महिला खवर
ललितपुर, वैशाख ४। अढाइ दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील पत्रकार गुणराज लुइँटेल सञ्चारिका अनलाइनको सम्पादकमा नियुक्त हुनुभएको छ।
पत्रकार लुइँटेल यसअघि अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका प्रधान सम्पादक हुनुहुन्थ्यो। कान्तिपुर दैनिक र नागरिक दैनिकमा समेत उहाँले लामो समय काम गरिसक्नु भएको छ। नागरिक दैनिकको पश्चिमेली संस्करणको आवासीय सम्पादकको रुपमा पनि उहाँले काम गरिसक्नु भएको छ।
पछिल्लो समय उहाँ सेतोपाटी डिजिटल पत्रिकाको प्रमुख/लेखक टिप्पणीकारको रुपमा आवद्ध हुनुहुन्थ्यो। उहाँले विभिन्न पत्रपत्रिकामा महिला र अन्य सामाजिक विषयमा लेख/टिप्पणीहरू लेख्दै आउनुभएको छ। साथै उहाँले लैङ्गिकअनुकूल पत्रकारितासम्बन्धी तालिम/प्रशिक्षण दिँदै आउनु भएको छ।
लुइँटेलले फिलिपिन्सको अटेनियो डे मनिला युनिभर्सिटीबाट पत्रकारितामा स्नतकोत्तर गर्नुभएको छ। उहाँ सिंगापुरको नान्याङ टेक्नोलाजिकल युनिभर्सिटीका एसिया जर्नालिजम फेलो (२०१०) समेत हुनुहुन्छ।
उहाँले युगसम्वाद साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएको हो। हालसम्म सञ्चारिका अनलाइनका सम्पादक रहेका वरिष्ठ पत्रकार तथा लेखक मोहन मैनालीलाई उहाँले गरेको योगदानको कदर गर्दै सञ्चारिका समूहले धन्यवाद दिएको छ। मैनालीले संस्थापक सम्पादकका रुपमा स्थापित र क्रियाशील बनाउन विशेष भूमिका निर्वाह गर्नु भएको छ।
सञ्चारिका अनलाई महिलाखबरडटकमका रुपमा नयाँ साजसज्जा र स्वरुपका साथ चाँडै आउँदैछ। अहिले यो परीक्षण प्रकाशनका रुपमा रहेको छ।
प्रकाशित मिति २०७२ वैशाख ४ गते शुक्रवार
Comment Here!