नारायण ढुंगाना

चितवनको विकट सिद्धी गाविसकी दिलमाया चेपाङको घर वैशाख १२ गते शनिवारको भुकम्पले भत्काई दियो। जस्ताको छानो मात्रै बाँकी छ। बाँकी रहेका घरका केही भित्ताहरू पनि चर्चरी चिरिएका छन्। बस्नै मिल्दैन। अहिले उनको बास उठेको छ।
भुकम्पको धक्काले त्रसित दिलमायाको मन कुँडिएको छ। साना दुई लालाबाला बर्षेनीका जस्ता छन्। बागवीरसँग सानैमा बिहे गरेकी दिलमायाँको सामुन्य विपत्ति नआउँदा पनि सधैँ भोकमरीको सामना गर्नु पर्थ्यो। अहिले विपत्ति आएपछि पीडाको बोझ थपिएको छ।
दुई लालाबाला पाल्न उनलाई यसअघि पनि धौधौ थियो। अहिले घर भत्किएपछि दोहोरो मारमा दिलमाया छिन्। यी बालबालीकालाई के ख्वाउने, कसरी पाल्ने बेलाबेलामा टोलाउँछिन उनी। गाउँका सबैका घर भत्किएपछि भएको केही मकै र कोदो पुरियो।
गाउँका सबै गिठा र भ्याकुर खोज्न जंगल जान्छन्। तर दिलमायालाई दुई लालाबालाले जान दिँदैन। बिहान उठ्यो दिउँसो के खुवाऊँ, दिउँसो भयो बेलुका के खुवाऊँ भन्ने चिन्ताले सताउने गरेको दिलमायाले बताइँन्।
घरका छोरा मान्छेलाई बालबालिकाको चासो कमै हुन्छ। आमाले नै उनीहरूलाई हुर्काउनुपर्छ। पाल्नुपर्छ भन्ने सोच पुरुषमा अझै जकडिएको छ। त्यसमाथि विनाशकारी महाभुकम्पले पीडामाथि पीडा थपिदियो। बेलाबेलामा त्यही भत्किएको घर हेर्ने अनि टोलाउने गर्छिन् दिलमाया। जिल्ला विपद व्यवस्थापनको टोली उनको घर पुग्दा एउटा बालक काखी च्यापेर अर्काे बालक डोर्याउँदै भग्नावशेषमा टोलाउँदै थिइन् दिलमाया। दुख गरेर बनाएको घर क्षणभरमै ध्वस्त भएपछि उनी विक्षिप्त छिन्।
‘बारीको पाटा हुन्छ कि झिगटीका झुप्रोमा राखेर बच्चा त पाल्नै पर्यो नि,’ उनले भनिन्। चितवनका उनी जस्तै पहाडी जिल्लामा भुकम्पले बढी क्षति पुर्याएको छ।
उनी जस्तै पीडामा छिन् गोर्खाकी फूलमाया रम्तेल। गोरखा जिल्लाको बुंकोट गाविस ९ मैलुंगकी फुलमायाँलाई आफ्नो भन्दा गर्भवती बुहारीको चिन्ता छ। घर पूरै चिरा परेजस्तो चर्चरी चिरिएकेा छ। बस्न लायकको घर छैन।
नाति नातिना सहित १० जनाका परिवारमा पाँच जना बालबालिका छन्। बुहारी अस्मिता रम्तेलको सुत्केरी हुने महिना लागेको छ। तर उनले भुकम्प गएको ६ दिन बित्दा समेत एक गेडो चिउरा समेत पाएकी छैनन्। ओत लाग्ने ठाउँ समेत कसैले दिएको छैन। ‘पानी नपर्दा बारीको पाटामा भात पाक्छ, पर्दा बाख्राको खोरमा,’ फुलमायाले भनिन् ,’ती गर्भवती बुहारीलाई पनि बाख्राको खोरमै राखेकी छु।’ पानीसँग पौठेजोरी खेल्ने पनि महिला नै हुने गरेका छन्।
प्रायः सुत्केरी हुने महिलाका लागि नियमित सरसफाइ, पौेष्टिक आहार चाहिन्छ। तर ती अस्मिताले पौष्टिक आहार त के, बस्ने ओत समेत पाएकी छैनन्। ’टाठाबाठाले २,३ पटक राहत पाइसके, हामी निमुखालााई कसले दिने’, अमिलो मन बनाउँदै फुलमाया सम्तेलले भनिन् , ‘कमसेकम गर्भवती बुहारीलाई ओत लगाउने त्रिपाल त देऊ भन्दा पनि कसैले दिएन।’ संयुक्त राष्ट्रिसंघको तथ्यांकले अहिले भुकम्पका कारण ५० हजारभन्दा बढी गर्भवती जोखिममा परेकेा तथ्यांक छ। कति गर्भवतीहरूले खुला चउरमै बच्चा जन्माइरहेका छन्।
सँगै गाउँ जोडिएकी कमला परियार, देवकुमारी परियारले पनि भुकम्पको छ दिनसम्म चिउराको गेडोसम्म राहत पाएका छैनन्। कतै गाडी देख्ने वित्तिकै राहत पाइन्छकी भनेर दौडिन्छन् अनि भौंतारिन्छन् महिलाहरू। एक पोका चिउरा पाए दुई छाक टर्छ भनेर राहत बाँड्ने ठाउँमा पुग्छन् उनीहरू।
परिवार पालने जिम्मा जस्तै हामी महिलालाई हुन्छ। जहाँबाट भए पनि खानेकुरा, तिउन त जोड्नै पर्छ। त्यसैले विहानैदेखि वेलुकासम्म के खाने र खुवाउने भन्ने चिन्ता लागिरहने कमलाले बताइन्। बुधबार राहत वितरणका लागि गाउँमा आएको टोलेबाट पनि उनीहरु तीनै जनाले राहत पाएनन्। ‘हामी दलितलाई कसले हेर्ने?’ देवकुमारीले आक्रोश पोख्दै भनिन्, ‘आफूले पाएको एउटा त्रिपाल पनि देवरले खोसेर राखे, निमुखाको दुःख त उस्तै।
छाक टार्नकै लागि भुकम्प पीडित महिलाहरु राहत लिन दिनभरि भौतारिने गरेका छन्। बालबालिकालाई भोको राख्न मनले मान्दैन।
घरमा भएको अन्न सबै पुरिए पनि कसैले राहत नदिएका कारण महिलाहरु राहतको खोजीमा बढी दौडने गरेको गोर्खा बुंकोट ३ पोखरी डाँडाकी सुन्तलीमाया प्रधानले बताइन्। राहत बाँड्ने स्थानमा प्राय महिलाको भिड हुने गरेको छ।
गोर्खाकी पीडित महिला हिरा श्रेष्ठले भन्छिन्, ‘सँगसँगै भुकम्प आयो, सँगसँगै घर गयो, राहत भने कोहीले पायो, कोहीले पाएन।’
छोरा मान्छेलाई घरमा के समस्या छ भन्ने चिन्ता कमै हुन्छ। वेलुकाको छाकप्रति चिन्ता गर्ने पुरुष औँलामा गन्नुपर्छ। त्यसैले पनि हरेक विपत्तिमा महिलालाई ज्यादा पीडा हुने गरेको फूलमाया रम्तेल बताउँछिन्।
भुकम्पको मनोबैज्ञानिक त्रास पनि उस्तै
अगुल्टाले हानेको कुकुर विजुली चम्किंदा तर्सिन्छ भन्ने उखान अहिले गोरखाकी सुशीला उपरकोटीमा चरितार्थ हुन्छ। वैशाख १२ गते केही सेकेन्डमा घरबाट बाहिर निस्किएर बाँचेकी उनलाई बेलाबेलामा अहिले पनि घुमाउँछ।
जुनसकुकै बेला भुकम्प आएजस्तो र जमिन नै हल्लिए जस्तो हुन्छ। आफ्नो घर चर्किएकाले मन नै चर्किए जस्तो भैरहने गरेको उपरकोटीले बताइन्। हुन त बेलाबेलामा भूकम्प आइरहेकै छ। सय भन्दा बढी कम्पन योबीच भैसकेको छ।
तर कम्पन नभएका बेलामा पनि उनलाई भुकम्प आएजस्तै हुन्छ। अर्की महिला लीला खनालको पनि राम्ररी शरीरले काम गर्न सकेको छैन । गोडा र हात लल्याक लुलुक हुन्छ, अहिलेसम्म काम गर्ने जाँगर चलेको छैन, लीलाले भनिन्। कहिले भूकम्प आउने हो भन्ने डर उनीहरुमा छ।
भूकम्पका बेला भाग्दा आत्तिएका महिलाहरू सपनामा समेत भुकम्प आएकेा देख्ने र बर्वराउने गरेका बताउँछन्। फूलमाया रम्तेल हुन् या कमला परियार, या हिरा श्रेष्ठ सबैलाई भुकम्पको मनोवैशानिक त्रास कायमै रहेको देखिन्छ। त्यसमाथि राहत नपाउँदा अर्काे पीडा हुने गरेको उनीहरुले बताएका छन्।
प्रकाशित मितिः २०७२ वैशाख २१ गते साेमवार
Like this:
Like Loading...
Comment Here!