कृष्ण अधिकारी हत्या प्रकरण : मुद्दाको पेसी सरेको सरैै

प्रकाशित मिति :2018-01-10 11:08:00

-रमेशकुमार पौडेल-

चितवन- माओवादी सशस्त्र संघर्षका बेला चितवन रत्ननगरमा मारिएका गोरखा फुजेलका कृष्ण अधिकारीका हत्यारालाई कारबाही माग गरी चितवन जिल्ला अदालतमा दायर मुद्दामा अन्तिम फैसला सुनाउन निकै ढिलासुस्ती भएको छ । मुद्दा दायर भएको पौने चार वर्ष र अन्तिम बहस सकिएको पनि एक वर्षभन्दा बढी भयो तर फैसला हुने भनेर तोकिएको पेसी पटकपटक सरिरहेको छ ।

पेसी परेको दिन सम्बन्धित न्यायाधीश प्रायः बिदामा बस्ने गरेका छन् । यसपटक पनि त्यस्तै भयो । बुधबारलाई सो मुद्दाको पेसी तोकिएको थियो तर मुद्दा हेर्नुपर्ने न्यायाधीश कुलप्रसाद शर्मा केही दिनदेखि बिदामा छन् । अदालतका सूचना अधिकारी केशवप्रसाद पौडेलले मंगलबार जनाएअनुसार न्यायाधीश शर्मा बिदामा भएका कारण बुधबारको पेसीमा सुनुवाइ हुनेछैन ।

‘चुनावसम्बन्धी प्रतिवेदन बुझाउन निर्वाचन आयोग जानुपर्ने भएका कारण उहाँ (शर्मा) बिदामा हुनुहुन्छ । माघ २ गतेसम्म उहाँको बिदा छ । उहाँ नभएपछि अरु न्यायाधीशले यो मुद्दा हेर्नुहुँदैन । त्यसैले पेसी तोकिए पनि निर्णय आउने अवस्था रहेन’, पौडेलले भने । शर्माको इजलासमा परेर पनि यो मुद्दाको पेसी दुईपटक सरिसकेको छ ।

पेसी परेको दिन सम्बन्धित न्यायाधीश प्रायः बिदामा बस्ने गरेका छन् । यसपटक पनि त्यस्तै भयो । बुधबारलाई सो मुद्दाको पेसी तोकिएको थियो तर मुद्दा हेर्नुपर्ने न्यायाधीश कुलप्रसाद शर्मा केही दिनदेखि बिदामा छन् ।

यसअघि कात्तिक १२ गते पनि उक्त मुद्दाको पेसी तोकिएको थियो । त्यति बेला शर्मालाई चितवनको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकिइसकेको थियो । पेसीकै दिन भरतपुरमा निर्वाचनसम्बन्धी सर्वपक्षीय छलफल आयोजना भयो । प्रतिवादीका कानुन व्यवसायी गोपिलाल देवकोटाले ‘नभ्याउने’ भनेर निवेदन दिएका आधारमा सो दिन कारबाही अगाडि बढेन । त्यसपछि मंसिर २५ लाई पेसी तोकियो ।

मंसिर २५ मा जिल्लामा मतगणनाको चटारो थियो । मुख्य निर्वाचन अधिकृतको जिम्मेवारीमा रहेका न्यायाधीश शर्मा इजलासमा आउन सक्ने अवस्था रहेन । त्यसपछि पुस २६ लाई तोकेको पेसी पनि ‘निर्वाचन प्रतिवेदन’ बुझाउन न्यायाधीश बिदामा बस्दा त्यसै गुज्रिने भएको छ । शर्माको पालामा मात्रै होइन, यसअघिका दुई न्यायाधीशका पालादेखि नै यही क्रम चल्दै आएको छ ।

उक्त मुद्दा २०७० चैत ३० गते चितवन जिल्ला अदालतमा दायर भएको थियो । मुद्दाको पक्षविपक्षका कानुन व्यवसायीले गरेको मौखिक बहस गत वर्षको असोज ११ गते नै सकिएको थियो । मौखिक बहस सकिएलगत्तै तत्कालीन न्यायाधीश टेकनारायण कुँवरले लिखित बहस नोट पेस गर्न आदेश गरेका थिए ।

सामान्यतया बहस सकिएलगत्तै फैसला आउने गर्छ । यसमा भने ‘विशेष मुद्दा’ भन्दै लिखित बहस माग भएको थियो । २०७३ असोज ११ मा भएको सो आदेशअनुसार कात्तिक ५ गते पक्षविपक्षका कानुन व्यवसायीले अदालतमा लिखित बहस नोट पेस गरेका थिए । त्यसपछि सोही महिनाको कात्तिक २३ लाई पेसी तोकिएको थियो । कात्तिक २३ मा अदालतमा न्यायाधीश उपस्थित नभएपछि मंसिर १२ गतेलाई अर्को पेसी तोकियो । मंसिर १२ को पेसीभन्दा अघि नै तत्कालीन जिल्ला न्यायाधीश कुँवर बेलायत भ्रमणमा गएपछि फेरि पुस २५ गतेलाई नयाँ पेसी तय भयो । सो दिन पनि पेसी सारेर माघ १९ लाई तोकिएको थियो ।

मुद्दाकै क्रममा न्यायाधीशको बढुवा

वर्षको माघ १९ लाई पेसी तोकिएको बखत मुद्दा हेर्दै आएका जिल्ला न्यायाधीश कुँवर बढुवा भएर उच्च अदालतको न्यायाधीश भए । कुँवरको पालासम्म पाँचपटक पेसी तोकिएर पनि मुद्दाको सुनुवाइ भएन । त्यसपछि एक नम्बर न्यायाधीश भएका कविप्रसाद न्यौपानेको समयमा पनि यो मुद्दाको अवस्था त्यस्तै भयो । न्यौपानेको पालामा पनि स्थानीय चुनावको चटारोले पेसी चढ्ने तर फैसला नहुने क्रम रोकिएन ।

न्यौपानेपछि एक नम्बर न्यायाधीश भएर आएका शर्माको पालामा पनि उही अवस्था दोहोरिरहेको छ । ‘यो मुद्दा एक नम्बर न्यायाधीशकै बेन्चमा परेको छ । गोला थुत्दा नै त्यसो हुनेगरेको हो । पेसीको बेलामा उहाँहरु बिदामा हुनुभएका कारण निर्णय नआएको हो । बिदामा बसेको १५ दिनसम्म अन्य न्यायाधीशले मुद्दा हेर्ने चलन छैन’, सूचना अधिकारी पौडेलले भने ।

केही दिनअघि चितवन जिल्ला अदालतले राखेको नियमित पत्रकार भेटघाट कार्यक्रममा सो अदालतमा दुई वर्ष नाघेका तीनवटा मुद्दामात्रै रहेको जानकारी गराइएको थियो । त्यसमध्ये अधिकारीको मुद्दा पनि पर्छ । अन्य दुई गैंडासम्बन्धी मुद्दा छन् ।

‘यसअघिका श्रीमान् (न्यायाधीश) र म पनि तत्कालै चुनावमा भिड्नुपरेका कारण यो मुद्दा किनारा लाग्न नसकेको हो । अब किनारा लाग्छ’, नियमित पत्रकार भेटघाटका क्रममा न्यायाधीश शर्माले भनेका थिए । गएको मंसिर ४ गते जिल्ला भ्रमणका आएका बेला प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पनि ‘केही पुराना’ मुद्दा रहेको भन्दै निर्देशनकै शैलीमा ‘चाँडो टुंग्याउनुहोला’ भनेका थिए ।
१४ वर्ष पुरानो घटनामा अनेक थरी विलम्ब

अधिकारीको २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको थियो । घटनाको जिम्मा तत्कालीन माओवादीले लिएको थियो । मृतकका बाबु नन्दप्रसाद र दाजु नुरप्रसादले हत्यारा खोजेर कारबाही गर्न माग गर्दै तत्कालै प्रहरीमा उजुरी दिएका थिए ।

लामो समयसम्म कारबाही नभएपछि कृष्ण अधिकारीका बुबा नन्दप्रसाद र आमा गंगामाया अनशनमा बसेका थिए । उनीहरु अनशनमा बसेको लामो समयपछि प्रहरीले २०७० साउनमा सो उजुरीबारे अनुसन्धान सुरु गरेको थियो । उजुरीमा संलग्नमध्ये केहीलाई समाएर अनुसन्धान गरी मुद्दा चलाउन प्रयास भए पनि मुद्दा दर्ता हुन सकेको थिएन ।

नन्दप्रसाद र गंगामायाले अनशन जारी नै राखेपछि अनुसन्धान पूरा भई २०७० चैत मसान्तमा चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सो घटनामा १३ जना प्रतिवादी कायम भएका थिए । सबैलाई जन्मकैद सजाय माग गरिए पनि प्रमाण नुपग्ने भन्दै अदालतले दुईजनालाई धरौटीमा छाडेको थियो ।

सो प्रारम्भिक आदेशपछि अन्य अभियुक्त पनि फरकफरक समयमा उपस्थित भएर अदालतमा बयान दिएका थिए । बयान दिन आएकामध्ये केही साधरण तारेख र केही सामान्य धरौटीमा छुटेका थिए । सो मुद्दाका एकजना अभियुक्त रुद्र आचार्य विदेशमा छन् । उनी अदालतमा अझसम्म उपस्थित भएका छैनन् ।

चितवन जिल्ला अदालतको प्रारम्भिक आदेशविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतमा समेत निवेदन पुगेपछि एकजना अभियुक्त छविलाल पौडेललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो । उनी पक्राउ भने परेका छैनन् । अनशनकै क्रममा कृष्णप्रसादका बुबा नन्दप्रसादको मृत्यु भइसकेको छ तर अझैसम्म दाहसंस्कार भएको छैन । आमा गंगामाया अझै पनि अनशनमै छिन् ।

यो मुद्दामा बहसअघि र बहस सकिएपछि पनि गरेर कुल २० पटकसम्म पेसी सरेको छ । सशस्त्र संघर्षका बेलाको घटना अदालतमा लगेको भनेर सो बेलाको विद्रोही पक्ष माओवादीका सबै घटकले विरोध गर्दै आएका छन् । सो घटनामा माओवादीका कुनै नेताविरुद्ध भने मुद्दा परेको छैन । सबै अयिभुक्त मृतक अधिकारीका आफन्त र छरछिमेकी हुन् ।

साभार : नागरिक दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्ने प्रेमीको हत्या

दुई वर्षको सम्बन्धमा राजुले दुई जनाबिचको शारीरिक सम्बन्धको भिडियो बनाएर धर्मालाई ‘ब्ल्याकमेल’ गर्दै आएका थिए

मेलुङमा बालमैत्री धारा

–सर्मिला बुढाथोकी– बालमैत्री धारा नहुँदा विद्यालयका बालबालिकाहरू विद्यालय समयमा पिउने पानीबाट बञ्चित हुने र सार्वजनिक स्थानमा

सञ्चारकर्मी रुपा कार्कीको निधन

–महिला खबर– रेडियो बाराहीको स्थापना कालदेखि पाँच वर्षसम्म ‘साँहिली आमा’ नामक कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

जन्म र कर्म दिने आमाको नामका पुरस्कार वितरण

–महिला खबर– दोलखा । पत्रकार चिरञ्जीवी मास्केले आफूलाई जन्म दिने र कर्मदिने आमाहरूको नाममा स्थापना

अागलागिबाट महिलाको मृत्यु

-महिला खबर- वीरगंज महानगरपालिका–१४ श्रीपुर बस्ने ८० वर्षीया हकिमन खातुनको आगोलागिमा परी मृत्यु भएको छ

Read more
ताजा अपडेट
%d bloggers like this: