प्रकाशित मिति :2015-05-07 12:54:21
महिला खवर
ललितपुर, वैशाख २४ । कृपा थापा टुँडिखेलमा बनाइएको अस्थायी धारोमा बुधबार दिउँसो आफ्नी ४ वर्षीया बहिनी खुसीलाई नुहाइदिँदै थिइन्। भुइँचालो आएयता उनले नुहाउन पाएकी थिइनन्। ‘नुहाउन नपा’को दुई साता हुन लाग्यो’ उनले भनिन्, ‘बैनीलाई फोहोर भएर नुहाइदिन लागेको।’
वैशाख १२ गते आएको विनाशकारी भूकम्पले कपन लिएको डेरा भत्किएपछि यो परिवार टुँडिखेल सरेको हो। आमा बुबा सहित उनीहरूको परिवारले टुँडिखेलको अस्थायी टहरामा आश्रय लिइरहेको छ। ‘बुबाआमा काममा जानु’भा छ’ उनले भनिन्, ‘बैनी र म घरमा बसेका छौं। निला, हरिया र काला रंगका त्रिपालले टुँडिखेल भरिएको छ।
वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा घरबास उठेका मानिसहरुले टुँडिखेलका अस्थायी टहरामा आश्रय लिइरहेका छन्।
भूकम्पले विस्थापित भई टुँडिखेलको अस्थायी टहरामा आश्रय लिएर बस्नेको संख्या बुधबार एक हजार ८ सय ७६ जना छ। तीमध्ये अधिकांश महिला र बालबालिका छन्।
टुँडिखेलमा बस्ने भूकम्प पीडितलाई व्यवस्थापन गर्दै आएको नेपाली सेनाको बाहिनी अड्डाका कमाण्डर कर्नेल प्रयोगजंग राणाका अनुसार १ सय १० वटा पालमा बस्नेमध्ये ८ सय ३७ जना महिला र ४ सय ४६ जना बालबालिका छन्।
उनीहरुको लागि टुँडिखेलभित्रै खानाको व्यवस्था गरिएको छ। रितु पण्डित र उनकी बहिनी नीता टपरीमा राखेको दालभात मिठो मानीमानी खाँदै थिए। ‘चाबेलको घर भत्कियो’ चौरमा बसेर भात खाइरहेकी रितुले भनिन्, ‘मम्मीहरूले यहाँ ल्याएर राख्नुभयो।’
बालबालिकामा परेको मनोवैज्ञानिक असर हटाउन केयर नेपालको सहयोगमा टुँडिखेलभित्रै ‘रिक्रियसन सेन्टर’ को पनि व्यवस्था गरिएको छ। सोही केन्द्रमा रीमा र रेखा टेलिभिजन हेरेर रमाउँदै थिए।
टुँडिखेलको अस्थायी टहरामा १५ देखि २० जना बस्दै आएका छन्। सुत्केरी महिलाले पनि यहाँ आश्रय लिनु परेको हुनाले विभिन्न संघ संस्थाले सुत्केरी स्याहार केन्द्रको व्यवस्थापन गरेका छन्।
त्यसैगरी भूकम्प पीडितका लागि विभिन्न संघ संस्थासँग मिलेर नेपाली सेनाले ६० वटा शौचालय पनि निर्माण गरेको छ। तिमध्ये ३० वटा महिलाका निम्ति छुट्याइएका छन्।
शब्द तथा तस्विर : प्रतिमा सिलवाल
Like this:
Like Loading...
Comment Here!