प्रकाशित मिति :2015-05-06 13:12:49
लोग्शरी कुँवर/स्थलगत रिपोर्ट
सिन्धुपाल्चोक (गुफा), वैशाख २३ । सिन्धुपाल्चोकको दुर्गम गाविस ज्यामिरे–८ गुफाका महिलाले सरकार पठाई दिन आग्रह गरेका छन्।
भूकम्पले क्षती पुर्याएको १२ औं दिनसम्म पनि गुफामा सरकारको उपस्थिती नभएपछि सिन्धुपाल्चोक गुफाका महिलाले एक पटक मात्र भएपनि सरकारलाई गुफा पठाईदिन आग्रह गरेका हुन्।
गुफाकी ३० वर्षीया माया तामाङ्ले भनिन्, –“बैनी हाम्रो गाउँमा सरकार पठाईदिनुस् है! हामीलाई धेरै दुःख छ।”
सिन्धुपाल्चोकको मेलाम्चीबाट गाडीमा साढे दुई घण्टा उकालो चढेपछि बल्ल पुगिने गुफामा भूकम्पका कारण कच्ची घर पुर्ण रुपमा भत्केका छन्।
भूकम्पले सबैभन्दा बढी मानवीय क्षती पुर्याएको सिन्धुपाल्चोकका विभिन्न ठाउँहरूमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरूले गाडी र हेलिकप्टर मार्फत राहत वितरण गरिरहेको भएपनि दुर्गममा रहेको गुफामा कसैको दृष्टि नपुग्दा त्यहाँका महिलाले यस्तो आग्रह गरेका हुन्।
५ छोराछोरीकी आमा ३५ वर्षीया मिङ्मर तामाङ्ले भनिन्, – “हामीले पेटभरी खाना नपाएको १० दिन भईसक्यो। त्यसैपनि भोकमरी हुने यो गाउँमा भूकम्पका कारण घर भत्किएपछि भण्डारण गरेको सबै अन्न पुरिँदा हामीलाई हातमुख जोर्न धौं धौं भएको छ।”
सरकार भनेको के हो, थाहा छ? भन्ने जिज्ञासामा मिङ्मरले भनिन्, – “हामीजस्तै मान्छे त होलान् नी! सरकारले यस्तो दुखमा खाने बस्ने व्यवस्था गर्छ रे।” गाउँका मानिसहरूले सरकारले अरु ठाउँमा राहत दिन थाल्यो भन्ने सुनेपछि आफुहरूले पनि सरकारलाई एक पटक हेर्न पाएको भए हुन्थ्यो भन्ने लागेको पनि मिङ्मरले बताइन्।
“घरमा भएको अन्न सबै पुरिएको छ। पाँचजना केटाकेटी आफ्नो पेट पाल्नु पर्ने। अहिले भुकम्पले गर्दा भारी बोक्ने काम पनि पाउन सकेको छैन।” साहुको भारी बोकेर परिवारको पेट पाल्दै आएकी मिङ्लरले आफूहरूलाई त्रिपाल र खानेकुराको एकदमै आवश्यकता भएको बताइन्।
गुफामा रहेको क्याउले प्राविका प्रध्यापक गणेश प्रसाद ओलीले भूकम्पका कारण गुफामा रहेका तामाङ्, शेर्पा, मगर, गुरुङ् र दलितका १ सय ७४ घर पूर्ण रुपमा भत्किएको जानकारी दिए।
भूकम्प जाँदा आत्तिएर भाग्ने क्रममा गुफाका १५ जना बालबालिका घाईते भएपनि मानवीय क्षती भने नभएको स्थानीय भागकिर तामाङ्ले जानकारी दिए।
गुफाका महिलाले सरकार र गैरसरकारी संस्थाहरूलाई सदरमुकाम आसपास र सडक छेउछाउका बस्तीमा मात्र राहत नदिई गुफा जस्तो दुर्गममा रहेको गाउँमा पनि राहतको व्यवस्था गरिदिन आग्रह गरे।
उनीहरूले राहत वितरण गर्न आउँदा गर्भवती महिला, सुत्केरी महिला, दुधे बालबालिकाको लागी अत्यावश्यक सामग्री र खाद्यान्न सहित आउन पनि आग्रह गरे।
Like this:
Like Loading...
Comment Here!