आफ्नो सुरक्षा आफैँ


प्रकाशित मिति :2015-04-22 12:39:25

नेपालगञ्ज । ‘दिन त जसोतसो जान्थ्यो, तर रातको हरेक पल डर र त्रासमै बित्थ्यो । आफ्नो सुरक्षाका लागि आफैँ नलाग्दासम्म केही नहुने देखेर आफैँ गस्ती गर्न लाग्यौँ,’ बाँके कचनापुर– ९ राजपुरकी खगिसरा पुनले भनिन्, ‘घरमा भएको सामान पनि बाढी पसेर सबै लग्यो । त्यस्तो बेलामा जताबाट पनि हामी महिला नै असुरक्षित हुने रहेछौँ ।’
बाँकेका बाढी प्रभावित क्षेत्रका महिला आफूमाथि हुन सक्ने यौन दुर्व्यवहार तथा घरेलु हिंसाबाट बच्नका लागि आलोपालो गर्दै गाउँ र टोलमा गस्ती गर्न थालेका छन् । स्थानीय सहजकर्ताको समेत भूमिकामा रहेकी खगिसराले भनिन्, ‘के गर्नु, घरमा भएको सबै सामान बगाएर लग्यो, खाने केही पनि छैन । अरूले दिएको खाद्यान्न र नगद बुझेर पुरुषहरू तास र मदिराले मात्ने अनि घरमा आएर नानाथरी कुरा झिक्दै झगडा गर्न थालेपछि आफ्नोे सुरक्षाका लागि रातभर गस्तीमा हिँड्न बाध्य भएका हौँ ।’
बाढीबाट प्रभावित बाँकेका विभिन्न गाविसका महिला अस्थायी शिविरमा बस्दा आफूहरूमाथि हुने दुर्व्यवहार तथा घरेलु हिंसाबाट बच्नका लागि समूह बनाएर आलोपालो गर्दै सुरक्षा गस्तीमा हिँड्ने गरेका छन् ।
पुनले बाढी प्रभावित क्षेत्रका महिला र बालबालिकाको अवस्था अत्यन्तै चिन्ताजनक रहेको बताउँदै भनिन्, ‘बाढी प्रभावित महिला र बालबालिकाको अवस्था अत्यन्तै चिन्ताजनक छ । बस्नका लागि अस्थायी बास भएकाले पनि बालबालिका र महिला दुर्व्यवहारको सिकार बन्न पुगेका छन् ।’
पुनको गाउँमा बाढी प्रभावित भई घरवारविहीन भएका ५० भन्दा बढी परिवार शिविरमा बस्दै आएका छन् । शिविरको बासमा महिला र बालबालिकाले धेरै कष्टकर जीवन बिताउनु परिरहेको छ । पर्याप्त मात्रामा ओढ्ने–ओछ्याउने लुगा छैनन् । पिउने पानी र शौचालयको ठूलो समस्या छ । महिलालाई नुहाउन र कपडा फेर्नसमेत समस्या छ । यस्तो अवस्थामा असुरक्षाको फाइदा उठाएर जोकोहीले पनि हातपात गर्न सक्ने सम्भावना रहन्छ । पुनका भनाइमा यस्तो महसुस गरेर जुनसुकै बेला महिलामाथि हुनसक्ने दुव्र्यवहार रोक्न महिलाकै सक्रियतामा सामूहिक गस्ती गर्न थालिएको हो ।
बाँके कचनापुर गाविस– ९ को शिविरमा बस्दै आएकी दीपा रोका बाढीले क्षति पुर्‍याएको घरमा दिन जसोतसो काटे पनि राति धेरै नै डरमर्दो हुने बताउँछिन् । उनी भन्छिन्, ‘एक त अस्थायी छाप्रो, त्यसमा राति मातेर हिँड्ने पुरुषको व्यवहार एकदमै डरलाग्दो हुन्छ । जुन घरका पुरुषहरू कमाउन भारत तथा गाउँबाहिर गएका हुन्छन् त्यो घरका महिला झनै असुरक्षित हुन्छन् ।’ यस्तो बेलामा आफूहरूलाई लक्षित गरेर हिंसा हुने गरेकाले यसबाट बच्न एकजुट भएर गस्ती गर्न थालेको उनले बताइन् ।
बाँके उढरापुर गाविस– २ मा आएको बाढीले त्यस क्षेत्रका घर, खाद्यान्न तथा अन्य संरचना नष्ट भए । बाढीले क्षति गरेको गाउँलेसँग तत्काल बसोबासका लागि व्यवस्था गर्ने साधन–स्रोत नभएकाले केयर नेपालले सो क्षेत्रमा पूर्णक्षतिका दुई सय ३७ घरधुरीलाई त्रिपाल दिएर अस्थायी आवासको व्यवस्था गरेको छ । त्यही त्रिपालको टहराभित्र बस्दै आएकी खगिसरा बाठामगर भन्छिन्, ‘बास त हाम्रो त्रिपालमुनि छ । तप्पतप्प गरेर रातभरि थोपाथोपा शीत झर्छ । ससुरा, जेठाजु, देवर, छोराहरूसँगै एकै पालमुनि रात बिताउँदा साह्रै असहज हुन्छ । शौच गर्न जान झनै समस्या पर्छ ।’
बाढी प्रभावित क्षेत्रमा कतिपय घर पुरुषविहीन छन् । महिला र बालबालिका मात्र पालभित्र बस्ने भएकाले रातको समयमा असुरक्षित हुने भएकाले महिलाले विगत एक महिनादेखि सातवटा समूह निर्माण गरेर राति पालैपालो गस्ती गर्दै आएको जानकारी खगिसराले दिइन् । उनी भन्छिन्, ‘दिनमा त जसोतसो यताउता गर्दै समय बितेको थाहै हुँदैन, तर साँझ ढल्दै गएपछि मनमा नराम्रोसँग डर पलाइरहन्थ्यो । तर, आजभोलि भने नियमित गस्ती हिँड्न थालेपछि डर हराएको छ ।’
महिलाले गस्ती गर्न थालेपछि गाउँ नै बदलिएको छ । खगिसरा भन्छिन्, ‘सुरु–सुरुमा हामीलाई गाउँका पुरुषले महिला भएर रातभर गस्ती गर्ने भनेर कुरा काटे । जब हामी गस्ती हिँड्न थाल्यौँ, गाउँमा दिनहुँ हुने झैझगडा पनि हरायो । गाउँमा पुरुषले मदिरा पिउन र झगडा गर्न पनि बिर्सेझैँ भयोे ।’
स्थानीय विष्णु सुनार थप्छिन्, ‘रातभर कहिले के हुने हो, को आएर हमला गर्ने हो कि, भएको लत्ताकपडा पनि लुटेर लाने हो कि भन्दै त्रासमा बस्नुपर्थ्याे । अहिले त्यो छैन ।’ उनले भनिन्, ‘महिलाको रात्रि गस्ती हिँड्न थालेपछि शिविरमा रहेका पुरुषले पनि मदिरा खान छोडे । महिलामाथि हुने कुटपिटका घटना पनि कम हुँदै गए ।’
महिला तथा बालबालिका कार्यालय बाँकेका सुपरभाइजर तथा लैङ्गिक हिंसाविरुद्धको जिल्ला सञ्जालका ‘फोकल पर्सन’ बिन्दु कुँवर भन्छिन्, ‘दिनहँुजसो कार्यालयमा महिलामाथि दुव्र्यवहार भयो, कुटपिट भयो, अर्काको श्रीमान्ले नराम्रो शब्द प्रयोग ग¥यो वा आफ्नै श्रीमान्ले पिट्यो, दुव्र्यवहार ग¥यो भन्दै उजुरी आउँथे । तर, यो अभियानको नतिजा सकारात्मक छ । घटनाको सार्वजनिकीकरण र न्यूनीकरण दुवैमा यसले सघाएको छ ।
(संचारिका फिचर सेवा) (रुद्र राजधानी दैनिकका नेपालगन्ज ब्युरो प्रमुख हुन् ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: