प्रकाशित मिति :2015-05-04 14:19:06
महिला खवर

ललितपुर, वैशाख २१। भूकम्पका कारण गर्भवती महिलाको गर्भ खेर जाने र महिना नपुग्दै बच्चा जन्मिने खतरा रहेको स्त्री तथा प्रसूती रोग बिशेषज्ञ अचला वैद्यले बताउनु भएको छ। खास गरि ठूला ठूला प्राकृतिक प्रकोपहरू भूकम्प, बाढी पहिरोमा तनावका कारण गर्भ खेर जाने वा महिना नपुग्दै बच्चा जन्मिन सक्ने खतरा रहेको उहाँले बताउनुभयो।
यस्तो वेला प्लेसेण्टल क्लक नामक हार्मोन सक्रिय भएर कोरटिको ट्रोपीन रिलिजिङ हार्मोन पैदा गर्ने र यसले तनाव हुने वैद्य बताउनुहुन्छ। यो हार्मोन पेटमा रहेको बच्चाको सालबाट निस्कने उहाँको भनाइ छ।
उहाँ भन्नुहुन्छ —’भूकम्प आफैले गर्भलाई केही असर गर्दैन भूकम्पपछिको तनावका कारण बच्चा खेर जाने वा महिना नपुगी जन्मिने खतरा रहन्छ।’
पहिलो ३ महिना, ६ महिना र पछिल्लो ३ महिना गरी गर्भावस्थाको ३ चरण हुने र यस्तो तनावले पहिलो ३ महिनाको बच्चा खेर जान सक्ने र पछिल्लो २ चरणको बच्चा महिना नपुग्दै जन्मिने उहाँले बताउनुभयो।
छिटो जन्मिएका बच्चाहरू कम तौलका हुने र बचाउन गाह्रो हुने उहाँको भनाइ छ। भूकम्पका कारण गर्भवती महिला निरन्तर तनावमा बस्दा पछि जन्मिने बच्चाको व्यवहार समेत फरक हुने उहाँ बताउनुहुन्छ। तर भूकम्पका कारण पेटमा रहेको बच्चा अपाङ्ग हुन्छ भन्ने कुरा गलत भएको उहाँले बताउनुभयो।
‘यस्तो वेलामा गर्भवती महिलालाई परिवार सहयोग निकै महत्वपूर्ण हुन्छ ‘—उहाँ भन्नुहुन्छ। उनलाई एक्लै नछोड्ने, तनाव कम गर्न उनको ध्यान अन्तै मोड्ने, रमाइला पुस्तक पढ्न दिने र उनलाई भित्रैबाट आनन्द आउने कुरा गर्नुपर्ने सुझाव स्त्री तथा प्रसूती रोग विशेषज्ञ वैद्य दिनुहुन्छ। ‘गर्भवती महिलाको तनाव कम हुने वित्तिकै उनको मानसिक सन्तुलनमा आएपछि बच्चालाई कुनै असर पर्दैन’— बैद्यले भन्नुभयो।
Like this:
Like Loading...
Comment Here!