आमा भएर त हेर आमा हुन कति गाह्रो छ


प्रकाशित मिति :2015-04-19 09:58:34

दुर्गा कार्की

Durgaदाइदिदीहरू घरबाट पर पुगेपछि आमा आँगन डिलमा बसेर उहाँहरूलाई हेर्दै रुनु हुन्थ्यो । आँखाले देखेसम्मआँगनबाट हेर्नुहुन्थ्यो । आमाले छोराछोरीका अगाडि कहिल्यै आँशु निकाल्नु भएन । सायद आँशुले छोराछोरी कमजोर हुन्छन् भन्ने उहाँलाई थाहा थियो ।   

आमाजस्तो मिठो शब्द छैन । मातृत्वको व्याख्या पनि गर्न सकिन्न । मातृत्वको अनुभव देखेर भन्दा बढी भोगेर थाहा हुने रहेछ । हाम्रो जीवनमा आमा सबैभन्दा प्यारो नाता हो । आमा शब्द सम्झँदा पनि मन त्यसैत्यसै आल्हादित हुन्छ ।

आमा हुनुको करुणामय अनुभूति आफू आमा भएपछिमात्र थाहा हुँदोरहेछ । आफ्ना सन्तानको खुसीका लागि आमा गर्ने बलिदानीको गहिराइ त्यतिबेलासम्म अनुभूति हुँदैन जतिबेलासम्म आफैँ आमा बनिँदैन ।   बनकी चरीले पनि रुखमा आफूले बनाएको गुाडमा चुच्चाले च्यापेर ल्याएको चारा आँखा नदेख्ने र पखेटा पनि चलाउन नजानेका बचेराहरूको मुखमा हालिदिँदा सुखको अनुभव गर्छे । हाम्रा आमाहरूका ती उदात्त भावना यिनै चरीका मिठा अनुभूतिजस्ता हुन् ।

अहिले आफूलाई सम्झँदा र आफ्ना सन्तानलाई हेर्दा लाग्छ संसारको सवैभन्दा स्वार्थी भनेकै सन्तान हुन् । आमाले दिइरहने र यी सन्तानले लिइरहने प्रकृतिको सिर्जना देख्दा अनौठो लाग्छ । प्रकृतिले सम्भवतः हामी सबैलाई बाँच्नका निम्ति यस्तो स्वार्थी तत्व हाम्रो जीवनमा पदार्पण गराइदिएको छ  ।

आमाले सन्तानका निम्ति गरेको त्यागको हिसाव कितावै हुँदैन, गर्न पनि सकिन्न । हामीले उहाँहरूको त्यागको मर्म बुझेर आभारी हुने बेला समय घर्किसक्दो रहेछ । हाम्रा आफ्नै वाध्यताले हामी जेलिइसकेका हुँदा रहेछौं ।    सन्तान हुर्काइ पढाइ सकेर उनीहरूको कमाइ खाने बेलासम्म उहाँहरुका रहर पनि साँघुरिने रहेछन् । आमाका अमृतजस्ता मिठा गाली, आमाको न्यानो माया, आमाको उदात्त त्याग अहिले एक-एक गर्दै मेरा मानसपटलमा घुम्छन् ।

बारीमा घाँस काटन गएकी आमाले हामी स्कुलबाट आउँने बेलामा त्यहीँ नै खाजा लिएर जानुहुन्थ्यो । स्कुलबाट आउने बाटोमा पर्ने बारीमा आमाले लगिदिएको खाजा त्यहीँ बसेर खान्थ्यौं ।  आमाका अर्ती अत्यन्तै ठूलो ओखती हो मानिसको जीवनमा । ती जीवनपर्यन्त हाम्रा लागि मिठा सम्झना सूत्र हुन्छन् ।   अहिले पनि कसैलाई केही भन्नुअघि आमाले भनेको कुराको सम्झना हुन्छ । के गर्न हुने के गर्न नहुने आमाले हामीलाई भन्नु भएको छ । मैले आमाले गर्नहुन्न भनेको काम र कुरा अहिलेसम्म गरेकी छैन । लाग्छ आमाले भनेका ती कुरा ध्रुव सत्य हुन् र तीनको उल्लंघन गरे पाप लाग्छ ।

खेतीपातीको समयमा गाउँका अरु दिदी वहिनी घरमा खेताला छन् भनेर स्कुल गएनन् तर मेरी आमाले घरमा खेताला छन् स्कुल नजाउ कहिल्यै भन्नुभएन । त्यतिखेर आमाले पकाएको खाजा लिएर आमासँगै खेतमा जान धेरै रहर लाग्थ्यो । आमाले स्कुल नजाऊ भने हुन्थ्यो जस्तो लागथ्यो । तर आमाले किन हामीलाई स्कुल जान रोक्नुभएन भन्ने अनुभूति अहिले भएको छ । आमाले खेताला आएको दिन स्कुल नजानू भन्नु भएको भए मेरो यहाँसम्मको गन्तव्य त्यही रोकिने रहेछ । सम्भवतः मैले आमासँगका ती मिठा अनुभूतिलाई अक्षरमा अनुवाद गर्ने यो अवसरमा पनि पाउँने थिइन । मेरो बाटो त्यही नै राकिने थियो ।

अहिले मेरो सात वर्षको छोरा छ । उसको भविष्यको चिन्ता मलाई जति छ त्यो अनुभूतिले आमाले मेरो भविश्यका निम्ति गरेको चिन्ताको गहिराइ मापन गर्न सक्ने बनाएको छ । मेरी आमालाई मेरो भविश्यको चिन्ताले कति सतायो होला ? म अहिले आफैातिर फर्केर जवाफ दिन सक्ने भएकी छु । त्यसका लागि उहाँले गरेको दुःखको साक्षी हामी छौं ।

सन्तान बिछोडको पीडा आमामा कस्तो हुन्छ भन्ने अनुभूति पनि अहिले भएको छ । हामी स्कुल पढ्दा दाईहरू काठमाडौंमा कलेज पढ्नुहुन्थ्यो । दिदीको बिहे भैसकेको थियो ।  दाईहरू पोखरा पढ्ने बेलासम्म त सातैपिच्छे घर आउनुहुन्थ्यो । तर जव काठमाडौं आउनुभयो घर जाने क्रम पातलो हुन थाल्यो ।  दाईहरू पढाइ र कामको चापले लगभग दशैंमा मात्रै घर आउजाउ हुन्थ्यो । कामकाजी दिदी पनि हत्तपत्त माइती आउन पाउनुहुन्थेन । जव उहााहरु घर आएर फर्किने दिन हुन्थ्यो आमाले टीका लगाइदिनुहुन्थ्यो र दही खुवाउनुहुन्थ्यो । खुसीसाथ उहाँहरूलाई  विदा गर्नुहुन्थ्यो ।

दाईदिदीहरू घरबाट पर पुगेपछि आमा आागन डिलमा बसेर उहाँहरूलाई हेर्दै रुनु हुन्थ्यो । आँखाले देखेसम्म आँगनबाट हेर्नुहुन्थ्यो । आमाले छोराछोरीका अगाडि कहिल्यै आँशु निकाल्नु भएन । सायद आाशुले छोराछोरी कमजोर हुन्छन् भन्ने उहाँलाई थाहा थियो ।

अहिले आमासँग त्यो धैर्य छैन । हिड्ने अघिल्लो दिनदेखि नै रुन थाल्नुहुन्छ । हिड्ने दिन विहानैदेखि सोध्नुहुन्छ- अव कहिले आउँछौ ? फोन गर है ।    आमा हजुरलाई कोटीकोटी नमन । हामी हजुरको ऋणी सँधै भइरहने छौं ।

प्रकाशित मितिः २०७२ वैशाख ५ गते शनिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: