भूकम्पले चुँड्यो छमछमी नाँच्ने सुन्दर गोडा


प्रकाशित मिति :2015-05-07 13:16:04

महिला खवर
Nirmala 2ललितपुर, वैशाख  २४।  ट्रमा सेन्टरको पोष्ट अपरेटिभ वार्ड, वेड नम्वर ५। बुधबार अस्पतालको वार्डमा पुग्दा ७ वर्षकी बालिका छट्पटाइरहेकी थिइन्। आँखाबाट आँशु टप्किरहेको थियो। ‘बुबा दुख्यो’ भन्दै उनी छट्पटाइरहेकी थिइन्। रुँदारुँदा दुबै आँखा भुक्क फुलेका छन्। वैैशाख १२ को विनाशकारी भूकम्पमा घर बाहिर भाग्न लाग्दा ७ वर्षकी बालिका निर्मला परियार पर्खाल भत्किएर पुरिइन्।
‘बुबा घर हुनुहुन्थेन’ घरबाट निस्किएर भाग्न लाग्दा छोरीलाई पर्खालले झ्याप्पै पुर्‍यो।’ ट्रमा सेन्टरमा कुरुवा बसिरहेकी उनकी आमा छुमदेवी परियारले भनिन्, ‘छोरी मरी भनेर चिच्याउन थालें, धन्न वरिपरिका मान्छेले निकालेर अस्पताल ल्याइदिए।’
ढुङ्गामा च्यापिएर निर्मलाको दाहिने खुट्टाको घुँडामुनिको भाग नै चुँडियो। घुँडामुनिको भाग काम नलाग्ने भएपछि डाक्टरले काटेर फालिदिए।
निर्मलाको घर ओखलढुङ्गा हो। आमा छुमदेवी छोराछोरीलाई पढाउने खेतीपाती गर्ने गरेर ओखलढुङ्गाको यसम गाविस वडा नम्वर ३, डाँडागाउँको घरमा बस्थिन्। निर्मलाको बुबा चित्र परियार काठमाडौंमा काम गर्न डेरा गरी बसेका थिए।
तीन दिदीदाजु र आफ्नो कक्षा ३ को परीक्षा सकेपछि निर्मला आमा छुमदेवीसँगै बुबालाई भेट्न २२ दिनअघि काठमाडौं आएकी थिईन्। ‘भोलिपल्ट घर फर्किने तयारी गरेका थियौं’ छुमदेवीले भनिन्, ‘अघिल्लै दिन भूकम्पले बिजोग बनायो।’
अरु तीन छोराछोरीलाई भैँसेपाटी स्थित आफन्तको डेरामा राखेर परियार दम्पत्ती छोरीको उपचारमा ट्रमा सेन्टरमा खटिएका छन्। ‘बरु बाङ्गो नै होस् मेरो छोरीको खुट्टा नकाटिदिनु भनेर डाक्टरलाई अनुरोध गरेको थिएँ’ निर्मलाका बुबा चित्रले भने,’डाक्टरले मिल्दै मिल्दैन भने।’
खुट्टाको शल्यक्रियापछि उनको स्वास्थ्यमा भने क्रमिक सुधार भइरहेको छ। अस्पतालकी सिनियर नर्स भगवती थपलियाका अनुसार निर्मला अब खतरामुक्त छिन्। घाउ निको भएपछि उनी हिँडडुल गर्न सक्छिन्, तर देब्रे खुट्टाको मात्रै सहाराले।
निर्मला गाउँन र नाच्न निकै सिपालु छिन्। सिद्ध मोनपुरदेवी प्राथमिक विद्यालय ओखलढुङ्गाकी छात्रा स्कूलमा हुने नाच प्रतियोगितमा जितेर पुरस्कार ल्याउँथिन्। पुरस्कृत हुँदा बेलाबेला उनले बुबाआमासँग भन्थिन्, ‘म ठूलो भएपछि नाचेर ठूलो मान्छे बन्छु है।’
‘मेरो छोरी अब कसरी नाच्ली?’ निर्मलाका बाबु घरीघरी यही सुर्ता गर्छन्– छोरीको खुट्टा नै काटियो, बरु बाङ्गो नै भए पनि नकाटिएको भए नाच्न त सक्थी!
घाउ नदुखेको बेला निर्मला आमाबुबासँग सोधिरहन्छिन्, ‘अब म नाच्न सक्दिन हगि! निर्मलाको प्रश्नमा बुबाआमा मुखामुख गर्छन् अनि निरुत्तर हुन्छन्।
तर, उनीहरू भन्न सक्दैनन् ‘छोरी एउटै मात्रै खुट्टाले पनि छमछमी नाच्न सकिन्छ।’ सायद उनीहरूलाई थाहा छैन, निर्मलाको जस्तै एउटामात्रै खुट्टा भएकी रोमा न्यौपाने जस्ता अपाङ्गता भएकाले एउटा खुट्टाको भरमा छमछमी नाचेर देश र विदेशमा पनि आफ्नो पहिचान छाडिसकेका छन्।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: