जसले त्यागे छोराको ‘मोह’

प्रकाशित मिति :2017-11-12 14:30:16

-गीता थापा-

सुर्खेत । वीरेन्द्रनगर–३ की जगतमाया शर्माका दुई छोरी छन् । तर उनलाई छोराको मोह भने छैन । जेठी छोरी जन्मिदा सासुससुराले छोरी जन्माएको भन्दै जगतमायालाई राम्रोसँग खानासमेत दिएनन् । ‘सुरुमा त घरकाले छोरीको अनुहार नै हेरेनन्, पेटभरी खान पनि दिएनन्’ उनले विगत सम्झिइन् । दोस्रोपटक गर्भवती भइन् । घरपरिवार र श्रीमान्लाई लागेको थियो, अब त छोरा नै जन्मिन्छ । तर जगतमायाको दोस्रो सन्तान पनि छोरी नै जन्मिइन् । परिवारले छोरोको चाहना राखेको भए पनि यो जोडीले छोरा मोह त्याग्यो । उनीहरू अब अरु सन्तान नजन्माउने निर्णयमा पुगेका छन् ।

वीरेन्द्रनगर–६ की मीना पौडेलको एउटा मात्र छोरी छन् । छोरी तीन वर्षको हुँदा नै उनको जोडीले अरु सन्तान नजन्माउने सहमति गर्यो । मीनाका श्रीमान् पूर्णप्रसाद पौडेलले स्थायी बन्ध्याकरण गरे । यो दम्पत्तीले छोरोको मोह राखेन । बरु आफ्नो क्षमताले भ्याएसम्म छोरीको भविस्य निर्माणमा जुटेका छन् । मीना भन्छिन्, ‘हाम्रो लागि यही छोरी नै सबै थोक हो । छोरा भने पनि छोरी भने पनि हाम्रो लागि यही हो ।’ आफ्नो जोडीलाई छोरा वा छोरी भन्दा पनि सन्तान चाहिएकोले छोरी जन्मिदा छोराको इच्छा नजागेको उनले बताइन् । ‘छोरा जन्मेको भए पनि हामी छोरीका लागि अर्को सन्तान जन्माउदैनथ्यौं’ उनले सन्तान प्रतिको आफ्नो धारणा बताइन् ।

अहिलेको महंगीको जमानामा एउटै सन्तानको लालनपालनमा समेत समस्या भइरहेको अवस्थामा छोराकै आसमा लागि अर्को सन्तान जन्माउने चाहना नरहेको पनि मीनाले बताइन् । धेरै दम्पतीहरूले पहिलो सन्तान छोरी जन्मिदा छोराकै लागि धेरै गर्भ बोक्ने र गर्भमा छोरी रहेको थाहा पाएपछि गर्भपतन गर्ने गरेको अनुभव उनले सुनाइन् । ‘छोरी हो भन्ने थाहा पाएपछि गर्भमै मार्नु त साह्रै पाप हो’ मीनाले भनिन्, ‘देवी मानेर छोरीलाई पूजा गर्ने हाम्रो समाजमा छोरी भन्ने थाहा पाउँदा गर्भमै हत्या गरिन्छ । यो राम्रो होइन ।’

जगतमाया र मीना जस्तै पञ्चपुरी नगरपालिकाकी देवुमाया चपाईका पनि दुई छोरी छन् । देवुमायाको पहिलो सन्तानको रूपमा छोरी विनु घिमिरे जन्मिन् । पहिलो सन्तान छोरी जन्मदा घरपरिवारको आस दोस्रो सन्तानमा थियो । देवुमायाबाट दोस्रो सन्तानको रूपमा पनि छोरी नै जन्मिइन् । त्यसपछि उनले तेस्रो सन्तान छोरा जन्माउनु पर्ने दबाब थेगिन् । तर उनले हिक्मत गरेर परिवारलाई बुझाउने साहस बटुलिन् । छोरा र छोरीप्रतिको विभेद हटाउन आग्रह गरिन् । देवुमायाले अब छोराको आसमा तेस्रो सन्तान जन्माउदिनन् भन्ने बुझेपछि परिवारले पनि दबाब दिन छोड्यो । ‘हामी खुसी छौँ । सन्तुष्ट छौँ । समाजले जेसुकै भनोस् । छोराछोरी जे भए पनि, मेरो लागि सबै समान हुन्’ उनले भनिन्, ‘अब छोरा मोह छैन ।’

छोरा मोह त्याग्ने सम्मानित

छोरा मोहका कारण गर्भमा रहेको लिङ्ग पहिचान गरेर भ्रुण हत्या गर्ने क्रम रोकिएको छैन । शिक्षित र सहरभित्रै बस्नेहरूले नै गर्भमा छोरी भए गर्भपतन गरिरहेका छन् । तर यही समाजमा यस्ता जोडीहरू पनि छन्, जसले छोरा नै चाहिने मोह त्यागेर नमूना काम गरेका छन् । छोरी मात्र जन्माएर स्थायी रूपमा परिवार नियोजन गरेका जोडीहरूलाई सम्मान नै गरिएको छ ।

दुई वटासम्म छोरीमात्र जन्मिए पनि छोरा मोह त्यागेर परियार नियोजन गरेका र अब सन्तान नजन्माउने योजनामा रहेका जोडीहरूलाई केहि दिनअघि औपचारिक कार्यक्रमको आयोजना गरेरै वीरेन्द्रनगरमा सम्मान गरियो ।

त्यो अवसरमा छोरा नै चाहिने मोह त्यागेर छोरी मात्र जन्माएर परिवार नियोजन गरेका १८ जोडीलाई सम्मान गरिएको हो । छोरी मात्र जन्माएर खुसी र सन्तुष्ट भएका ती जोडीलाई बाल मजदुर सरोकार केन्द्र, सिविन नेपाल र नागरिक समाज संस्थाहरूको सञ्जाल सिएसओ नेर्टवक सुर्खेतले सम्मान गरे । सम्मानित हुँदा जोडीहरू दंग परे ।

छोरी भएकै कारण भेदभाव गर्ने र लिङ्ग पहिचान गरी छोरी भएमा गर्भपतन गराउने क्रम बढीरहँदा यी जोडीले सामाजिक सोच परिवर्तनका लागि निकै ठूलो योगदान दिएको भन्दै सबैतिर यो सन्देश फैलाउन सम्मान गरिएको आयोजक संस्था सिविन नेपाल सुर्खेतका बाल संरक्षण अधिकृत संगीता वलीले बताइन् । दुई छोरी मात्र जन्माएर खुशी र सन्तुष्ट भएका परिवारलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको उनले बताइन् । यो सम्मान समाजका अन्य जोडीका लागि पनि गतिलो प्रेरणा बन्ने विश्वास उनको छ ।

गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना विक लिंग पहिचान गरि भ्रुण हत्या गर्नेलाई कारवाहीको दायरामा ल्याउने कामको सुरुवात अब स्थानीय सरकारले गर्ने बताउँछिन् । उनले नगरका हरेक योजनामा बालिका संरक्षण योजनाहरू समावेश गरिने आश्वासन दिइन् ।

वीरेन्द्रनगर कार्यपालिकाका प्रशासकिय अधिकृत दिपेन सुवेदी नगरपालिकाले छोरीको संख्या बढाउने अभियान थालेको बताउँछन् । नगरपालिकाले ‘छोरी बचाऔं’ अभियान अन्तरगत ‘छोरी बचत खाता’ अभियान थालनी गरेको पनि जानकारी दिए ।

किन हुन्छ छोराको चाहना ?

नेपाली समाजले छोराप्रतिको बलियो सामाजिक तथा परम्परागत दृष्टिकोण बोकेको छ । हिन्दु संस्कारका बाबुआमाले छोरालेनै आफ्नो लाशमा दागबत्ती देओस् र सम्पती पनि उसैले खाओस् भन्ने चाहना अनुरुप छोराको आसा राख्छन् । छोरा नहुने दम्पतीलाई अपूतो (निसन्तान) मान्ने रुढिवादी मान्यता छ । यस्तो गलत सोचबाट ग्रसित मानसिकताले नै छोरीलाई सन्तानको रुपमा स्वीकार गर्न सक्दैनन् ।

घट्दैछन् छोरी

२०६८ सालको जनगणनाअनुसार महिलाको जनसंख्या ५१ प्रतिशतभन्दा बढी भए पनि १० वर्षमुनिका बालिकाको संख्या बालकको भन्दा २.३ प्रतिशत कम छ । सहरी क्षेत्रमा १ देखि १० वर्ष उमेर समूहका बालिकाको संख्या बालकभन्दा ५.७ प्रतिशत कम छ । ग्रामीण क्षेत्रमा भने बालिकाको संख्या बालकको तुलनामा १.७९ कम देखिएको छ । तथ्यांकका आधारमा एक दशकमा जन्मने शिशुमध्ये बालिकाको संख्या घट्दो छ ।

विश्वको लैंगिक असमानता सूचकांकमा नेपाल ११० औं स्थानमा छ । दक्षिण एसियाली पुरुषप्रधान समाजको एउटा मुख्य अंश नेपाली समाज भएको छ ।

पाटन अस्पतालमा भएको एक अध्ययनले पुरुष र महिलाको जन्म अनुपातमा धेरै भिन्नता रहेको देखाएको छ । अध्ययन सन् २००३ देखि २००७ सम्म गरिएको थियो । अध्ययनको पाँच वर्षे अवधिमा अस्पतालमा ३१ हजार दुई सय ८८ जिवित जन्म भएकोमा १७ हजार चार सय ३९ पुरुष र १३ हजार आठ सय ४९ महिला शिशुको जन्म भएको थियो । हरेक वर्ष पाटन अस्पतालमा मात्र सात हजारभन्दा बढी शिशुको जन्म हुन्छ । अध्ययनले प्रति १०० महिला शिशुको अनुपातमा ११४ पुरुष देखाएको छ । दोस्रो पटकको प्रसुतिमा भने यो दर ११८ रहेको छ । यो अध्ययनले नेपालमा पनि पुरुषको संख्या बढ्दै गएको पुष्टि गर्छ ।

हाउसहोल्ड सर्भे २००७ ले छोराको चाहना राख्नेको संख्या अत्यधिक रहेको देखाएको थियो । यो सर्भेमा ९८ दशमलव ८ प्रतिशत परिवारले छोराको चाहना राख्ने गरेको उल्लेख छ । सर्भेले ७९ दशमलव ५ प्रतिशतले बुढ्यौलीको सुरक्षाका लागि, ६७ प्रतिशतले आर्थिक सहयोगका लागि, ६० दशमलव १ प्रतिशतलले वंश चलाउन छोरा चाहेको देखाएको छ । यसैगरी, ५ दशमलव १ प्रतिशतलले अन्तिम संस्कारका लागि, २३ दशमलव ६ प्रतिशतले सम्पत्तिको हकदारका लागि, २१ दशमलव ५ प्रतिशतलले शक्तिका लागि र ११ दशमलव २ प्रतिशतले धार्मिक कारणले छोराको चाहना राखेका छन् ।

छोरी हत्या विश्वकै टाउको दुखाइ

उल्लेखित परिदृश्यले नेपालमा छोरी भु्रण हत्याको बढ्दो प्रवृत्तिको प्रतिनिधित्व गरे पनि यो समस्या पछिल्ला दिनमा विश्वकै लागि टाउको दुखाइको विषय बनेको छ । नेपालको सन्दर्भमा यकिन तथ्यांक नभए पनि यूएनएफपीएका अनुसार हरेक वर्ष विश्वभरि करिब १६ करोड ३० लाख छोरी बेपत्ता पारिन्छन् । तिनीहरूमध्ये कोही सडकमा, कोही नालामा त कोही फोहोरको डङ्गुरमा भेटिन्छन् । धेरै छोरी त गर्भबाटै हराउँछ ।

चीनमा बिहे गर्ने केटी नपाएर भियतनाम, म्यानमार, उत्तर कोरिया लगायतका देशबाट जबरजस्ती बिहेका लागि केटी बेचबिखन हुन्छन् । दक्षिण कोरियामा पुरुषको संख्या अधिक र जन्मदर घट्दै गएका कारण स्वदेशी केटी नपाएर विदेशी केटीसँग बिहे गर्नेको संख्या बढेर गएको छ । लिङ्ग अनुपातमा विषम फरकका कारण लैङ्गिक माइग्रेसन बढ्दै छ । जसको ज्वलन्त उदाहरण हो, खाडी मुलुकमा ६० देखि ८० प्रतिशत विदेशी पुरुष कामदार छन् ।

छोरा पाएर परिवारले सुरक्षित भएको महसुस गरे पनि समाज भने सुरक्षित रहन सक्दैन । पुरुष बढी हुने ठाउँमा महिला हिंसा, अपराध, बलात्कार र वेश्यावृत्ति बढ्ने विभिन्न अध्ययनले देखाएका छन् । यसबाहेक छोरीको बिहेका लागि मोलतोल हुने हुँदा दुलाहा पाउन पनि मुस्किल पर्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

बालअधिकार हननका घटना बढ्दै, बालिका बढी पीडित

–सन्दिप विक– नेपालले बालअधिकार सम्बन्धी महासन्धि र यसका दुईवटा ऐच्छिक सन्धि पत्रहरूमा निशर्त अनुमोदन गरेर बालअधिकार

विद्यालयमा छात्रामाथि कस्तो दुव्र्यवहार हुन्छ ?

–महिला खबर– शिक्षा विभागले बनाएको कार्यविधि अनुसार प्रत्येक विद्यालयले गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने, उजुरी पेटिका राख्नुपर्ने

नवलपरासीका छोरीहरुलाई यसरी ढाडस दिइन्, रेखा थापाले (भिडियोसहित)

–सीता शर्मा– ‘तपाइहरु आफ्नो नामबाट बाच्नुस् । आफ्नो पहिचानका साथ बाच्नुस्’ कार्यक्रममा सहभागी किशोरीहरुलाई ढाडस दिदै

बालिका बलात्कार गरि हत्या गर्नेलाई जन्म कैद

–महिला खबर– ललितपुर । बालिकालाई बलात्कार गरि हत्या गर्ने दुई जनालाई जिल्ला अदालत बैतडीले जन्मकैदको

जवरजस्ती विवाह गर्न खोज्ने युवा तीन वर्ष पछि पक्राउ

–महिला खबर– अपहरण तथा शरीर बन्धक घटनामा संलग्न खत्री निर्दोष रहेको र मुद्दा दर्ता गराउन नहुने

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: