महिला खवर
ललितपुर, वैशाख १०। सञ्चारिका समूह नेपालले एक महिना (१– ३० चैत २०७१) मा १४ वटा राष्ट्रिय दैनिकमा गरेको सञ्चार अनुगमनले १२ जना किशोरी तथा महिलाको हत्या भएको देखाएको छ। समूहले जारी गरेको विज्ञप्ति अनुसार अनुगमनमा हत्यासम्बन्धी ८५ वटा समाचार सामग्री प्रकाशित भएका छन्।
अनुगमनमा खेलकुद र अर्थसम्बन्धी समाचारबाहेक दैनिक पत्रिकाका समाचार, विचार तथा सम्पादकीय सामग्री समेटिएको थियो।
अनुगमनमा राजधानीबाट प्रकाशित कान्तिपुर, नागरिक, नयाँ पत्रिका, गोरखापत्र, हिमालय टाइम्स्, कारोबार, राजधानी, अन्नपूर्ण पोष्ट, नेपाल समाचारपत्र, कमाण्डर पोष्ट, नेपाली दैनिक तथा द काठमाण्डु पोष्ट, रिपब्लिका, द हिमालयन टाइम्स, र द राइजिङ नेपाल अंग्रेजी दैनिक समेटिएका थिए।
महिलामाथि हुने विभिन्न प्रकारका हिंसालाई १३ वटा शीर्षकमा अनुगमन गरिएको विज्ञप्तिमा जनाइएको छ । त्यसमा बलात्कार, यौन दुर्व्यवहार, घरेलु हिंसा, दाइजो, मानव बेचविखन, हत्या, बहुविवाह, बोक्सी, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, स्वास्थ्यसम्बन्धी, राजनीतिक र अन्य रहेका छन्।
चैत महिनामा बलात्कारका ३० वटा घटना भएको र बलात्कार सम्बन्धि २५५ वटा समाचार सामग्री प्रकाशित भएका थिए।
अध्ययनले यो एक महिनामा महिलामाथि घरेलु हिंसासँग सम्बन्धित ५ वटा घटना भएको र २८ वटा समाचार, विचार तथा सम्पादकीय छापिएको विज्ञप्तीमा उल्लेख छ।
त्यस्तै बहुविवाहसम्बन्धी ४ समाचार, विचार तथा सम्पादकीय छापिएका थिए। परम्परागत र धार्मिक हिंसासम्बन्धी १८ समाचार, विचार तथा सम्पादकीय छापिएका थिए। यौन दुर्व्यवहारका ६ वटा घटना र १८ वटा समाचार सामग्री प्रकाशित भएका थिए। अध्ययनले महिलामाथि हुने घरेलु हिंसासँग सम्बन्धित ५ वटा घटना र २८ वटा समाचार, विचार तथा सम्पादकीय छापिएको देखाएकोे छ।
त्यस्तै बहुविवाहसम्बन्धी ४ समाचार, विचार तथा सम्पादकीय छापिएको विज्ञप्तिमा जनाइएको छ।स्थानको हिसावले महिला हिंसासम्बन्धी सबैभन्दा बढी समाचार सँधैको जस्तै भित्री पृष्ठमा छापिएका थिए। पहिलो पृष्ठमा ८२ र दोस्रो पृष्ठमा ७३ वटा समाचार छापिएका थिए। सबैभन्दा बढी समाचार (११८ वटा) पाँचौं पृष्ठमा छापिएको थियो। धेरै समाचारलाई सानो ठाउँ दिइएको थियो।
महिलामाथि हिंसा गर्नेमा परिवारका सदस्य (३८), उल्लेेख नभएका (३०), छिमेकी (१२) ,राज्य (९) र सबैभन्दा बढी अन्य (४७) भएको देखाएको छ। सो अवधिमा महिला हिंसासम्बन्धी सम्पादकीय ८, फोटो समाचार १३, लेेख १०५, सफ्ट न्यूज ९३ तथा हार्ड न्यूज ५३७ वटा प्रकाशित थिए। प्रकाशित समाचारमध्ये हार्ड न्यूज ९३, सफ्ट न्यूज ४२ र ३७ वटा लेेखमा मात्र फोटो/स्केच प्रयोग गरिएको थियो।
समग्रमा ती सञ्चारमाध्यमले महिला हिंसासम्बन्धी समाचारलाई प्राथमिकतामा राखी प्रकाशित गरेको पाइएको छ। विज्ञप्ति अनुसार फलोअप समाचार कम आएको पाइयो। यो महिना बलात्कारका २, हत्याका ७ र अन्यका ९ वटा फलोअप समाचार प्रकाशित भए। हार्ड न्यूजमा फोटोको प्रयोग कम (९३) पाइएको छ र समाचार साम्रगीमा पीडित वा पीडक कस्काे तस्बिर राख्ने भन्नेमा स्पष्ट नीतिको अभाव देखिन्छ। जस्तो कि यस महिना पीडितको ३६ र पीडकको २६ वटा मात्र फोटो छापिएको विज्ञप्तीमा उल्लेख छ ।
सञ्चारिका समूहले सञ्चारमाध्यममा महिला हिंसाका समाचार कति आएका छन्? ती समाचारले कस्तो प्राथमिकता पाइरहेका छन् ? हिंसाका समाचारमा फलोअप समाचार आएका छन् कि छैनन् ? समाजमा के कस्ता लैंगिक हिंसा भइरहेका छन् र ती सम्बन्धमा कस्ता समाचार सामग्री आइरहेका छन् भनेर सञ्चार अनुगमन गर्दैआएको छ।
Comment Here!