भुइँचालोले हल्लाएको मानसिक सन्तुलन


प्रकाशित मिति :2015-05-07 16:06:14

प्रदीप मेन्याङ्बो
Pradeep Menyangbo महाविनासकारी भुकम्पपछि धनजनको क्षतिसगै उत्पन्न महाविपत्तिमा पनि मुस्किलले बाँचेकामध्ये अधिकांश व्यक्तिमा विभिन्न मानसिक रोग देखा पर्न सक्ने भए पनि सरकारले त्यतातिर पनि ध्यान दिन सकेको छैन। तर मनोवैज्ञानिक तथा मनोचिकित्सकहरुले मानव समुदायमा महाविपत्तिको बेला मानसिक आघात हुन सक्ने भएकाले त्यतातिर पनि ध्यान दिन सुझाव दिएका छन्। बैशाख १२ गते शनिबार आएको विनासकारी भूकम्पपछि महिला, बालबालिका सवैभन्दा बढी प्रभावित भएका छन्। मानसिक आघात पनि उनीहरुलाई नै बढी हुने भएकाले मनोवैज्ञानिक उपचार पद्धतिलाई राज्यले पच्छ्याउनु जरुरी रहेको मनोविज्ञानीहरुले बताएका छन्।
भूकम्प प्रभावित गोर्खामा एकसातासममम राहत तथा उपचार गरी फर्केका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विषेशज्ञ डा. मधुर बस्नेतले भुकम्पमा आफन्त प्रियजन गुमाएका, घरबार गुमाएका मानिसहरुमा अत्यधिक डर त्रास र मानसिक आघात देखिएको बताए। उनले भने, ‘भुकम्पपछि मानिसले अथाह पीडा भोग्न बाध्य भएका छन्। भुकम्प पीडितमध्ये कसैलाई मुटु दुख्ने, जुनसुकै बेला ढुकढुकी बढ्ने, सासफेर्न गाह्रो हुने, के होला कसो होला भनेर चिन्ता हुनेजस्ता लक्षणहरु लिएर स्वास्थ्य शिविरमा धेरै विरामीहरु आएका थिए। यस्तो बेला मानिसमा अनिश्चितताको कारण पीडितलाई मानसिक आघात हुन्छ। उनीहरुको उपचार बेलैमा नगरे भविष्यमा अर्को समस्या उत्पन्न हुनसक्छ।’
यस्ता अकल्पनीय महाविपत्तिबाट मानिसमा उत्पन्न हुने मानसिक रोग झन दर्दनाक हुने उनले बताए। भुकम्पमा परी मर्ने त मरी गए तर जसले आफ्नै अगाडि भुकम्पले भत्किएको घरमा च्यापिएर आफन्त गुमाएका देखे, अत्यन्त विभत्स दृष्य देखे, परिवारका अन्य सदस्य गुमाएका देखे, घरबार विहिन भएर सडकमा आएका छन्, ती जीवित व्यक्तिहरुलाई विभिन्न खाले मानसिक रोग लाग्न सक्ने भएकाले बेलैमा ध्यान दिन जरुरी रहेको उनले बताए।
 बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख एसोसिएट प्रोफेसर मनोचिकित्सक डा निदेश सापकोटाले भने, ‘भुकम्पको महाविपत्तिपछि अव केहीदिन ‘क्राइसिस म्यानेजमेन्ट’ सँगै उद्धार, उपचार र राहत वितरणको क्रम चल्छ। तर पिडितको समय बित्दै गएपछि महाविपत्तिका दृष्य ती व्यक्तिका दिमाग र मनमा बारम्बार दोहोन्छि जसले गर्दा मानसिक रोग उत्पन्न हुन्छ।’ भुकम्पमा परी भांचिएको शरीरको हात खुट्टा जोड्न त सकिन्छ तर मन जोड्न मुस्किल हुने भएकाले सरकारले त्यता तिर पनि ध्यान दिन आग्रह गरिएको विभागीय प्रमुख सापकोटाले बताए।
 मानव समुदायमा हुने यस्ता महाविपत्तीपछि विनास भोग्ने पिडितलाई मात्र नभएर देख्ने र सुन्नेलाई समेत एक्यूट स्ट्रेस रियाक्सन (एसएसआर), पोस्ट ट्रमाटिक डिस्अर्डर (पिटिएसटी), साइकोसिस, डिप्रेसन, चिन्ता, तनाव, अवसाद जस्ता मानसिक रोग लाग्न सक्ने सापकोटाले बताए। उनले विकसित मुलुमका यस्ता महाविपत्तिपछि आफ्ना नागरिकको मानसिक आघात कम गर्न र सहज जीवन यापनमा फर्काउन राज्यले नितिगतरुपमा बेग्लै व्यबस्था गर्ने गरेको बताए।
 मनोविज्ञानि र मनोचिकित्सकहरुले विपत व्यवस्थापनमा उद्धार, राहत र शारीरिक उपचारका साथै मानसिक उपचार सेवाको पनि संगसंगै व्यबस्था गर्नु पर्नेमा जोड दिएका छन्। विपत्तिपछि उत्पन्न हुने मानसिक रोगले व्यक्तिको दैनिक कार्यसम्पादन क्षमतामा ह्रास आउने भएकाले पीडितहरुको जीवन यापनमा असर परेपछि त्यसको असर प्रत्यक्ष र परोक्षरुपमा समाज र मुलुलकलाई पर्ने उनीहरुले बताए।
 प्रतिष्ठानका मनोवैज्ञानिक एसिस्टेन्ट प्रोफेसर डा राजेश कुमारले भने, ‘यस्ता महाविपत्तिपछि पनि मानिसको मनमा त्रासले बास गरिरहन्छ। ठूला विपत्तिका क्षणलाई विर्सन नसकेपछि मनमा दीर्घकालिन चोटको रुपमा बस्छ। मानिसको मनलाई सामान्य बनाउन अथवा त्यसलाई व्यबस्थापन गर्न साइकोथेरापी आवश्यक पर्छ।’
एक्कासी यस्ता महाविपत्ति हुदा आफ्न्त परिवार गुमाएका र धनजनको अकल्पनीय क्षति भोगेका व्यक्तिले तत्काल स्वीकार्न नसक्दा मानसिक आघात व्यक्तिलाई हुने बताए। मनोचिकित्सक कुमारले भने, ‘यस्तो अवस्थामा मानिस भावसुन्य हुन्छ। जुन अवस्थालाई पचाउन सकेन भने ‘क्रोनिक’ हुन सक्छ र उसको भविष्य झन दुखदायी हुन्छ। त्यसलाई पुनस्थापित गर्न राज्यले बेग्लै नीति निर्माण गरेर उपचार सेवा दिनु जरुरी छ।’
  महाविपत्तिमा परेर परिवार, जनधन गुमाएपछि मानसिक आघात हुन सक्ने भएकाले उनीहरुलाई सुरुमै चिन्तन मननमा आधारित मनोवैज्ञानिक उपचार कग्नेटिभ थेरापी दिन जरुरी रहेको पनि उनले बताए। कग्नेटिभ थेरापीमार्फत पीडितले भोगेको देखेको र सुनेको भयावह विपत्तिलार्ई स्वीकार्न सक्ने बनाउन सकेपछि उसले नयाँ जीवन सुरु गर्ने र सहज महसुस गर्दै जाने उनले बताए। सर्वस्व गुमाएका पीडित व्यक्तिको चिन्तनमा व्यापक परिवर्तन गराउन अहिले जरुरी रहेको उनले बताए।
 अर्का मनोविज्ञानी विनोद देवले भने, …महाविपत्तिपछि राज्यले पीडितलाई भौतिकरुपमा गरेको राहत र उपचार केवल आंशिक सहायता मात्र हो। पीडितमा परेको मानसिक आघातको पुर्ताल त्यस्ता राहत र उपचारले गर्न सक्दैन। उसलाई जे भयो सकियो, अव बाच्नेले नयाँ चिन्तनको आधारमा जीवन यापन गर्नु पर्छ भन्ने आत्मविश्वास, बैचारिक निपूर्णता पुनस्थापन गर्न विभिन्न मनोवैज्ञानिक थेरापी दिनु जरुरी छ। त्यो काम गर्न मनोवैज्ञानिक, मनोचिकित्सकहरुको मुख्य भुमिका भए पनि मनोचिकित्सक, मनोविज्ञानी एक्लैले सोचेर मात्र हुदैन।
राज्यले समन्वय गर्नु पर्छ। विपत्तिमा परेकालाई मानसिक राहत दिनु जरुरी छ।’ मनोवैज्ञानिक र मनोचिकित्सकहरुले यस्तो सुझाव दिइरहदा सरकारले यसअघि समेत अभ्यास नगरेको र मानसिक राहत दिने तर्फ नसोचेकाले बेलैमा ध्यान दिन उनीहरुले आग्रह गरेका छन्।
 विश्व स्वास्थ्य संगठन अनुसार कुनै पनि व्यक्ति स्वस्थ मानिनका लागि त्यो व्यक्तिको शारीरिक एवं मानसिक स्वास्थ्य स्वस्थ हुन जरुरी छ। तर हालसम्म नेपालमा सरकारले शारीरिक स्वस्थतालाई मात्र ध्यान दिएर सोही अनुसार स्वास्थ्य निति बनाउदै आएको सन्दर्भमा मनोचिकित्सक समेत रहेका विभागीय प्रमुख डा. निदेश सापकोटाले भने, ‘मुलुकको स्वास्थ्य संरचना नै अपूर्ण छ। नगण्यरुपमा मात्र अन्चल अस्पतालमा मात्र मानसिक रोगीको उपचार गर्न भनेर मनोचिकित्सकको केही दरवन्दी छ। बाँकी केही मनोचिकित्सकहरु शहर केन्द्रित ठूला मेडिकल कलेज र अस्पतालमा छन्।’
 उनले विपत्ति पछि राज्यले तत्काल मनोवैज्ञानिक उपचारका लागि हेल्प डेस्क राखेर मानसिक आघात पीडितलाई उपचार र परामर्श दिने निति बनाउनु पर्ने बताए। उनले भने, ‘विपत्तिमा परेका सवैलाई औषधी चाहिन्छ भन्ने छैन, कतिपयलाई मनोपरामर्श सेवा भए पुग्छ। कडाखाले मानसिक आघात भएकालाई रोगको प्रकृति हेरेर पनि निर्धारण गर्नु पर्ने नीति बनाउन सकिन्छ। जसले गर्दा भविष्यमा पोष्ट ट्रमाटिक डिस्अर्डर लाग्नबाट जोगाउन सकियोस्।’
उनले महाविपत्तिपछि मानसिक आघातका कारण मानसिक सन्तुलन गुमाउने वा साइकोसिस, डिप्रेसन जस्ता मानसिक रोग भएकालाई समाजमा अहिले पनि ‘पागल, बहुला, दिमागको पेच खुस्किएको, ठिस भएको’ जस्ता संज्ञाले पुकार्ने गरिएकाले पनि कतिपय मानसिक विरामी चिकित्सकसम्म नपुग्ने र कतिपयलाई आफु मानसिक आघात पीडित भएको भन्ने हेक्का नै नरहने बताए। उनले भने, ‘भूकम्पले यति ठूलो विपत्ति उत्पन्न गराएको बेला हामी त्यो विपत्तिमा नपर्नेलाई त पत्रपत्रिकामा समाचार र फोटो, टेलिभिजनमा दृश्य र एफएम रेडियोमा उनीहरुका पीडा सुन्दा आङ सिरिङ्ग भएका छन् झन् भोग्ने र पर्नेको अवस्था कस्तो होला बयान गर्न र अनुमान गर्न सकिन्न। यसर्थ पनि आघात पीडितलाई राज्य, सरकार र सवैले राहतसँगै मानसिक राहतका लागि विभिन्न जनचेतनामुलक कार्यक्रम गर्न जरुरी छ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: