‘हिंसा, यौन दुर्व्यवहार र विभेदमुक्त विद्यालय भन्ने नारासहित भर्ना अभियान सुरू
महिला खवर
इलाम, ३ वैशाख। ‘हिंसा, यौन दुर्व्यवहार र विभेदमुक्त विद्यालय बनाऔँ, सबै बालबालिकालाई विद्यालय पठाऔँ’ भन्ने नारासहित इलाममा भर्ना अभियान सुरू भएको छ। विद्यालय नगएका बालबालिकालाई भर्ना गरी कोही पनि विद्यालय बाहिर छैनन् भन्ने सन्देश दिन जिल्लाका सबै विद्यालयले भर्ना अभियान सुरू गरेको हो।
जिल्ला शिक्षा कार्यालय इलामका अनुसार विद्यालय बाहिर रहेका ४८० बालबालिकालाई यो वर्ष समुदायमै गएर भर्ना गर्ने अभियान सञ्चालन गरिएको छ।
भर्ना अभियानलाई थप प्रभावकारी बनाउन जिल्लामा विभिन्न भाषामा समेत सूचना प्रकाशन तथा प्रसारण गर्ने कार्यालयले जनाएको छ। वैशाख १५ गतेसम्म भर्ना हुन विद्यालय आउने विद्यार्थीलाई विद्यालयमा नियमित भर्ना गराउने र त्यस अवधिमा पनि भर्ना हुन नआए वैशाख ३० सम्म घरदैलो अभियान सञ्चालन गरी तथ्याङ्क सङ्कलन गरि भर्ना अभियान चलाउने जिल्ला शिक्षा अधिकारी टङ्कप्रसाद गौतमले जानकारी दिनुभयो।
प्राथमिक शिक्षाका लागि उमेर नपुगेका बालबालिकालाई बाल विकास कार्यक्रममा र कक्षागत उमेर नमिलेका बालबालिकालाई वैकल्पिक शैक्षिक कार्यक्रममार्फत भर्ना गर्ने कार्यालयले जनाएको छ।
शिक्षा कार्यालयले सबैलाई साक्षर बनाउने र विद्यालय बाहिर रहेका बालबालिकालाई आकर्षित गर्न खुला विद्यालय कार्यक्रम, गृहिणी शिक्षा, निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा तथा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
शतप्रतिशत विद्यार्थी भर्ना गराउने विद्यालयलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको जिशिअ गौतमले बताउनुभयो। विद्यार्थी भर्ना दर बढाउन संस्थागत विद्यालयले जस्तै बाल शिक्षादेखिनै अङ्ग्रेजी माध्यमबाट पढाउन विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले निर्देशन दिइसकेको छ।
प्रकाशित मितिः २०७२ वैशाख ३ गते बिहीवार
Comment Here!