जिम्मेवारी थपियो बोझ घटेन


प्रकाशित मिति :2015-04-10 06:53:19

जमुना वर्षा शर्मा

पाेखरा । समय फेरिएको छ । चुलो चौकोमा सिमित महिला पेशा, व्यवसायमा आवद्ध छन् । यो आवद्धताका कारण उनीहरू दोहोरो भूमिका र जिम्मेवारीमा परेका छन् । यस्तै दोहोर जिम्मेवारीमा परेकी प्रतिनिधि पात्र हुन् पोखरा सिमलचौरकी सम्झना के.सी ।

20150410_102616_0विहान ५ बजेदेखि बेलुका ९ बजेसम्म सम्झनाका हात खाली हुँदैनन् । समाजशास्त्रमा स्नातकोत्तर गरेकी सम्झना एक वित्तिय संस्थामा क्यासीयर हुन् । त्यस अलावा घरमा एक कुशल बुहारी, श्रीमती र आमा । दुवै ठाउँमा उत्तिकै जिम्मेवारी निर्वाह गर्नुपर्छ उनले ।

एउटा गैरसरकारी संस्थामा काम गर्ने उनका श्रीमानलाई भने यस्तो चाप छैन । एकै समयमा अफिस जानुपर्ने भएपनि उनका श्रीमान सरोजको भने आफ्नै दैनिकी छ । उनी विहान ६ बजे उठ्छन् मर्निङ्गवाक जान्छन् । आएर बाथरुम जान्छन् । आफ्नो नित्य कर्म भ्याएपछि, सम्झनाले चिया ल्याएर दिन्छिन् उनी चिया पिउँदै टेलिभिजन, एफ.एम र पत्रपत्रिका पढ्छन् । त्यति बेलासम्म सुनिताले घर धन्दा सबै भ्याइसकेकी हुन्छिन् ।

सम्झनाले ४ कक्षामा पढ्ने छोरी १ कक्षामा पढ्ने छोरा र श्रीमानसँगै आफू पनिसँगै खाना खान्छिन् । बच्चा बच्चीलाई स्कुलको लागि तयार गरीदिन्छिन् । सम्झनाले श्रीमानसँग आफूलाई कामको बोझ भयो भनेकी छैनन् । ‘म विहान भर कति थकित हुन्छु उहाँले पनि त देख्नुभएको छ । यस्तो कुरा भनेर भन्दा पनि महसुस गर्नु पर्ने हो तर उहाँले ध्यान दिनुहुन्न’ श्रीमानलाई लक्षित गरेर सम्झनाले भनिन् ‘यदी मैले कामको बोझको बारेमा कुरा गरे भने उहाँले जागीर छोड्न भन्नुहुन्छ । म जागीर छोडेर घरधन्दामा सिमित हुन चाहन्न ।’

सम्झनाको जस्तै कथा व्यथा छ पोखराकै संगीता खड्काको पनि । एक निजी विद्यालयकी शिक्षिका संगीता एक सन्तानकी आमा हुन् । ६ वर्षीया छोरी कि यी आमालाई पनि घरधन्दा बजार र जागीरे जीवनले निकै व्यस्त बनाएको छ । उनका श्रीमान एक कम्पनीका मार्केटिङ म्यानेजर हुन् । अधिकांश समय बाहिरै फिल्डमा हुन्छन् । संगीता भन्छिन, ‘उहाँ थाकेर आउनुहुन्छ भन्ने लाग्छ अनि म केहि भन्दिन ।’ उनी भन्छिन्, ‘जति नै जाने बुझे र पढे लेखेका महिला भएपनि पारिवारिक सम्बन्धको अगाडि चुँ बोल्न चाहँदैनन् । आफू हिंसामा परेको थाहा पाए पनि सम्बन्धलाई सुमधुर बनाउने चाहना धेरैजसो महिलामा देखिन्छ । त्यो ममा पनि छ ।’

सम्झना र संगीता अधिकांश कामकाजी महिलाका प्रतिनिधि हुन् । एकाध बाहेक धेरै महिलाले यो समस्या भोग्नुपर्छ । घर बाहिर निस्कन पाउने महिलाले अहिले विभिन्न क्षेत्रमा निकै फड्को मारेका छन् । तर उनीहरूले निर्वाह गर्नुपर्ने दोहोरो जिम्मेवारी महिलाको श्रमको अवमूल्यन हो भन्छिन्, अधिवक्ता उषा बरुवाल ।

यस्ता समस्याहरू कामकाजी महिलाको लागि निकै चुनौतिपूर्ण भइरहेका छन् । कुनै पनि पुरुष कतै जाँदा सजिलै बाहिर निस्कन्छन् भने त्यसरी नै महिला बाहिर निस्कँदा सम्पूर्ण जिम्मेवारी बहन गरेर मात्र निस्कनुपर्छ । यदि यसो गर्न सकिएन भने कि बाहिरको काम छोड्नु पर्छ, कि घरमै बस्नुपर्छ । यसलाई सदियौंदेखि चलिआएको पितृसत्तात्मक सोचको प्रभाव भएको बताउँछिन् महिला उद्यमी हिरा भटट्राई ।

कम्युनिटि सर्पोट ग्रुपकी कार्यक्रम संयोजक माया गुरुङको पनि यस्तै अनुभव छ । उनी भन्छिन्, ‘महिला अधिकारको बारेमा जति नै बहस गरे पनि आखिर महिला पूर्ण रुपमा अधिकार सम्पन्न हुन सकेका छैनन् । महिलाका केही साझा र जैविक समस्याहरू छन् जो बाँड्न मिल्दैन । त्यस अलावा कतिपय काम श्रीमान–श्रीमतीको समझदारी र सहकार्यबाट अगाडि बढ्न सकिन्छ तर त्यो सोचको पनि विकास हुन सकेको छैन । यस्तै सामाजिक संरचना संस्कारबाट हुर्केका महिला यसलाई प्रतिवाद गर्ने क्षमता राख्दैनन् ।

समाजशास्त्री डा. विश्वकल्याण पराजुलीका अनुसार आधुनिक समाजको विकाससँगै महिलामा सशक्तिकरण पनि भएको छ । सँगसँगै ‘डबल ड्युटी’ दोहोरो जिम्मेवारीपनि बढेको छ । पहिला पहिला महिला घरभित्रमात्र सिमित हुन्थे कामको बोझ एकातिरमात्र थियो भने अहिले महिलापनि आ–आफ्नो योग्यता र क्षमता अनुसारको काम खोज्दै घरबाहिर निस्कन थालेका छन् । जसले गर्दा अर्को कामको पनि बोझ थपियो । जिम्मेवारी थपियो तर बोझ घटेन । अब यसमा परिवारको सहभागितात्मक भुमिकाको आवश्यकता हुन्छ । अब यसलाई एउटा बहसको बिषय बनाउनुपर्छ ।

दोहोरो भुमिका र जिम्मेवारीले हैरान भएपनि अधिकांश महिला घरभित्रको कामको लागि आफ्नो श्रीमानको सहयोग लिन चाहँदैनन । अर्कोतिर श्रीमानहरू पनि घरभित्रको काममा आफ्नो रुचि राख्दैनन् । पैसा कमाउने काममात्र पुरुषको काम हो बाँकी काम महिलाले नै गर्छन् भन्ने पुरुष मानसिकताले गर्दा दोहोरो कामको मारमा महिला परिरहेका छन् ।

अब समनतामुलक समाज निर्माणको लागि हरेक काम बाँडफाँड गरेर गर्न सकिन्छ । काममा सहभागितात्मक संस्कारको विकास गर्न अपरिहार्य छ । हामी आधुनिक र सुसभ्य समाजको परिकल्पना गर्छौ तर निभाउनु पर्ने भूमिका दायित्व के हो भन्ने कुरामा ध्यान दिन सक्दैँनौ । जसले महिला हरेक तह र तप्काबाट हिंसाको चपेटामा परिरहेका हुन्छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: