यात्रीको विश्वास जित्दै रिक्सा चालक महिला


प्रकाशित मिति :2015-04-22 13:14:29

रमला सिंगक

Rikshow 1
मोरङ, वैशाख ९। आत्मवल वलियो भयो भने जस्तोसुकै काम पनि गर्न सकिन्छ भन्ने लाग्छ तुलसा पाण्डेलाई। उर्लावारी नगरपालिका १ स्थित आईतवारेकी ३० वर्षीया तुलसाले आफूमा भएको आत्मविश्वास कै कारण सिटी रिक्सा चलाउन सक्षम भएको बताईन्।
मंसिरदेखि पूर्वमा पहिलो पटक उनले  रिक्सा चलाउन सुरु गरिन्। आफ्नै श्रीमान चुडामणी पाण्डेले चलाएको रिक्सा चलाउन  अभ्यास गर्दा गर्दै रिक्सा चलाउन सिकेकी उनले ४० किलोमिटर दुरीसम्मको वाटो समेत पार दैनिक ओहोर दोहोर गर्दै आएकी छिन्।
तुलसाको श्रीमान चुडामणी पाण्डे पनि रिक्सा चालक हुन्। अहिले दुवैजना मिलेर रिक्सा चलाउछन्। श्रीमतीसँगै भेटिएका उनले भने, ‘उनको आत्मवल देखेर मैले विदेशवाट  कमाएर ल्याएको पैसाले उनकै नाममा रिक्सा किनेर उनलाई जिम्मा लगाएँ। अहिले उनले मैले भन्दा धेरै कमाई गर्छिन्, सबैले महिला रिक्सा चालक भनेर दंग परेर हेर्दा मलाई खुशी लाग्छ। ‘
पहिलो पटक उर्लाबारीकै आईतवारेवाट रिक्सा चलाउँदै उर्लावारीसम्म ल्याउँदा सबै छक्क परेर हेरेको सम्झँदै तुलसाले भनिन्, ‘ओ हो महिला सिटि चालक भन्दै एकैछिनमा घेरे। यस्तो भीड देखेर मलाई झन् साहस वढ्यो। एकजना अधबैंसे महिलाको आवाज अहिलेसम्म पनि कानमा गुञ्जिन्छ उनले आफ्नै लवजमा भनेकी थिईन्, ‘ओ हो कति हिम्मतवाली नानी। केटाले मात्र गर्ने काम गर्यौ , अव यस्तै केटीहरु चाहिन्छ जेपनि गर्न सक्ने। ल राम्रो काम गर्नु सबैलाई गरेर देखाउनु भनेर उहाँले मलाई आर्सीवाद नै दिनुभयो, यसले मलाई झन प्रोत्साहन दियो।’
श्रीमान श्रीमती दुबै सिटि चालक भएपनि उनीहरूको दैनिकी भने फरक छ तुलसाका श्रीमान विहान उठ्ने वितिकै चिया नास्ता गरेर  रिक्सा लिएर निस्कन्छन् भने तुलसाले घरको सवै काम सकेपछिमात्रै रिक्सा लिएर निस्कन भ्याउँछिन्।  ‘विहान ९ वजे भित्र दुई छोरालाई खाना पकाएर खुवाएर स्कुल पठाउनु पर्छ। घरधन्दा सबै सिध्याएपछि ९ देखि साढे नौ वजेसम्ममा रिक्सा लिएर घरवाट निस्कन्छु र बेलुकी ६ वजे घर धन्दाका लागि फेरी घर फर्की सक्नुपर्छ’— उनले भनिन्।
कक्षा ९ मा पढ्दा पढ्दै विवाह गरेकी उनले त्यसपछि पढ्न पाईनन्। पढ्न छोडे पनि घरमा त्यसै वस्न मन लागेन उनलाई। त्यसपछि उनले सुर्ती उद्योगमा काम गरिन्। काम गरेको केही वर्षपछि उद्योग वन्द भयो।फेरी श्रीमानको भर पर्नुपर्यो। २, ४ रुपैयाँका लागि पनि श्रीमानलाई गुहार्नु पर्दा आफूलाई कमजोर महशुस हुने गरेको सम्झँदै तुलसाले भनिन् ‘दुइ/चार पैसा श्रीमानलाई माग्नुभन्दा आफैँले कमाएर स्वतन्त्र ढंगले आफूलाई आवश्यक पर्ने सामग्री उपयोग गर्नु राम्रो ठानेर मैले रिक्सा चलाउने अठोट गरेँ। अहिले उर्लावारी नगरपालिकामा एकमात्र महिला रिक्सा चालक भनेर सबैले चिन्छन् यसमा आफूलाई गर्व लाग्छ।’
महिला आत्मानिर्भर भए पुरुष र समाजले पनि सम्मान गर्दो रहेछ रिक्साको ऐना मिलाउँदै तुलसाले भनिन्, ‘मैले रिक्सा चलाएर पैसा कमाउन थालेपछि सबैले राम्रो गरिस् भनेर ढाढस दिन्छन्। सबैले हाईहाई गर्छन् , सुरुमा कुरा काट्ने , कानेखुसी गर्नेहरू  अहिले राम्रो गरिस् भन्न थालेका छन्।  यो सबै म मा भएको आत्मविश्वासले हो जस्तो लाग्छ।’
तुलसा जस्तै दमक झापाकी सुनीता अछामीलाई पनि आफूलाई सिटि रिक्शा चालक महिला भएको गर्व लाग्छ। अहिलेसम्म पुरुषले मात्र चलाउदै आएको यस्ता यातायातका साधन आफुले चलाएर धेरैलाई गन्तव्यमा पुर्याउन पाउदा असाध्यै खुशी लाग्ने गरेको अछामीले वताईन्।
दमक उपमहानगरपालिकाले ३ महिनाअघि महिलालाई आत्मनिर्भर वनाउन र हरेक क्षेत्रमा समावेश गराउने उद्देश्यले दिएको  रिक्सा चलाउने तालिममा सहभागी भएपछि सुनिता अछामीले २ महिनादेखि रिक्सा चलाउन शुरु गरेकी छन्। असाध्यै व्यस्त वजारमा पहिले पहिले रिक्सा कुदाउँदा डरले मुटुको धड्कन वढ्थ्यो अहिले आत्मवल बढेको छ केही जस्तो लाग्दैन अछामीले भनिन्। दैनिक हजारदेखि १२ सय रुपैयाँसम्म कमाई गर्ने उनले आफ्नो कमाईले १० वर्षीया छोरी शुष्माको पढाई खर्च र घर खर्च धानेर मासिक ५, ६ हजार वचत गर्ने गरेको बताईन्।
पुरुष रिक्सा चालक र महिलामा केही फरक नभएपनि साँझ ६ वजेपछि महिला रिक्सा चालकले आफूलाई सुरक्षित महशुस गर्ने नसकिने अनुभव छ तुलसा र सुनीतासँग । साँझ पर्न थाले पछि केटाहरूलाई आफूलाई जिस्काउने र सांकेतिक हिंसा गर्ने गरेकोले ६ वजेपछि रिक्सा लिएर घर जाने उनीहरूले वताए।
महिलाले चलाएको रिक्सामा यात्रा गर्दा आफूलाई सुरक्षित अनुभव हुने  यात्रीको प्रतिक्रिया छ। रिक्सामा सवार उर्लावारीकी टिका लिम्बूलेे महिलाले पुरुषले जस्तो मादप पर्दाथ सेवन नगर्ने र विश्वासिलो हुने भएकाले पालो कुरेरै भएपनि महिलाले चलाउन रिक्सा चढ्ने गरेको वताईन्।
महिलाले  रिक्सा चलाउन थालेदेखि पुरुष चालकहरूलाई अलिक घाटा परेको वताउँदै दमकमा भेटिएका  रिक्सा चालक अरविन्द राजबंशीले भने ‘सबै यात्री महिला रिक्सा चालकमात्र खोज्छन्। रिर्जभमा जाने ग्राहकले पनि महिला चालकलाई मात्र लान थालेका छन् , पुरुषको पालो एक पटक आँउदा महिलाको रिक्साले कति फन्को मारिसक्छ।’
पूर्वाञ्चलमा अहिलेसम्म व्यावसायिक रुपमा सिटी रिक्सा चलाउने उर्लावारीमा १ र दमकमा ४ महिला सिटि रिक्सा चालक रहेका छन्।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: