‘म श्रीमतीको कपडा धुन्छु’

प्रकाशित मिति :2017-12-15 10:33:08

–सर्मिला बुढाथोकी–

देवी शिवाकोटी दोलखावासीका लागि चर्चित अनुहार हो । उनी लामो समयदेखि मेलमिलापकर्ताका रुपमा परिचित छन् । गाउँघरमा हुने झै–झगडा, वादविवाद मिलाउँन खप्पिस अनि टुटेका मनहरू जोड्न दक्ष मेलमिलापकर्ताको नामले परिचित देवीको आफ्नो घरमा भने कहिले कुनै कुरामा वादविवाद भएन । नत्र देवीलाई यो ठाउँसम्म आईपुग्न कहाँ सहज हुुन्थ्यो र !

‘सायद उहाँको (श्रीमान होमप्रसाद पाठक) को साथ नहुँदो हो त म यो ठाउँमा आउँन सम्भव थिएन’ कुराकानीको सुरुवातमै छेउमै बसेका श्रीमानलाई इंगित गर्दै देवीले भनिन् ।

देवी शिवाकोटी र होमप्रसाद पाठक

एउटै गाउँ दोलखाको कालिञ्चोक गाउँपालिकाको सुनखानीमा जन्मे हुर्केका देवी र होमको विवाह अघि सामान्य चिनजान थियोे । उनीहरूबिचको त्यही सामान्य चिनजान २४ वर्ष अघि अर्थात २०५० सालमा जीवन साथीमा बदलियो ।

मेरो सफलताको सारथी बन्न भगवानले पठाएका होलान, देवीलाई अहिले यस्तै लाग्छ रे । त्यही भएर त आफ्नो सफलताको श्रेय श्रीमान होमलाई दिन्छन् उनी ।

विवाह गर्दा एसएलसीसम्म नगरेकी देवीले दुई सन्तानको आमा भएपछि २०५७ सालमा एसएलसी दिईन् । तर सफलता मिल्न सकेन । तीन पटक एसएलसी दिदा पनि सफल नभएपछि उनी धेरै निरास भइन् । फेरी उमेर पनि पाको । ‘पढाईलाई निरन्तरता दिन उत्साहित गरिरहेँ । चौथो पटक एसएलसी पास गरिन्’ होमले भने ।

‘पाको उमेरमा पढ्न थालेका, त्यसमाथि असफल भएपछि त निक्कै पीडा र निरासा भएकी थिएँ । उहाँको साथ र पढ्नै पर्छ भन्ने आफ्नो इच्छा शक्तिले हरेस खान दिएन र चार पटक लगाएरै भएपनि एसएलसी उत्र्तिण गर्न सके’ देवीले भनिन् ।

२०५१ सालमा उनीहरू चरिकोट आए । होमलाई सामाजिक काममा रुचि थियो । तर परिवारको गुजारा चलाउनको लागि उनले मासिक १५ सयको जागिर सुरु गरे । देवीले एसएलसी पास गरेर ग्रामीण स्वास्थ्य कार्यकर्ताको जागिर सुरु गरेपछि भने उनीहरूको जीवन केहि सहज बन्यो । अनि दुवैलाई सामाजिक काममा लाग्न पनि सजिलो भयो ।

एसएलसीपछि जागिर सुरु गरेपनि देवीले पढाईलाई निरन्तरता दिईन् । होमले पनि देवीलाई थप पढाईको लागि प्रोत्साहन गरिरहे ।

श्रीमानको प्रेरणा र साथकै कारण देवीले चार बर्ष लगाएर १२ कक्षा पनि पास गरिन् । त्यसपछि स्नातक र इपिएममा स्नातकोत्तर सकिन् । अहिले उनी ग्रामीण विकास विषयमा स्नातकोत्तर र कानुनमा स्नातक तहको अध्ययन गर्दैछिन् । पढाईको सिलसिलामा देवी एक-दुई महिनासम्म लगातार घर छोडेर काठमाडौँ बस्दा होमले घर सम्हाल्दै आएका छन् ।

दुवै सामाजिक कार्यकर्ता, देवी मेलमिलाप कर्ता हुन भने होम मानव अधिकारवादी संस्था मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) मा अध्यक्ष छन् । दुवैको धेरै समय घर बाहिरै बित्ने गर्छ ।

देवीले सहजै भनिन्, ‘हामी सबै काम आपसी समझदारी र साझेदारीमा गर्छौ ।’ यो जोडीका छोरा छोरी ठूला भैसके । त्यसैले अहिले छोरा छोरीको खासै चिन्ता छैन् । तर ८० बर्ष नाघेका बुबाको हेरचाह दुवैले मिलेर गर्छन् ।

यसरी सुरु हुन्छ दैनिकीः

देवी र होम दुवै बिहान सबेरै उठ्छन् । प्रायः जसो विहानको चिया र खाना देवीले नै तयार गर्छिन् । अभियान दुवैको एउटै प्रकृतिको भएकोले कार्यक्रमहरू पनि एउटै हुने गरेको छ । त्यसैले कैले कहि दुवैजना ९ बजेभित्रै खाना खाएर सँगै काममा निस्किन्छन् । ‘कैले म खाना तयार गर्छु र खाना खाएर अगाडि नै निस्कन्छु’ देवीले पारिवारीक दैनिकी सुनाईन् ।

सँगै रहेका होमले मुस्कुराउँदै देवीको कुरामा थपे, ‘उनले खाना र नास्ता बनाईरहँदा म हामी दुवैकोे कपडा छ भने धुन्छु । मलाई कपडा धुन रमाईलो लाग्छ ।’

देवकीको परिवार

हाम्रो समाज अहिले पनि परम्परागत सोचमा नै अड्किएको छ । श्रीमतीको कपडा धुदा कसैले देखे वा सुने भने पनि नामर्द र जोईटिंग्रेको संज्ञा पाउँछन्– नेपाली समाजका श्रीमानहरूले । तर श्रीमतीको कपडा धुदा होमलाई भने कत्ती पनि अप्ठेरो वा हिचकिचाहट हुँदैन । किनकी उनी प्रष्ट छन्, श्रीमान–श्रीमती एकै सिक्काका दुई पाटा हुन् । ‘जीवन जिउने क्रममा एक अर्कालाई सहयोग गर्दा अप्ठेरो मान्ने हो भने हाँसी खुसी बाँच्न सकिदैन । र एकले अर्काको सम्मान गरेको पनि ठहरिदैन’ होमले भने ।

यस बारे होमले थप व्यवहारिक जवाफ दिए ‘मलाई उनको कपडा धुदा कुनै अप्ठेरो लाग्दैन । साहेद छिमेकीलाई मैले श्रीमतीको समेत कपडा धुदा मनमा विभिन्न खाले सवाल उठ्दो हो । तर म सामाजिक अभियन्ता भएकोले मुख फोरेर मेरो कामको बारेमा नकारात्मक टिप्पणी गर्ने आँट कसैले गर्दैनन् ।’

पितृसतात्मक सोचले महिलाले घर सम्हाल्ने, सन्तानको हेरचाह गर्ने र पुरुषले बाहिरी काम गर्ने, पैसा कमाउने भन्छ । होमले भने, ‘हाम्रो जीवन भोगाइले पितृसत्तालाई चुनौती नै दियो । मैले घर र सन्तान सम्हाले भने देवीले समाजका वादविवाद र झैझगडा मिलाउन थालिन् ।’
‘उनी सामाजिक क्षेत्रमा बढी खटिन थालेपछि घर सम्हाल्ने जिम्मा मेरै काधँमा आयो । उनलाई मेरो र मलाई उनको साथ नभएको भए त २४ वर्ष पार गर्न कहाँ सहज थियो र ?’ होमले प्रश्न पनि गरे ।

दुवै जनाको एकअर्को प्रतिको साथ, सहयोग र समझादारी हुँदाहुँदै पनि २४ वर्षे वैवाहिक जीवन यात्रामा स–साना ठाकठुक न परेका त कहाँ हुन् र ? तर ति ठाकठुकले उनीहरूको सम्बन्धमा भने झनै मिठास थपिदिएछन् । त्यसो हुँदा एकले अर्कोप्रति मनमा तुस बोक्नुपर्ने कुनै पल नै बाँकी रहेन ।

‘हामीबिच विवाद भने कहिल्यै परेन । मैले चाहेको हरेक काम गर्न उहाँबाट छुट छ । फेरि मैले मेरो परिवार र समाज बुझेकोले त्यहि अनुसार व्यवहार गर्छु । त्यसैले असमझदारी हुनुपर्ने आवश्यकता र अवस्था नै बनेन’ देवीले सुनाइन् ।

एकअर्को प्रतिको विश्वासले नै विवाद र तनावबाट आफूहरूलाई टाढा राखेको होमको अनुभव छ । ‘दिर्घकालीन प्रभाव पर्ने कलह र असमझदारी भएको छैन्’ होमले पनि देवीको कुरामा थपे ।

देवकीका श्रीमान होमप्रसाद पाठक

शंका गर्दिन

घर भन्दा बाहिरको काममा निस्किने महिलाहरुमाथि नानाथरी टिप्पणी गरिन्छ । अनि देवीप्रतिको विश्वास नि ? प्रश्न खस्न नपाउँदै होमले भने, ‘म शंका गर्दिन । उनीप्रति विश्वास छ । शंकाले सम्बन्धमा चिसोपन ल्याउँछ भन्ने बुझेको छु ।’

‘मेरो पहिचान बनाउँन होमजीले साथ दिनुभयो । अहिले हामी दुवैको आ–आफ्नै पहिचान छ’ देवीले भनिन् ।

दुवैको आफ्नै पहिचान भएपनि सामाजिक क्षेत्रमा होमको नाम देवीसँग जोडिएर आउँछ । होम भन्छन् ‘मेरो पहिचान कहिले काँही उनको नामबाट हुन्छ । त्यसबेला म आफूलाई एक भाग्यमानी श्रीमान ठान्छु ।’

दुवैले एक अर्कोलाई सुरुवाती अवस्था देखिनै साथ, सहयोग र विश्वास गरेकाले नै पेसागत र दाम्पत्य जीवनमा सफलता मिलेको उनीहरूको बुझाइ छ । ‘सामाजिक मर्यादामा रहेर एक अर्कालाई आत्मियताका साथ, विश्वास गर्ने हो र सद्भाव राख्ने हो भने दाम्पत्य जीवन सफल हुन्छ’ होमले भने ।

पारिवारिक मेल र सफलताको लागि आपसी विश्वास र सहकार्य महत्वपूर्ण हो भन्छिन् देवी । ‘हाम्रो हरेक कुरामा सहकार्य र विश्वासको वातावरण छ । एकअर्कोको अभियानको सम्मान र काममा सम्मान पनि’ देवीले भनिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

मेलुङमा बालमैत्री धारा

–सर्मिला बुढाथोकी– बालमैत्री धारा नहुँदा विद्यालयका बालबालिकाहरू विद्यालय समयमा पिउने पानीबाट बञ्चित हुने र सार्वजनिक स्थानमा

सञ्चारकर्मी रुपा कार्कीको निधन

–महिला खबर– रेडियो बाराहीको स्थापना कालदेखि पाँच वर्षसम्म ‘साँहिली आमा’ नामक कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

जन्म र कर्म दिने आमाको नामका पुरस्कार वितरण

–महिला खबर– दोलखा । पत्रकार चिरञ्जीवी मास्केले आफूलाई जन्म दिने र कर्मदिने आमाहरूको नाममा स्थापना

अागलागिबाट महिलाको मृत्यु

-महिला खबर- वीरगंज महानगरपालिका–१४ श्रीपुर बस्ने ८० वर्षीया हकिमन खातुनको आगोलागिमा परी मृत्यु भएको छ

६७ वर्षीया वृद्धामाथि कुटपिट

-अप्रिल अधिकारी- मन्थली नगरपालिका ११ गेलुकी ६७ वर्षीया लिलामाया बुढाथोकीलाई खानेपानीका निहँुमा स्थानीयले कुटपिट गरेका छन्

Read more
ताजा अपडेट
%d bloggers like this: