मैले घर बढार्दा छिमेकीहरू लुकेर हेर्थेः माइकल

प्रकाशित मिति :2017-11-06 15:01:15

–महिला खबर संवाद–

बिहान पाँच बजे उठ्नु उनको नित्य कर्म जस्तै हो । अरुले मिलाएको बिस्तरा मन पर्दैन । त्यसैले उनी उठ्नेबित्तिकै ओछ्यान मिलाउँछन् । ‘अरुले मिलाई दिएको मन पर्दैन । फेरी बिस्तरा मिलाउने काममा त म वल्र्ड च्याम्पीयन नै हुँ’ उनले हाँस्दै भने ।

मर्निङ् वाकमा जानुअघि भुवनलाई उठाउँछन् । र उनी, निस्कछन् । भुवन घरको स–साना काम तर्फ लाग्छिन् । उनी मर्निङ् वाकमा फर्केपछि भुवन मर्निङ् वाकमा जान्छिन् । उनीहरूको आलोपालोको अभ्यास सकिएपछि बिहानको खाना सँगै बसेर खान्छन् । त्यसपछि सुरु हुन्छ दिनभरको दैनिकी ।

राजधानीको गोपाल नारायण चोकस्थित चन्द निवास भित्रको सामान्य दैनिकी हो, यो । उनी अर्थात माइकल चन्द र भुवन चन्दको समयसँगै फेरिएको दैनिकी ।

नेपाली चलचित्र इतिहासकी प्रथम नायिका भुवन चन्द(थापा) र रेडियो नेपालका वरिष्ठ अंग्रेजी समाचार सम्पादक, प्रसारक तथा गोप्य ईन्स्टीच्युटका निर्देशक माइकल (हरिश)चन्द वैवाहिक बन्धनमा बाँधिएको ४१ वर्ष भयो । व्यवसायिक कामदेखि घर सम्हाल्ने काममा एक–अर्कोलाई सहयोग गर्दै चार दशक पार गरेको यो जोडीको जीवन यात्रा निकै रोचक छ ।

भुवनले वि.स.२०१० सालदेखि रंगमञ्चबाट अभिनय यात्रा सुरु गरेकी थिइन् । यतिबेला उनी ४ वर्षकी मात्रै थिइन् । अभिनयको ६४ वर्षे यात्रा पश्चात पनि रोकिएको छैन । भुवनले वि.स.२०२१ सालमा निर्मित नेपालको पहिलो चलचित्र ‘आमा’ मा प्रथम नेपाली नायिकाको रुपमा भूमिका निर्वाह गरिन् । हिजो आज भोली, दुई थोपा आँसु, कोसेली, प्रतिक्षा, प्रेम प्रतिज्ञा, जीवन साथी, देउराली, नाम के हो, दुलाहा राजा दुलही रानी, मन मन्दिर, सीमा रेखा, महामाया, नेपाली बाबु, तीन घुम्ती प्रेमगीत—२ लगायत दुई दर्जन फिल्ममा अभिनय गरिसकेकी छन् । यसका साथै भुवनले रंगमञ्चमा एक दर्जन बढी नाटकमा समेत अभिनय गरेकी छन् ।

अहिले पनि अभिनयमै व्यस्त भुवनको चार दशक बढी नेपाली सिनेमा क्षेत्रको व्यवसायिक यात्रालाई निरन्तरता दिनुमा श्रीमान माइकलको ठुलो साथ र सहयोग रहेको भुवन बताउँछिन् ।

‘हरेक सफल पुरुषको पछाडि महिलाको हात रहन्छ भने जस्तै हरेक सफल महिलाको पछाडी पुरुषको हात हुदोरहेछ । श्रीमानको साथले म यहाँ पुगेँ’–भुवन भन्छिन् ।

सुदूरपश्चिमको बैतडीबाट चार दशक पहिला माइकल काठमाडौं छिरेका थिए । भुवन पनि कलाकारिता क्षेत्रमा आफ्नो परिचय स्थापित गर्न काठमाडौमै संघर्षरत थिइन् । दुवै जनाको पहिलो भेट राष्ट्रिय नाच घरमा भयो । माइकल त्यहाँ अंग्रेजी उद्घोषक थिए, भने भुवन त्यही जाँगीरे ।

भुवनको हिडाइ माइकललाई धेरै मन पथ्र्यो । भुवनको हिडाईले असाध्यै प्रभावित भइसकेका माइकल भुवनप्रति आकर्षित हुन थाले । यद्यपि फिल्मी पर्दामा स्थापित हुँदै गरेकी भुवनसँग नाता जोड्न सकिएला भन्ने कल्पना समेत गरेका थिइन् माइकलले । भुवनलाई उनले पहिलो पटक २०२१ सालमा निर्मित ‘आमा’ फिल्मको पर्दामा देखेका थिए ।

‘भुवनको हिडाइले मलाई निकै प्रभावित ग¥यो । त्यसमाथि उनी निकै सुन्दर थिइन्’ माइकलले भने ‘मलाई उनीसँग बिहे होला भन्ने कल्पना समेत थिएन ।’

कल्पना नगरेको कुरा बिपना बनिदियो माइकलको जीवनमा । उनले भुवनलाई प्रेममा पार्न सफल भए । दुई जनाको चार वर्षको प्रेम सम्बन्ध वि.स २०३३ मंसिरमा वैवाहिक सम्बन्धमा जोडियोे । त्यसबेला दुवै जना २४ वर्ष थिए ।

‘म विवाह नगर्ने भनेर बसेकी केटी । किनकी मलाई घरको जिम्मेवारी निर्वाह गर्र्नुथियो । तर, उहाँसँगको भेटले सोच परिवर्तन भयो’ आफ्नो प्रेम प्रसंंगबारे भुनवले बताइन् ।

त्यसबेला एकअर्कोसँग प्रपोज गर्ने, भेट्ने, डिनर जाने जमाना थिएन । माइकलले चार वर्षपछि बिहे गर्ने प्रस्तावलाई भुवनले मानिन् । यही सहमति नै त्यो जोडीको अन्तिम सम्झौता बन्यो । भुवनलाई माइकलले आफू बस्ने कोठामै भित्र्याए ।

‘उहाँले मलाई आफू बस्ने डेरामै भित्राउनु भो । अहिले पनि त्यो घर देख्दा मलाई त्यही दिनको सम्झना आउँछ’ भुवनले दुलही बनेर माइकलको डेरामा भित्रिएको क्षण सम्झिइन् ।

बिहे गरेको भोली पल्ट नै उनीहरू छुट्टिनुप¥यो । त्यसपछि ३ महिनापछि मात्र उनीहरूको भेट भयो । ‘बिहे गरेको भोली पल्ट भुवन साँस्कृतिक कार्यक्रमका लागि रसिया गईन् । म पर्सी पल्ट जर्मन गए । त्यसपछि बिहे गरेकोे ३ महिनापछि मात्रै हाम्रो भेट भयो । हाम्रो जस्तो विवाह कसैको नहोस्’ माइकलले भने । बिहेपछि त्यो जोडीको भेट जर्मनीमा भएको थियो ।

भुवनले विवाहपछि काम, दाम, नाम, सफलता सबै कमाइन् । ती सबै चिजभन्दा पनि ठुलो कुरा असल जीवन साथी पाएकोमा भुवनले खुसी व्यक्त गरिन् । प्राय उतिबेलाका महिलाले बिहेपछि एउटा भूमिकालाई मात्र निरन्तरता दिनुपर्ने बाध्यता हुन्थ्यो । बिहेपछिको उनीहरूको जीवन घरभित्रै बित्थ्यो । तर आफूनो पारिवारिक र व्यवसायिक दुवै भूमिकामा निरन्तरमा साथ दिने श्रीमान पाएको भन्दै आफूलाई भाग्यमानी ठान्छिन् भुवन । ‘उहाँको साथ सहयोग नपाएको भए अहिले म यो अवस्थामा हुने थिइनँ । उहाँ जस्तो श्रीमान पाउँदा आफूलाई भाग्यमानी ठान्छु’ भुवनले भनिन् ।

माइकल र भुवनका तीन सन्तान छन् । उनीहरूलाई हुर्काउँदाको अनुभव भुवनसँग भन्दा माइकलसँग धेरै छ । ‘म त्यतीबेला रेडियो नेपालमा बरिष्ठ अंग्रेजी समाचार सम्पादक तथा प्रसारक तथा गोथ्य ईन्स्टीच्युटका निर्देशक थिए । दुवैतिरको काम भ्याएर बाँकी समय घर र छोरीहरूलाई दिन्थे’ माइकलले भने ।

श्रीमतीले घरधन्दा गर्दिनन् भन्दा अझै पनि जिब्रो टोक्ने नेपाली समाजमा माइकल भने ४१ वर्ष अघिदेखि घरव्यवहार चलाउँदै आएका छन् । उनलाई आफूले गर्दै आएको कामप्रति कुनै पछुतो वा ग्लानी छैन् । बरु जीवन साथीको व्यवसायिक र पारिवारिक जीवनको असल मित्र बन्न सकेकोमा गर्व छ । उनी भुवनको अनुपस्थितिमा एक गृहिणीले गर्नुपर्ने सम्पूर्ण काम र भूमिका जिम्मेवारीका साथ निर्वाह गर्ने गर्छन् । माइकल भन्छन् ‘उनको अनुपस्थितीमा मैले हाउस फादर, मदर र हाउस वाईफको भूमिका निर्वाह गर्छु’ ।

विभिन्न कार्यक्रममा र फिल्म सुटिङका लागि भुवनले महिनौं घर बाहिर बस्नुपर्ने हुन्छ । त्यसबेला माइकलले नै घर सम्हाल्छन् । ‘उसको कामलाई मैले राम्रोसँग बुझेको छु । उसलाई कामको सिलसिलामा बाहिर जानुपर्छ । ऊ नभएको बेलामा सम्पूर्ण घरको व्यवस्थापन मेरै काँधमा हुन्थ्यो’ माइकल भन्छन् ‘छोरीहरूलाई खुवाउने, उनीहरूको दिसा–पिसाब सोर्ने, घरको पोछा लगाउनेदेखि सबै काम म नै गर्थे’ । आफूले आफ्नै सन्तान, श्रीमती र घरप्रतिको जिम्मेवारी मात्रै निर्वाह गरेको भन्दै यस्तो काम गर्नुलाई ठूलै विषय ठानेनन् र मानेनन् पनि ।

गृह व्यवस्थापनको जिम्मेवारी माइकलले लिएर पनि गृहमन्त्री र अर्थमन्त्रीको टाइटल दुवैको हो भन्छन्, माइकल । ‘हामी दुवै चन्द निवासको गृहमन्त्री र अर्थमन्त्री हो’ (लामो हाँसो हाँस्दै) चन्द दम्पतीले भने ।

४० वर्ष अगाडी कुचो समातेर घर बढार्न थाल्दा छिमेकीहरूले झ्यालबाट हेरेको स्मरण गरे माइकलले । श्रीमतीले गर्ने काम आफूले गरेको देखेर छिमेकीहरू तिनछक पर्ने गरेको उनको अनुभव छ ।

‘मैले कुचो लगाउदा छिमेकीहरूले झ्यालबाट लुकी–लुकी हेर्थे । ‘माइकल दाइले जागिर पनि गर्ने, पैसा पनि कमाउने घरको काम पनि गर्ने तपाईहरू नगर्ने’ भन्दै टोलका महिलाहरूले आफ्ना श्रीमानलाई कुचो लगाउन लगाए । पहिला मैले गर्दा घुरेर – लुकेर हेर्ने, पछि आफै गर्नथाले’ माइकलले भने ।

माइकल र भुवनको जोडी ढुकुरको जस्तो भएपनि उनीहरूबिच एकअर्काको मन नपर्ने बानी पनि छन् । माइकल भन्छन् ‘उनलाई सबै झ्याल खुल्ला गरे सुत्नुपर्ने । मलाई भने बन्द गर्नुपर्ने । अर्को कुरा मलाई भान्सा चिटिक्क परेको चाहिन्छ तर, भुवन सफा भए पुग्यो भन्छिन् । यही कुरामा भने हाम्रो कुरा मिल्दैन’ दुवै जनाको लामो हाँसो……….

माइकलको पनि नेपाली समाजमा छुट्टै पहिचान छ । तर, पनि नेपाली चलचित्र क्षेत्र र आम नेपालीले उनलाई भुवन चन्दको नामबाट चिन्छन् । ‘नेपालकी प्रथम नायिकाको श्रीमानको रुपमा चिनिदा म आफूलाई गौरवान्वित ठान्छ’ उनी भन्छन् ।

वैवाहिक जीवनलाई सफल बनाउन जे कुरा गर्दा पनि एकअर्काको सरसल्लाहमा गर्नुपर्ने भुवन बताउँछिन् । ‘वैवाहिक जीवन भनेको एक–अर्कोप्रतिको विश्वास, आस्था, आदर र भरोसा हो’ भुवन भन्छिन् ।

सबभन्दा महत्वपूर्ण कुरा आर्थिक कारोबारको पारदर्शी हुँदा वैवाहिक जीवन सफल हुने भुवनको विश्वास छ ।

कुन पेसामा कार्यरत महिलासँग विवाह गर्दैछु भन्ने कुरा हरेक पुरुषले थाहा पाउनुपर्ने माइकल बताउँछन् । ‘आफ्नो जीवन साथी कुन पेसामा छ । त्यो हरेक पुरुषले बुझ्नुपर्छ । पछि उसलाई तिमीले यो पेसामा लाग्नुहुँदैन भन्ने अधिकार त्योे श्रीमानलाई हुँदैन र एक–अर्काको कामलाई सम्मानका साथ विश्वासमा बढाउन सके वैवाहिक जीवन सुखी र सफल हुन्छ’ माइकल भन्छन् ।

प्रस्तुतीः खेमा बस्नेत 

    Comment Here!

Related NEWS
मुख्य खबर

अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्ने प्रेमीको हत्या

दुई वर्षको सम्बन्धमा राजुले दुई जनाबिचको शारीरिक सम्बन्धको भिडियो बनाएर धर्मालाई ‘ब्ल्याकमेल’ गर्दै आएका थिए

मेलुङमा बालमैत्री धारा

–सर्मिला बुढाथोकी– बालमैत्री धारा नहुँदा विद्यालयका बालबालिकाहरू विद्यालय समयमा पिउने पानीबाट बञ्चित हुने र सार्वजनिक स्थानमा

सञ्चारकर्मी रुपा कार्कीको निधन

–महिला खबर– रेडियो बाराहीको स्थापना कालदेखि पाँच वर्षसम्म ‘साँहिली आमा’ नामक कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

जन्म र कर्म दिने आमाको नामका पुरस्कार वितरण

–महिला खबर– दोलखा । पत्रकार चिरञ्जीवी मास्केले आफूलाई जन्म दिने र कर्मदिने आमाहरूको नाममा स्थापना

अागलागिबाट महिलाको मृत्यु

-महिला खबर- वीरगंज महानगरपालिका–१४ श्रीपुर बस्ने ८० वर्षीया हकिमन खातुनको आगोलागिमा परी मृत्यु भएको छ

Read more
ताजा अपडेट
%d bloggers like this: