काठमाडौँ,वैशाख ६ । भोलीदेखि नेपालमा पहिलोपटक ‘एएफसी यू–१४ महिला क्षेत्रीय च्याम्पियनसीप २०१५’ आयोजना हुने भएको छ ।
यसको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
सोमबारदेखि सुरु हुने प्रतियोगितामा दक्षिण तथा मध्य एसियाका सात राष्ट्रका टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । यसमा समूह ‘ए’मा आयोजक नेपालसहित इरान, माल्दिभ्स र श्रीलङ्का छन् भने समूह ‘बी’ मा भारत, भुटान र बङ्गलादेश रहेका छन् ।
राउण्ड रोविन लिगको आधारमा खेलाइने प्रतियोगितामा दुवै समूहबाट विजेता र उपविजेता भएका चार टोलीले सेमिफाइनलको स्थान सुरक्षित गर्नेछन् र सेमिफाइनलका दुई विजेताबीच वैशाख १२ गते फाइनलमा भिडन्त हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला र लगनखेलमा रहेको नेपाली सेनाको सैनिक शारीरिक केन्द्रको खेल मैदानमा प्रतियोगिताका खेल हुनेछन् । उद्घाटन खेल वैशाख ७ गते दिउँसो १ बजे दशरथ रङ्गशालामा नेपाल र इरानबीच हुनेछ ।
प्रतियोगिता सञ्चालनका लागि अनुमानित बजेट ७२ लाख रुपैयाँ लाग्ने र उक्त रकम एसियाली फुटबल महासङ्घ (एएफसी) ले व्यहोर्ने एन्फाले जानकारी दिएको छ ।
खेल हेर्नका लागि एन्फाले साधारणतर्फ ५० रुपैयाँ र विशिष्ट प्यारापिटमा १०० रुपैयाँ टिकट दर तोकिएको छ ।
प्रकाशित मिति २०७२ वैशाख ६ गते आईतवार
Comment Here!