अरुणा रायमाझी
प्रहरीले माटो पुच्छ्दै ल्याएका सोनितलाई सफा गरेपछि सलमा राखेर आमालाई दियौं। २२ घण्टासम्म घरभित्र पुरिएको बच्चाले दुध खान्छ वा खाँदैन् भन्ने चासो थियो। चौरमा लगेपछि उसले आमाको दुध आनन्दसँग तान्यो, मैले भगवानलाई पटक पटक धन्यवाद दिएँ।
पत्रपत्रिका र टेलिभिजनमा यो बच्चाका बारेमा समाचार आउँदा म फेरि रोएँ। हिजो मात्रै होला, उनकी आमा एउटा टेलिभिजनमा अर्न्तवार्ता दिँदै थिइन्। मलाई मेरो पेशा प्रति सबैभन्दा गौरव लागेको क्षण थियो त्यो।
भक्तपुर, वैशाख २२। अस्पतालको गेटभित्र जानसक्ने अवस्था थिएन। गेटसम्मै शवहरू राखिएका थिए। मानिसहरू चिच्याई रहेका थिए। म पनि मान्छे न हो। चारैतिर बिभत्स अवस्थामा मानिस चिच्याई रहेको र गेटसम्म शव देख्दा सपना हो कि विपना जस्तो भयो।
काम कहाँबाट शुरु गरौं भयो। पहिला म, पन्जा लगाउँ वा सिजर समाऊ? मेरो मात्र होइन सबै मेडिकल टिमको अबस्था त्यस्तै थियो। तर, हामी नअत्तालिकन उपचारमा लाग्यौं। यो क्षेत्रमा काम गर्न थालेको १० वर्ष भयो। सडक दुर्घटनाको एउटा/दुईटा घाईते देखेकी थिएँ। त्यो दिन घाईते कति थिए कति, यादै छैन।
घाईते बच्चाको शरिरको अंग टुक्रिएको अबस्थामा देख्दा पीडाको सिमा रहेन्। उपचारमा लागेका जो कोहीका आँशु रोकिएनन्। रुँदै उपचार गर्यौँ। अस्पतालको आगनमा टाउँको फुटेका, चुडिएका, हातखुट्ट नभएका बच्चा लिएर आमाबाबु आइपुगे। त्यो देखेर आँशु रोकिने कुरै भएन्। तर धेरै मानिस बचाउनु पर्छ भनेर काममा लागि रह्यौ।
त्यो दिन मैले कति जनाको घाउमा मलम पटिट् गरे त्यो याद छैन्। मात्र सबैलाई बचाउँन पाए हुनथ्यो भन्ने लाग्थ्यो। त्यो रात भक्तपुर अस्पतालका कर्मचारीदेखि सबै डक्टरहरू उपचारमा खटिएका थिए। अस्पतालमा काम गर्ने साथीहरू आफ्नो घर भत्किएको, परिवारसँग सम्पर्क नभएको भन्दै रुँदै काम गरिरहेका थिए। राती गरिब ११ बजे मात्र हामीले पानी खायौं। त्यो बेला भोक निद्रा र थकाईको अनुभव नै भएन।
भूकम्प गएको २२ घण्टापछि भक्तपुर ४ मूलढोकामा रहेको घरमा पुरिएका ५ महिनाका सोनित अवाललाई प्रहरीले जिवितै उद्धार गरेर अस्पताल ल्यायो। त्यो देख्ने वित्तिकै मैले प्रहरीको हातबाट बच्चा समाए। आमा रुँदै, भन्दै थिइन् ‘मेरो बच्चा बचाई दिनु न म बाँचेको छु।’
म र अनीताजीले बच्चाको सबैभन्दा पहिले आँखा सफा गर्यौं। बच्चा रोईरहेको थियो। माटोले गर्दा बच्चाको आँखा बन्द थिए। कान भरिएका थिए। हामीले बेडमा राखेर छिटोछिटो सफा गर्यौ, बच्चाले आँखा खोल्यो। उसको प्राथमिक उपचारमा लागेका हामीहरू डाँको छोडेरै रोयौं। अहिले पनि सम्झँदा मुटु भरिएर आउँछ।
सोनितलाई सलमा राखेर आमालाई दियौं। २२ घण्टासम्म घरभित्र पुरिएको बच्चाले दुध खान्छ वा खाँदैन् भन्ने चासो थियो। चौरमा लगेपछि जब आमाको दुध आनन्दसँग बच्चाले तान्यो, मैले भगवानलाई पटक पटक धन्यवाद दिए। शवहरू देखेर …अफ’ भएको मेरो …मुड’ बच्चाले दुध तानेको देखेर …अन’ भयो। उसलाई अस्पतालमा ल्याउँदा प्रहरीले शरीरमा लागेको माटो पुच्छै ल्याएका थिए। हेर्दा लाग्थ्यो, बच्चा माटोको एउटा ढिक्का हो।
पछि पत्रपत्रिका र टेलिभिजनमा यो बच्चाका बारेमा समाचार आउँदा म फेरि रोएँ। किनकी उसलाई बचाउँनमा हामीले पनि सानो सहयोग गर्न पाएका छांै। हिजो मात्रै होला, उनकी आमा एउटा टेलिभिजनमा अर्न्तवार्ता दिँदै थिइन्। मलाई मेरो पेशा प्रति सबैभन्दा गौरव लागेको क्षण थियो त्यो।
परिवार गुमाएकाहरू अस्पताल बाहिर रोईरहेका थिए। केही आमाबुबा र उद्धारकर्मीहरू मृत्यु भएका बच्चा काखमा च्यापेर …सिस्टर मेरो बच्चा बचाई दिनुन’ भन्दै आउँथे। यो देख्दा साह्रै पीडा हुन्थ्यो। अस्पतालको कहाली लाग्दो अबस्था सम्झँदा के भन्ाौं के नभनौं जस्तो हुन्छ। अस्पताल बाहिरसम्म नै भरिएको थियो। घाईते जहाँ पल्टिएका थिए त्यही गएर सिलायौं।
हामीले भक्तपुरबासीबाट धेरै सहयोग पाएका छौ। मेडिकल नपढेकाहरू समेत केही सहयोग गर्न सक्छौ कि भन्दै आईरहनु भएको थियो।
अस्पतालमा बेहाल अबस्थामा ल्याईएका कैयौं बालबालिकाका आमाबुबा भेटिएका थिएनन्। बच्चा होसमा आएपछि आमा …आमा भन्दै रोईरहँदा …आमा आउनु हुन्छ नरौन भन्दै झुट् बोलीरह्यौं तर, हामीलाई थाहा थियो उनीहरूका आमा बुबालाई भूइँचालोले लगिसकेको थियो। छोरा छोरीसंगै उद्धार गरिएका कतिपय आमाबाबु अक्सिजन लगाउँदा लगाउँदै, मलम पटि्ट गर्दा गर्दै र कोही चिच्याउँदा चिच्याउँदै मेरो आँखै अगाडी प्राण त्यागे गरे। प्रहरीले भने अनुसार भक्तपुर जिल्लाभरि ६० जना बालबालिकाको मृत्यु भएको छ। भो! यो भन्दा धेरै म भन्न सक्दिन।
(भक्तपुर अस्पतालकी सिनियर पारा मेडिक्स संगिता ढुङ्गेलसंग गरिएको कुराकानीमा आधारित।)
Comment Here!