ललितपुर वैशाख ६ । बझाङको सुर्मा गाविसमा एउटै रुखमा पासो लगाएर तीन बालिकाले सामूहिक आत्महत्या गरेका छन् ।
बझाङको सुर्मा गाविसका १४ वर्षीया जुनतारा पुजारा, १४ वर्षीया रेखा पुजारा र १५ वर्षीया कविता बोहराले जङ्गलमा एउटै रुखमा नाम्लोले पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
लिप्ने माटो लिन शुक्रबार तीनै जना संगै घरबाट निस्केका थिए । बेलुका उनीहरू घर नफर्केपछि खोज्ने क्रममा आफन्तले शनिबार माटो खन्ने ठाउँ नजिकैको बाघमारा जङ्गलमा पासो लगाएको अवस्थामा उनीहरूको शव फेला पारेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयमा प्रमुख प्रहरी नायब महानिरीक्षक रामकुमार खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनास्थल सदरमुकामभन्दा टाढा रहेकाले पूर्ण विवरण आउन बाँकी नै छ । जिल्ला प्रहरी कार्यालय बझाङले तीन बालिकाको शव आज बिहान सदरमुकामस्थित जिल्ला अस्पतालमा शव परीक्षणपछि आफन्तको जिम्मा लगाइसकेको जनाएको छ ।
बालिकाहरू सुर्मा उच्च माविमा कक्षा ७ र ८ मा अध्ययरत थिए । आत्महत्याको कारण भने खुल्न सकेको छैन । सदरमुकामबाट झन्डै छ घन्टाको पैदल दूरीमा घटनास्थल पर्छ ।
प्रकाशित मिति २०७२ वैशाख ६ गते अाइतवार
Comment Here!