महिला मतदाताको अवस्था

प्रकाशित मिति :2017-11-27 11:38:56

-गौरी तमु-

 मंसिरको कान्तिपुर दैनिकमा बझाङबाट वसन्तप्रताप सिंहको ‘आफैं भोट हाल्न पाउँदैनन् महिला’ समाचारमा आँखा पर्‍यो । समाचारमा लेखिएको थियो, ‘जयपृथ्वी नगरपालिका–१ कैलाशकी सिद्धादेवी सिंहलाई सामान्य लेखपढ गर्न आउँछ, उनले कक्षा ६ सम्म अध्ययन पनि गरेकी छन् । उनी मोबाइल चलाउँछिन्, मतपत्रमा लेखिएको अक्षर पनि पढ्न सक्छिन् । चिह्न छुट्याउन सक्छिन्, तर विडम्बना उनले आफ्नै हातले अहिलेसम्म मतपत्रमा छाप भने लगाउन पाएकी छैनन् । हुम्लाको साविक लाली गाविसबाट २०५३ मा विवाह गरी बझाङ आएकी सिद्धाले अहिलेसम्म भएको ५ वटा चुनावमा आफै मतदान गर्न पाइनन् । भोट हाल्न घरमै बोलाउन आउँछन्, लाइन लगाउँछन्, अनि जब भोट हाल्ने बेला हुन्छ, तपाई बिगार्नु हुन्छ, हामी हालिदिन्छौं भनेर मतपत्र खोस्छन् । गाउँकै जान्ने–सुन्नेले त्यसो भनेपछि कसरी नाइँ भन्नु ? उनीहरूले मत हाल्छन्, हामी नङमा रङमात्रै लगाएर फर्किन्छौं । उनले आफूमात्रै होइन, गाउँका अधिकांश महिलाको मत दलका एजेन्ट, कार्यकर्ता, आफन्त र छिमेकीहरूले हालिदिने गरेको सुनाइन् ।’ यो समाचार पढ्दै गर्दा दुई वर्ष र केही महिना अघिका दुइटा प्रसङ्ग फ्ल्यासब्याक बनेर आए ।

 दुई वर्षअघि फागुनमा म मधेसतिर आफन्तको विवाहमा गएकी थिएँ । संयोगले त्यो वर्ष त्यस गाउँमा मंसिरदेखि फागुनसम्म ३ जना नयाँ बुहारी भित्रिएका रहेछन् । विवाहकै माहोलबीच कुराकानीकै सन्दर्भमा केही बुहारी गर्भवती भएको प्रसङ्गलाई जोड्दै एकजनाले भने, ‘अब दुई/तीन वर्षभित्र यो गाउँको बोर्डिङको व्यवसाय राम्रै हुने भयो ।’ अर्कोले थप्यो, ‘बोर्डिङ मात्रै होइन, फलानो पार्टीमा पनि ३ जना भोटर बढे ।’ त्यतिबेला ती कुरालाई मैले सामान्य रूपमा नै लिएँ, किनकि त्यतिबेला चुनावी माहोल थिएन । त्यसपछिको अर्को घटना हो, सँगै पढेकी र अहिले शिक्षण पेसामा आबद्ध तनहुँ जिल्लाकी साथीले केही महिनाअघि फेसबुक च्याटमा भन्दै थिइन्, ‘के गर्ने साथी, जति पढेलेखे पनि हामी महिलाको त राजनीतिक आस्था कतापट्टि हो ? के हो भन्ने निश्चित नहुने रहेछ । विवाहपूर्व माइतीमा बाबा र दाइहरूले जुन पार्टीमा भने त्यही पार्टीलाई भोट हालियो । विवाहपछि अहिले घरतिरबाटै भोट दिनुपर्ने भएकाले उहाँ (श्रीमान) सँगै गाउँमा नाम दर्ता गर्न पो आएकी छु ।’
विवाहपूर्व र विवाहपश्चात ठ्याक्कै विपरीत आस्थाको राजनीतिक परिवारमा होमिएकी उनलाई मैले सोधेंँ, ‘त्यसोभए तिमीले अबको भोट कुन पार्टीलाई दिने त ?’ उनले भनिन्, ‘यता घरपट्टि नजिकैका आफन्त पनि उम्मेदवार छन्, तर उनी मेरो आस्था विपरीतको पार्टीका मान्छे हुन् । उहाँले (श्रीमान) पनि बेलाबेला अब त तिमीले यही पार्टीलाई भोट दिने हो, केही आर्थिक सहयोग पनि गर्नुपर्छ भन्नुहुन्छ । बारम्बार यहीँ कुरा सम्झाउँदा एकदिन मैले रिसाएर मेरो इच्छा हो, जता दिए पनि दिन्छु भन्दा झन्डै घरझगडा नै परेको । त्यसैले अब जता दिए पनि मेरो आस्थाको पार्टीलाई भोट हाल्छु । तर बाहिर खुलेर यो पार्टीलाई भोट दिएँ चाहिँ भन्दिन । किनकि म घरमा झगडा र अशान्ति चाहन्न ।’

यहाँ माथि उल्लेखित दुवै प्रसङ्गलाई सम्झिरहँदा नेपालमा दुई प्रकारका त्यस्ता लाखौं सिद्धादेवीहरू छन् । एकथरी सिद्धादेवीहरू जो निरक्षर छन्, केही बुझ्दैनन्, पति, पिता र छोराले जहाँ भन्यो, जसलाई भन्यो त्यहीँ भोट हाल्छन् । अर्काथरी सिद्धादेवीहरू जो साक्षर छन्, सबै बुझ्छन्, तर घरमा शान्ति होस्, झगडा नहोस् भनेर खुलेर आफ्नो आस्थाको पार्टीमा भोट हालेको बताउन चाहँदैनन् । पछिल्लो समय स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पार्टी एकीकरणदेखि कार्यकर्ताद्वारा पुरानो पार्टी त्याग र नयाँ पार्टी प्रवेशको जुन लहर चल्यो, यसमा अधिकांश पुरुष कार्यकर्ताको सहभागिताले पनि यो पुष्टि गर्छ कि नेपालमा धेरै महिलाले आफ्नै निर्णयको पार्टी र आस्था भएको पार्टी होइन, उहिलेदेखि आजसम्म पिता, पतिदेखि नातिसम्मको पार्टीलाई ल्याप्चे लाए र लाइरहेका छन् । जुन निकै सोचनीय र गम्भीर विषय हो । यद्यपिीइतिहासलाई फर्केर हेर्ने हो भने नालापानीको लडाइँदेखि प्रजातन्त्र प्राप्ति र २०६३ को दोस्रो जनआन्दोलनमा भएको महिलाको सक्रियता र १९७४ देखिको योगमाया न्यौपाने र २०१५ सालदेखिको द्धारिकादेवी ठकुरानीजस्ता महिलाको योगदानलाई नकार्न सकिँदैन । त्यो समयदेखि यो समयसम्म आइपुग्दा नेपाली महिलाले धेरै अधिकार पाएका छन्, महिलाहरू पनि पुरुषसरह हरेक क्षेत्रमा अगाडि आइरहेका छन् । देशमा राष्ट्रपतिदेखि सभामुख र प्रधानन्यायाधीशजस्ता उच्च ओहदामा महिलाले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरिसकेका छन् । तर बाहिरी रूपमा जसरी जुन सुन्दर आवरण महिलाका पक्षमा देखिन्छन्, अझै पनि महिला मतदाताको भित्री वास्तविकता र पीडा अर्कै छ ।

साँच्चै नेपालका महिलाहरूले आफैले छानेको पार्टी र उम्मेदवारलाई विना रोकटोक, खुलस्त रूपमा भोट हाल्न पाउने समय कहिले आउला ? के महिलाहरूले बुथमा गएर छाप लगाएका सबै भोट उनकै स्वेच्छाको भोट हो त ? प्रश्न गम्भीर छ । यद्यपि निर्वाचनमा महिलाहरूले आफूलाई एक कदम अगाडि उभ्याउने सुनौलो समय आएको छ । विवेकपूर्ण र स्वच्छ किसिमले आफूलाई मनपरेको उम्मेदवारलाई भोट हाल्न पाउनु सम्पूर्ण महिला मतदाताको दायित्व र अधिकार हो ।

साभार : कान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

विद्यालयमा छात्रामाथि कस्तो दुव्र्यवहार हुन्छ ?

–महिला खबर– शिक्षा विभागले बनाएको कार्यविधि अनुसार प्रत्येक विद्यालयले गुनासो सुन्ने अधिकारी तोक्नुपर्ने, उजुरी पेटिका राख्नुपर्ने

नवलपरासीका छोरीहरुलाई यसरी ढाडस दिइन्, रेखा थापाले (भिडियोसहित)

–सीता शर्मा– ‘तपाइहरु आफ्नो नामबाट बाच्नुस् । आफ्नो पहिचानका साथ बाच्नुस्’ कार्यक्रममा सहभागी किशोरीहरुलाई ढाडस दिदै

बालिका बलात्कार गरि हत्या गर्नेलाई जन्म कैद

–महिला खबर– ललितपुर । बालिकालाई बलात्कार गरि हत्या गर्ने दुई जनालाई जिल्ला अदालत बैतडीले जन्मकैदको

जवरजस्ती विवाह गर्न खोज्ने युवा तीन वर्ष पछि पक्राउ

–महिला खबर– अपहरण तथा शरीर बन्धक घटनामा संलग्न खत्री निर्दोष रहेको र मुद्दा दर्ता गराउन नहुने

श्रीमानबाट बलात्कार प्रयास, श्रीमतीबाट कुटपिट

–इन्दिरा भट्टराई– उजुरी पछि डेरा गएर बसेका पीडित, उनका श्रीमान र छोरालाई समेत पीडककी श्रीमती र

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: