बालिका बचाउ:अभियान एकातिर, घटना अर्कोतिर


प्रकाशित मिति :2015-04-16 08:15:00

भरत कोइराला   पोखरा /

बालबालिकाका लागि सबैभन्दा सुरक्षित ठाउँ घर हो । त्यसपछि मात्रै छरछिमेक र विद्यालय सुरक्षित ठानिन्छन्। तर पछिल्लो समयमा भएका घटनाले समाजमा बालिका निकै असुरक्षित रहेको पुष्टि गरेको छ। जन्म दिने बाबु, शिक्षा दिने शिक्षक र चिनेजानका व्यक्ति तथा आफन्तबाटै बालिकाहरु बलात्कारको शिकार भइरहेका छन् ।

20140615_091341  चैत २२ गते घर नजिकै खेलिरहेका दुई बालिकाले यस्तै पीडा खेप्नुपर्यो। बागलुङ बुर्तिवाङ –१ घर भई अहिले पोखरा बस्दै आएका ४० वर्षीय भविन्द्र विकले चकलेटमा भुल्याएर छ र सात वर्षका ती बालिकालाई करणी गरे। बालिकाका आफन्तले थाहा पाएपछि तुरुन्तै विकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए। बालिका बलात्कार मुद्दामा उनीमाथि अनुसन्धान भइरहेको छ ।    यो वर्ष जिल्ला प्रहरी कार्यालय कास्कीमा परेका बलात्कारका उजुरी हेर्ने हो भने बालिका नै बढी पीडित छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी हरिबहादुर पाल भन्छन्, ‘समाजमा यस्ता घटना दिनहुँ बढिरहेका छन्, जति चेतनास्तर बढेको छ, घटना पनि बढ्दै जानुलाई हामीले गम्भीर रुपमा लिएका छौं।’   अभिभावकको निगरानी कमी, आम संचारमाध्यमको प्रयोग, यौन विकृति र महत्वकांक्षा जस्ता कारणले घटना वृद्धि भएको प्रहरीको ठम्याइ छ। जबरजस्ती करणी अहिले सामाजिक अपराधको रुपमा स्थापित भइसकेको र चार महिनादेखि ७० वर्षीया महिला समेत यसको सिकार बनेपछि अहिले प्रहरीलाई समेत चुनौती थपिएको छ।     शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, राजनीतिक दलका नेता र सामाजिक अगुवा पनि यस्तो घटनामा दोषी देखिएका छन्। साउन महिनायता कास्कीमा जबरजस्ती करणीका ४० वटा उजुरी प्रहरीमा परेका छन्। तीमध्ये १० देखि १४ वर्ष उमेरका सबैभन्दा बढी अर्थात् १४ जना पीडित छन्। १० वर्ष मुनिका सात बालिका पीडित रहेको एसपी पालले बताए ।   यसैगरी १४ देखि १६ वर्षका आठ, १६ देखि १८ वर्षका पाँच र १८ देखि २० वर्षका आठजना पीडामा परेका छन्। गत आर्थिक वर्ष भरिमा जबरजस्ती करणीका ३६ उजुरी दर्ता भएका थिए। यो वर्ष नौ महिनामै ४० वटा उजुरी परिसकेका छन्। यो अवधिमा प्रलोभनमा पारेर २१, डरधम्की देखाएर १४ र सामुहिक बलात्कारबाट चारजना पीडित भएका छन्।   पीडिकमा चिनजानकै व्यक्ति १४ जना र साथी वा साथीको समूह सातजना रहेको प्रहरीले जनाएको छ। जबरजस्तीका घटना विश्लेषण गर्दा स्कुल तथा कलेजमा पढ्ने विद्यार्थीको यस्ता घटनामा बढी संलग्नता हुने गरेको छ। यो नौ महिनामा २२ जना विद्यार्थी जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् ।    जिल्ला न्यायाधिवक्ता योगराज ढकाल अहिले परम्परागत भन्दा फरक खालका घटना बढ्न थालेको बताउँछन्। समान उमेर समूहका महिलालाई देख्दा यौन भावना जागृत हुनु स्वभाविक भए पनि ससाना बालिका देखेर उत्तेजित भई बलात्कारमै उत्रनु अचम्मको विषय रहेको उनको भनाइ छ। उनले भने, यसबारे गहन अध्ययन जरुरी छ ।    महिला अधिकार तथा मानसिक स्वास्थ्यको क्षेत्रमा क्रियाशील कोपिला नेपालकी कार्यकारी निर्देशक विना सिलवाल फरक उमेरमा हुने यौन सम्पर्क गलत मनोविज्ञान रहेको बताउँछिन्। चेतना स्तर बढी भएको ठाउँमै यस्ता घटना धेरै हुने गरेकाले मनोवैज्ञानिक परामर्शलाई व्यापक बनाउनुपर्नेमा उनको जोड छ ।    महिला तथा बालबालिका कार्यालय कास्कीकी प्रमुख महिला विकास अधिकृत लक्ष्मी जीसी आर्थिक र सामाजिक रुपमा कमजोर र नाबालिका नै बढी पीडित हुने गरेको बताउँछिन्। अहिले धेरैजसो घटना बाहिर आउन थालेपछि गाउँघरमै मिलाएका उदाहरणसमेत प्रसस्त रहेको उनको भनाइ छ । यस्तो घटनामा परेका बालिका र परिवारसमेत समाजमा असुरक्षित हुने खतरा समेत बढिरहेकाले सकेसम्म घटनालाई बाहिर ल्याउनुपर्ने उनको भनाइ छ ।      ऐनकानुन पूर्ण नहुनु, भएका पनि प्रभावकारी कार्यान्वयन हुन नसक्नु, जनचेतनाको अभाव, गरिबी, अशिक्षा, परम्परागत संस्कृति, विभिन्न निकाय तथा संयन्त्रबीच आवश्यक समन्वय हुन नसक्दा महिला हिंसाका घटना बढ्दै गएको महिला मानव अधिकार रक्षक संजाल कास्की अध्यक्ष सरलाकुमारी पाण्डे बताउँछिन् ।   यसैबीच, नेपाल प्रहरीले जबरजस्ती करणी अपराध नियन्त्रण गर्न देशभर अभियान थालेको छ। यही क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीले समेत तीन महिने अल्पकालीन योजना तर्जुमा गर्न गृहकार्य थालेको छ । जसअन्तर्गत यसका नकारात्मक असरबारे जनचेतना, अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउने र यसका लागि प्रहरीले समन्वयकारी भूमिका खेल्ने कास्की प्रहरी प्रवक्ता डीएसपी केदार रजौरेले बताए। उनी भन्छन्, ‘गर्न त धेरै चाहेका छौं तर जनशक्ति र बजेटको सीमितता हामीसँग छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: