राणा विरोधी आन्दोलनमा पनि महिला उत्रेका थिए : स्नेहलता वन


प्रकाशित मिति :2015-04-21 15:02:54

Snehalata

२००५ सालमा विधान सभाका लागि बहस र राणाशासनको विरोध भइरहेका बेला राणाहरूले पर्चा  बाँड्नेहरूलाई घर, गल्ली, चोक, चोकबाट गिरफ्तार गर्ने र अमानवीय ढङगले यातना दिने गर्दथे। त्यस्तो कठोर शासनमा पनि स्नेहलता आन्दोलनमा लागिन्।

त्यतिबेला उनी १६ वर्षकी मात्र थिइन्।

स्नेहलता आफ्ना मामा बाजेका छोरा दिवाकरप्रसाद राजभण्डारीबाट प्रभावित भएर सानै उमेरमा  राजनीतिमा लागिन्। राणा विरुद्धको आन्दोलनमा सक्रिय प्रेमलाल कंसाकार र भुवनलाल प्रधानले त्यतिबेला ट्युसन पढाउँथे। उनीहरूसँग ट्युसन पढ्नेजति सबै पार्टीका कार्यकर्ता हुन्थे। दिनको एक-दुर्इ घण्टा ट्युसन पढाइ हुन्थ्यो भने बाँकी ५/६ घण्टा राजनीतिक प्रशिक्षण हुने गर्थ्यो।

स्नेहलता स्कुल जान पाइनन्। अरूले पढेको देखेर पढ्न-लेख्न सिकिन्। उनी  चौध वर्षको हुँदा आमाबुबा दुवै बिते। घरमा उमेर ढल्केकी हजुरआमा र दुर्इजना भाइ थिए। बुबाआमा बितेपछि उनले घरको काम र राजनीतिको काम सँगसँगै गर्नुपर्‍यो। तैपनि उनले हरेस खाइनन्। उनी महिला संघको संस्थापक महासचिव थिइन्।

“महासचिवदेखि पियनसम्मको काम म एक्लै गर्थेँ,” उनी सम्झन्छिन् ।

एकपटक पुष्पलाल श्रेष्ठ र प्रेमलाल कंसाकारले राणाशासनविरुद्ध पर्चा छापेर पठाए। पर्चा आइसकेपछि महिला संघको बैठक बस्यो। त्यसले कोषाध्यक्ष श्रीमाया श्रेष्ठको नेतृत्वमा पर्चा छर्ने निर्णय गर्‍यो। उनीहरूले आ–आफ्नो घर पायकमा पर्चा छरे।

“पर्चामा सरकारी निकायका पियनदेखि खरदारसम्मको तलबले उनीहरूको घर चलाउन कठिन भएको कुरा पनि राखेको थियो। कर्मचारीका पक्षमा पर्चा छर्दा उनीहरूलाई पनि राणाविरोधी आन्दोलनमा संलग्न गराउन सकिने हाम्रो रणनीति थियो,” ८१ वर्षकी स्नेहलताले भनिन्।

उनीहरूले एउटा पर्चा छरिनसक्दै अर्को पर्चा आइपुग्थ्यो। यसरी वि‍ स २००५ सालभर उनीहरूले पर्चा छरे। अर्को वर्ष कर्मचारीहरूको तलब बढ्यो। २००७ सालको आन्दोलनमा उनीहरूले राणाका विरुद्ध पर्चा-पम्पलेट छर्ने काम व्यापक बनाए। त्यसो त पर्चा छर्नेहरूमा महिला मात्र थिएनन्, पुरुषहरू पनि थिए। मदनलोचन सिंह भारी बोकेको जस्तो गरी हिँड्थे र बाटोमा पर्चा छर्थे, पम्प्लेट टाँस्थे। अर्जुननरसिंह राणा चाहिँगुच्चा खेलेजस्तै गर्ने अनि ठाउँठाउँ पुगेर चिठीपत्र वा पर्चा-पम्प्लेट दिने गर्दथे।

“त्यतिखेर हामी राणाहरूले यो कामको सुइँको नपाउन् भनेर विभिन्न बहाना गरी आफ्नो काम गर्थ्यौँ”, स्नेहलताले भनिन्।

महिला संघले आफ्ना सदस्यहरूका बीचमा जिम्मेवारी बाँडेको थियो। हीरादेवी यमिका भागमा भूमिगत नेताहरूको हेरचाह गर्ने र किसान सङ्गठनलाई सहयोग गर्ने काम परेको थियो। यस्तै टंक विलास बज्राचार्यकी श्रीमती चम्पादेवी बज्राचार्यलाई जेलसम्बन्धी जिम्मेवारी दिइएको थियो। स्नेहलताको भागमा चाहिँ  राजनीतिक बन्दीलाई महिला संघका गतिविधिबारे जानकारी दिने, चिठी पुर्‍याउने र विदेश विभाग हेर्ने काम परेको थियो। श्रीमाया श्रेष्ठले कार्यालय तथा नेता र कार्यकर्ताका बारेमा ध्यान दिनुपर्थ्यो।

पर्चा छर्ने क्रममा उनीहरू पक्राउ परे। उनीहरूसँगै नरबहादुर कर्माचार्यलार्ई पनि राणाहरूले पक्रेका थिए। “राणाहरूले यातना दिँदा नरबहादुरले बोलेका कुरा मलाई अहिले पनि याद छ। चन्द्रबहादुर कर्णेलले नरबहादुरलाई यातना दिँदा नरबहादुर ‘तेरो बाउको गर्दन ले’ भन्दै आफ्नो टाउकोले कर्णेललाई हान्ने गर्थे। त्यो देख्दा हामीलाई एकदमै आनन्द लाग्थ्यो। थुनामा पनि त्यसरी बोल्न सक्नु ठूलो बहादुरी हो। यो मेरो जिन्दगीको बिर्सनै नसकिने घटना हो” उनी भन्छिन् ।

स्नेहलताहरूलाई सात दिन थुनेर छाडियो। छाड्नुअघि उनीहरूलाई श्री ३ पद्म शमशेरको दरबारमा बयान लिइएको थियो। त्यतिबेला नरशमशेरले ‘आइमाईहरूलाई के को चासो ? किन चाहियो यो सब ?’ भनी चिच्याएका थिए।

“२००४ सालमा हामीले गरेको आन्दोलनले गर्दा पद्मकन्या स्कुल खुल्यो। तर, नबुझेका मान्छेहरू ‘पद्म शमशेर शिक्षाप्रेमी मान्छे भएकाले त्यो स्कुल दिएको’ भन्ने गर्छन्। पद्मकन्या स्कुल महिलाले पढ्न पाउने नेपालको पहिलो स्कुल हो,” स्नेहलता गर्व गर्छिन्।

“२००५ सालमा महिलाहरूको मताधिकारको माग लिएर पद्म शमशेर कहाँ गयौँ। त्यस बेला पद्म शमशेरले ‘हुन त हो तर धर्मशास्त्रले दिँदैन, कानुनमा पनि छैन, यो अधिकार कसरी दिनु ?’ भनेका थिए। त्यतिबेला मैले भनेकी थिएँ- भोट दिन नपाउने महिलाले जन्माएको छोराले संसार चलाउन हुने तर उसैलाई जन्म दिने आमाले भोट दिन किन नपाउने ? “मताधिकारका लागि हामीले धेरै सङ्घर्ष गरेका थियौँ। यो अधिकार त्यसै पाइएको होइन,” स्नेहलता आफ्ना कामको फल सम्झँदा अहिले पनि रोमाञ्चित हुन्छिन्।

पुष्पलाल श्रेष्ठ, तुल्सीलाल अमात्य, मंगलसिद्धि अधिकारीको सङ्गतले स्नेहलता कम्युनिष्ट बनिन्। उनका सबैभन्दा नजिकका नेताचाहिँ पुष्पलाल हुन्।

स्नेहलता अहिलेको राजनीतिक संस्कारसँग सन्तुष्ट छैनन्। “दलका नेताहरू कहिल्यै पनि विवादित हुनुहुँदैन। देशको हित हुने मुद्दामा दलीय स्वार्थभन्दा माथि उठेर निर्णय गर्न सक्नुपर्छ। २००७ सालको राणाविरुद्धको आन्दोलनमा यो पार्टी र ऊ पार्टी भनेर हामीले कहिल्यै झगडा गरेनौँ। हामीले राणाशासनको अन्त्य कसरी गर्ने भन्ने विषयमा मात्र ध्यान केन्द्रित गरेका थियौँ। हामी सबै एक भएर लड्यौँ। फलस्वरुप राणाशासन फाल्न सक्यौँ,” उनी भन्छिन्।

उनी आफ्नो अधिकारका लागि महिलाहरूले नै लड्नुपर्छ भन्छिन्। “जुन पार्टीको निर्णायक तहमा ३३ प्रतिशत महिला छैनन् तिनीहरूले राज्यका संरचनामा ३३ प्रतिशत हिस्सा महिलालाई कसरी दिन्छन् ?” उनी भन्छिन् ।

 

प्रस्तुतिः अरुणा रायमाझी

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: