नेपालगन्ज, वैशाख ८ ।जाजरकोटमा फैलिएको रुघाखोकी र स्वाइन फ्लु महामारीबाट महिला र बालबालिका बढी प्रभावित भएका छन्। पुरुष रोजगारको लागि घर बाहिर रहेको र परिवारका महिला तथा बालबालिका उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न सकेका छैनन्।
तीन सातादेखि फैलिएको महामारीबाट महिला र बालबालिका बढी विरामी भेटिएको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न महामारी प्रभावित क्षेत्र टालेगाउँ पुगेका राष्ट्रिय स्वास्थ्यकर्मी संघका केन्द्रीय उपाध्यक्ष रामबहादुर चन्दले जानकारी दिनुभयो।
शिविरमा आउने विरामीमा धेरैजसो महिला र बालबालिका पाईएको उनले बताए। महिला तथा बालबालिकालाई छुटै सेवा दिन नसकिएपनि प्राथमिकताका साथ शिविरमा उपचार गराईएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख धीरजंग शाहले बताउनुभयो।
हालसम्म महामारीबाट जाजरकोटमा २५ जनाको मृत्यु भएका मध्ये १२ जना महिला छन्। जनस्वास्थ्य कार्यालय जाजरकोटका अनुसार, महामारीबाट मृत्यु हुनेमा अर्छानी गाविस ३ की १६ वर्षीया सुस्मिता जैसी, पैंकं गाविस ४ की जयसरी रोकाय, पैंक ३ की ५७ वर्षीया जैरुपा उपाध्याय, पैंक ७ कै ६० वर्षीया कल्दरी रोकाय, पैंक ६ कै लक्ष्मी रोकाय, पैंक ६ की ३५ वर्षीया सत्यदेवी रोकाय, पैंक ४ कै जयसरी रोकाय, टालेगाउँ ३ की ७० वर्षीया मैसरी सिंह, वडा नं ५ की ५० वर्षीया लक्ष्मी नेपाली, वडा नं ५ की ७५ वर्षीया धनकला दमाई, पजारु ४ की २६ दिनकी नाबालक रितु टमटा, पजारु ५ की २७ दिनकी शिशु अमृता अधिकारीको स्वाइन फ्लुका कारण मृत्यु भएको छ।
स्वास्थ्य संस्था तथा स्वास्थ्य शिविरमा महिला स्वास्थ्यकर्मीको संख्या न्यून रहेकोले महिलाअनुकूल स्वास्थ्य सेवा पाउन नसकेको जाजरकोटका पत्रकार वीरबहादुर गिरीले बताए। रुघाखोकी र स्वाइन फ्लु माहामारी फैलिएको तीन सातापछि बल्ल प्रकोप प्रभावित गाउँमा औषधी सहित चिकित्सक पुगेका छन्।
सोमबार पैंक, ढीमे, कोर्ताङ्ग, टालेगाउ र अर्छानीमा सेनाको हेलिकप्टरबाट औषधी र चिकित्सक पुर्याइएको छ। प्रकोप प्रभावित क्षेत्रमा २४ चिकित्सकसहित १ सय बढी स्वास्थ्यकर्मी परिचालन भएको स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ।
स्वास्थ्य संस्थामा पुगेका महामारी संक्रमित महिला तथा बालबालिकाहरु। तस्बिरः दिनेश श्रेष्ठ, जाजरकोट
प्रकाशित मितिः २०७२ वैशाख ८ गते मङ्गलवार
Comment Here!