिम निर्णय गर्ने ठाउँसम्म नेतृत्व चुकेकै हो  ।

महिला मतदाताले सधैं पुरुष उम्मेदवारलाई मात्रै भोट हाल्नुपर्ने अवस्थाको अन्त्य कहिले होला ?

पुरुष र महिलालाई भन्दा पनि भोट हान्ने त पार्टीलाई नै हो । मलाई हिजोपनि धेरै साथिहरूले सोध्नुभएको थियो– महिलाहरू समानुपातिकमा बस्न चाहे, प्रत्यक्षमा चुनाव लड्न चाहेनन् हो ? भनेर । त्यसपछि मैले भने – त्यो को महिला हो ? आजका मितिसम्म आइपुग्दा कोहि पनि महिला नेता मैले त्यस्तो भेटेको छैन्, जसले म चुनाव लड्दिन भनेको छ ।

कसैका साना बच्चा होलान्, कोहि सुत्केरी होलान्, कोही विरामी होलान् । त्यो खालको स्थितिमा कोही त्यस्तो होलान् । तर, त्यो भन्दा आम रुपमा हिजोदेखि राजनीतिमा लागेका कोही पनि महिलाले म प्रतिस्पर्धामा जान्न, समानुपातिक टिकटमा जान्छु भने भन्ने कुरामा विश्वास मलाई लाग्दैन ।

पार्टीमा चुनाव लड्न के चाहिन्छ भन्ने कुरा हिजो संविधान सभामा रहेर काम गरेका साथिहरूलाई पनि राम्ररी थाहा छ । पार्टी कमिटीमा लामो समयदेखि काम गरेका साथीहरू, केन्द्रिय तहमै रहेर काम गरेका साथिहरू हुनुहुन्छ । हिजो संविधानसभाबाट समानुपातिकबाट लिस्टमा परेका साथिहरू हुनुहुन्छ । हिजो एक दुई चरणमा काम गरिसकेका महिला साथिहरू हुनुहुन्छ । उहाँहरू अहिलेपनि क्वालिफाइड हुनहुन्न भने क्वालिफाइड हुन के हुनुपर्ने भो त ? क्वालिफाइडको मापदण्ड के हो ? कि त त्यस्तो मापदण्ड बनाइनुपर्यो । होइन भने महिलालाई कमजोर देखाउन प्रयोग गरिने यस्ता कुराहरू कसैले बोल्नुहुदैन । यी तर्कहिन कुरा हुन् ।

हिजो महिलाहरू संविधान सभामा जान, काम गर्न पार्टीको केन्द्रीय तहमा काम गर्न सबै सक्षम हुने । अनि अहिले प्रत्यक्ष निर्वाचनमा जानका लागि क्षमता भएन भन्ने खालको कुरा गलत हो । चुनाव जितिन्छ कि हारिन्छ भन्ने कुरा स्थानीय निर्वाचनले देखाई सकेको अवस्था छ । स्थानीय निर्वाचनमा टिकट पाएका मध्ये धेरै महिलाहरूले जितेका छन् । अहिले महिलाहरूलाई असक्षम देखाउने काम महिला प्रतिको पूर्वाग्रही सोच मात्रै हो । निर्णय गर्ने ठाउँमा नेताहरूले अवसर नदिएरकै कारणले महिला पछी परेका हुन् । नेताहरूले भोट दिएर निर्वाचनमा जाऊ भनेर टिकट दिने हो भने जनताले महिलाहरूलाई भोट हालेर हामी महिलाको नेतृत्वमा विश्वास गर्नेछन् ।

दोस्रो चरणको निर्वाचनमा हामी सबै प्रत्यक्षमा जान तयार छौँ भनेर तलका साथीहरूले पनि भनिसक्नुभएको छ । अहिलेको पनि क्षतिपूर्ती हुने गरि दोस्रो चरणको निर्वाचनमा प्रत्यक्षमा महिलाहरूलाई टिकट दिन पहल गर्नुपर्यो भनेर हामीले भनिराखेको अवस्था छ । गएर घरै घेर्ने, दैलोमा धर्ना नै बस्ने कुरा लोकतान्त्रिक संस्कार हो जस्तो मलाई लाग्दैन ।

प्रत्यक्षतर्फको उम्मेदवारी हेर्दा त कानुन अनुसार (३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने प्रावधान) पुर्याउन हम्मेहम्मे पर्ला जस्तो छ ? समानुपातिकबाट ३३ प्रतिशत पुर्याउन सम्भव छ ?

संविधानमा लेखेको कुरा के हो भने कम्तिमा पनि एक तिहाइ महिला सबै पार्टीबाट पुर्याउनुपर्छ । ६० प्रतिशत अहिलेको निर्वाचनमा लड्ने हो । ४० प्रतिशत कोटा त समानुपातिकबाट छदैँ छ । त्यस्तै पर्यो भने ४० प्रतिशत मध्येको ३३ प्रतिशत सबै महिला जान्छन् । ७ प्रतिशतमा पुरुषहरू जान्छन् ।

ठुला भनिएका दलबाट ३ जना महिला मात्र प्रत्यक्ष चुनावी मैदानमा आए । त्यसमा पनि यतिबेलाको देशकै ठुलो पार्टी नेकपा एमालेले प्रतिनिधी सभाका लागि एक जना महिलालाई पनि उम्मेदवार बनाएन । के महिला प्रतिनिधिसभाका लागि योग्य नदेखिएकै हुन् ?

अब दोस्रो चरणको निर्वाचनमा बढी भन्दा बढी महिला नेताहरूले प्रत्यक्षमा टिकट पाउछन् भन्ने आशा राखेका छौँ । तर समग्रमा भन्नुपर्दा अहिलेको निर्वाचनमा वाम गठबन्धनले महिलाहरूको राजनीतिक क्षमतालाई अलिकति इग्नोर भने गरेकै हो । यसलाई नकार्न मिल्दैन ।

महिलाकै लागि आवाज उठाउन बनेका अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) पनि छन् । प्रत्यक्षमा महिलालाई उम्मेदवार बनाउन ती संगठनको भूमिका के रह्यो त ?

उम्मेदवार सिफारिस गर्ने ठाउँमा महिलाहरू हुनुहुन्न । सबै उहाँ (पुरुष)हरूले सिफारिस गर्नुभएको छ । निर्णय गर्ने ठाउँमा अनेमसंघका साथिहरू त हुनुहुन्न । त्यसकारण पनि उहाँहरूको आवाजको सुनुवाई भएन, महिलालाई प्रत्यक्षमा टिकट दिइएन, पत्याइएन ।

तपाई प्रत्यक्षमा चुनाव नलड्ने ?

पार्टीले टिकट दिए लड्छु । मसँग चुनाव लड्ने योग्यता र क्ष्मता छ । चुनाव जित्छु भन्ने विश्वास पनि छ । विद्रोही भएर चै उठ्दिन् । किनभने पार्टीले नै यहाँसम्म पुर्याएको हो । विद्रोही भएर लड्ने भए पार्टीमा किन लाग्नुपथ्र्यो र ।

तपाइहरू सधैँ नेतृत्वसँग हस् र हुन्छको अवस्थामा मात्र देखिनु भो त । अब दोस्रो चरणको निर्वाचनमा महिलालाई प्रत्यक्षमा उम्मेदवार बनाउनका लागि के गर्दै हुनुहुन्छ ?

साथीहरूले पहिलेदेखि नै उठ्न तयार छौँ भनेर भनिसक्नुभएको छ । नाम पठाउनुभएको छ । अन्तिम निर्णय गर्ने ठाउँमा बस्नेले टिकट दिनुभयो भने महिलाहरू चुनाव लड्नुहुन्छ । महिलाको नाममा फाइनल गर्नुहुन्न, चुनाव लड्नु हुन्न । यो क्लीयर छ ।

यो पार्टी भित्रको कुरा हो । पार्टी भित्र भन्ने खालको कुरा हो । लविङ गर्नुपर्ने कुरा हो । त्यो कुरा हामीले जिल्लामा पनि केन्द्रमा पनि गरिराखेका छौँ । यो भन्दा बढी के गर्ने त । अनसन बस्ने, घेरघार गर्ने, त्यो तहमा अहिले हामी जादैँनौ । तर सचेत गराउने, कुरा राख्ने, भन्ने, इच्छुक साथिहरूको भेटेरै नाम दिने यो काम निरन्तर भइराखेको छ ।

उम्मेदवार महिलालाई जसरी पनि जिताउने वातावरणको सृजना गर्न वाम गठबन्धनको तयारी के छ ?

पार्टीबाट उठेका महिलाहरूलाई आम जनताको बीचमा जाने, आफ्नो एजेन्डाहरू लाने र मतदान गर्न प्रेरित गर्ने कुराहरू त छदै छ ।   अर्को वान थर्ड वेमेन (एक तिहाई महिला) सहभागिताको कुरा, प्रत्यक्षमा पनि एक तिहाई महिला हुनैपर्छ भन्ने कुरा कानुनमा नै नलेखि नहुँदो रहेछ । यो भन्दा पहिला हामी नेतृत्वले विवेक पुर्याइहाल्छ नि भन्ने कुरामा जबरजस्ती कन्भिन्स भएका थियौँ । कुरै नउठाएका भने होइनौ ।

अब संसदमा जाने साथिहरूले प्रत्यक्ष निर्वाचनमा पनि कम्तिमा एक तिहाई महिला सबै पार्टीले उठाउनुपर्ने छ भन्ने लेखाउनुपर्ने स्थिती आयो । त्यसको लागि पहल गर्छौ भन्ने प्रतिवद्धता गराउने तर्फ लाग्नुपर्छ । अब निर्वाचनमा होमिएका साथिहरूसहित सबैलाई भोट हाल्दा पनि त्यो प्रतिवद्धतासहित भोट हाल भन्नुपर्छ । टिकट पाउने सबै उम्मेदवार गठबन्धनका उम्मेदवार हुन् । उनीहरूको जित नै वाम गठबन्धनको जित हो । निर्वाचनका बेला विपक्षी उम्मेदवारका बिषयमा अनेक थरि नराम्रा कुराहरूको प्रचार गर्ने गलत संस्कार छ । यसबाट महिला उम्मेदवारहरू पीडित हुन सक्छन् । त्यस्तो हुन नदिन गठबन्धन चनाखो हुनुपर्दछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बालअधिकार हननका घटना बढ्दै, बालिका बढी पीडित

–सन्दिप विक– नेपालले बालअधिकार सम्बन्धी महासन्धि र यसका दुईवटा ऐच्छिक सन्धि पत्रहरूमा निशर्त अनुमोदन गरेर बालअधिकार

विद्यालयमा छात्रामाथि कस्तो दुव्र्यवहार हुन्छ ?

–महिला खबर– शिक्षा विभागले बनाएको कार्यविधि अनुसार प्रत्येक विद्यालयले गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने, उजुरी पेटिका राख्नुपर्ने

नवलपरासीका छोरीहरुलाई यसरी ढाडस दिइन्, रेखा थापाले (भिडियोसहित)

–सीता शर्मा– ‘तपाइहरु आफ्नो नामबाट बाच्नुस् । आफ्नो पहिचानका साथ बाच्नुस्’ कार्यक्रममा सहभागी किशोरीहरुलाई ढाडस दिदै

बालिका बलात्कार गरि हत्या गर्नेलाई जन्म कैद

–महिला खबर– ललितपुर । बालिकालाई बलात्कार गरि हत्या गर्ने दुई जनालाई जिल्ला अदालत बैतडीले जन्मकैदको

जवरजस्ती विवाह गर्न खोज्ने युवा तीन वर्ष पछि पक्राउ

–महिला खबर– अपहरण तथा शरीर बन्धक घटनामा संलग्न खत्री निर्दोष रहेको र मुद्दा दर्ता गराउन नहुने

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: