महिला खवर
काठमाडौँ, वैशाख ८। महिला एएफसी यु १४ रिजनल च्याम्पियनसीपमा नेपालले लगातार दोस्रो जित दर्ता गराएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको प्रतियोगितामा नेपाली महिला टोलीले माल्दिभ्सलाई १०-० को फराकिलो गोल अन्तरले हराउँदै प्रतियोगितामा लगातार दोस्रो पटक विजयी भएको हो । यस जितसँगै नेपाल सेमिफाइनल नजिकसमेत पुगेको छ ।
यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले इरानलाई ३-२ गोलले पराजित गरेको थियो ।
नेपालको जितमा रेखा पौडेल र निर्मला उपाध्यायले ह्याट्रिक गरे । यसैगरी मनिषा राउतले दुई गोल गरिन् भने मञ्जली कुमारी र सञ्जना लावतीले एक-एक गोल गरे ।
यसैगरी अाजै भएको अर्को खेलमा भारतले सेमिफाइनलमा ठाउँ सुरक्षित गरेको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशसँग एक एकको बराबरी खेलेपनि एक खेल अवागै समूह बीबाट भारत सेमिफाइनलमा पुगेको हो । सोमबार भुटानलाई १२-० ले हराएपछि भारतको यात्रा सहज बनेको थियो ।
लगनखेलस्थित नेपाली सेनाको तालिम केन्द्रको मैदानमा भएको अर्को खेलमा इरानले श्रीलङ्कालाई ११-१ को भारी अन्तरले हराएर सेमिफाइनलमा जाने आशा जीवितै राखेको छ । महिला एएफसी यु १४ रिजनल च्याम्पियनसीपमा इरानको यो पहिलो जित हो । यसअघि सोमवार इरान नेपालसँग हारेको थियो ।
प्रतियोगिताअन्तर्गत बुधबार नेपाल र श्रीलङ्का, भुटान र बङ्गलादेश तथा इरान र माल्दिभ्सबीच खेल हुनेछ ।
प्रकाशित मितिः २०७२ वैशाख ८ गते मङ्गलवार
Comment Here!