महिला खवर
ललितपुर, वैशाख ४। महिला नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पाँच पटक प्रधानमन्त्री रहेका सूर्यबहादुर थापालाई सुझबुझपूर्ण नेताका रुपमा सम्झना गर्छन्। मधेशी जनअधिकार फोरम नेतृ रेणु यादवले पूर्व प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापा एक सुझबुझपूर्ण, दूरदर्शी र आफूलाई समयानुकूल परिवर्तन गर्न सक्ने नेताका रुपमा लिनुहुन्छ।
२०६० सालमा पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा थापाको प्रधानमन्त्रीत्वमा बनेको मन्त्रिपरिषदमा महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्री रहेकी यादवले महिला अगाडि आउनुपर्छ भन्ने सोच रहेको सम्झना गर्नुभयो।
संविधान लेख्ने बेलामा भएको उहाँको निधनलाई ठूलो क्षतिका रुपमा लिँदै यादवले जस्तै संकटमा पनि नआत्तिने नेताका रुपमा लिनु भयो। ‘उहाँको अनुहारमा कहिल्यै आत्तिएको जस्तो देखिन्नथ्यो, जहिल्यै शान्त भएर समस्यालाई समाधान गर्ने नेता हुनुहुन्थ्यो,’ यादबले भन्नुभयो।
पोखरामा सम्पन्न राप्रपाको तेस्रो महाअधिवेशनमा महिलाका लागि कोटा छुट्टयाउनुपर्छ भनेर पाँचजना महिलालाई केन्द्रमा ल्याउन थापाले भूमिका खेलेको यादव बताउनु भयो। परिवर्तित सन्दर्भमा महिला प्रतिनिधित्व बढाउनुपर्छ भन्नेमा थापाले जोड दिन थालेको महिला नेताहरूले जानकारी दिए।
पछिल्लो पटक राष्ट्रिय जनशक्ति पार्टी र राप्रपाबीच एकीकरण भएपछि उहाँकै कारण २५ प्रतिशत महिला केन्द्रिय सदस्यमा आएको जानकारी राप्रपा महिला विभाग प्रमुख कार्कीले जानकारी दिनुभयो।
राप्रपा त्यति परिवर्तनकारी शक्ति नभए पनि थापा महिला नेतृत्वमा आउनुपर्छ भन्ने भावना भएको नेता भएको उहाँको बुझाइ छ।
पूर्व प्रधानमन्त्री थापाको उपचारको क्रममा भारतको मेदान्त अस्पतालमा बुधवार निधन भएको हो। उहाँको शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार भयो।
उहाँ पञ्चायतदेखि प्रजातन्त पुर्नस्थापनापछि समेत गरेर ५ पटा प्रधानमन्त्री हुनुभएको थियो। अहिले उहाँ संविधानसभामा जेष्ठ सदस्य हुनुहुन्थ्यो।
प्रकाशित मिति २०७२ वैशाख ४ गते शुक्रवार
Comment Here!