प्रकाशित मिति :2015-05-11 11:42:06
प्रताप बानियाँ

म्याग्दी,वैशाख २८। गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट पीडित बनेकाहरुलाई म्याग्दी जिल्लाका महिला सहकारीले राहतस्वरुप आर्थिक सहयोग गरेका छन्। महिलाको आफ्नै सक्रियता र व्यवस्थापनमा सञ्चालित ती सहकारीले भूकम्प प्रभावितलाई साढे २ लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।
जिल्लाका २५ ओटा सहकारी र आमा समूहबाट कुल २ लाख ३० हजार ७० रुपैयाँ राहत संकलन गरी जिल्ला विपद् व्यवस्थापन समिति म्याग्दीलाई हस्तान्तरण गरिएको हो।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक टेकबहादुर केसीले विभिन्न संघसंस्थाबाट राहतस्वरुप प्राप्त रकम पारदर्शी रुपमा पीडितसमक्ष पुर्याइने बताउनुभयो। उहाँले जिल्लाका भूकम्पपीडितलाई राहत सहयोग गरिसकेपछि बचत रकम अन्य जिल्लाका पीडितलाई पनि सहयोग गरिने बताउनुभयो।
जिल्ला विपद् व्यवस्थापन समितिको खातामा हालसम्म २१ लाख १२ हजार चारसय ९४ रुपैयाँ जम्मा भएको सहायक प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समिति सहायता कक्ष संयोजक यामबहादुर चोखालले जानकारी दिनुभयो। भूकम्पले म्याग्दीमा पूर्ण ११०, आंशिक ५८० र सामान्य ९१७ गरी कुल १६ सय ८ घरमा क्षति पुगेको छ।
पहिलो चरणमा सबै गाविसका पूर्ण र आशिंक क्षति पुगेका र बेनी नगरपालिकाका पूर्ण क्षति पुगेका पीडितलाई राहत वितरण भैरहेको छ। थप रकम जुटाएर बेनपाका आशिंक प्रभावितलाई पनि जतिसक्दो छिटो राहत वितरण गर्न पहल भैरहेको सहायक प्रजिअ चोखालले बताउनुखयो। भूकम्पपीडितको राहतका लागि मात्रै म्याग्दीमा करिब ५० लाख रुपैयाँ आवश्यक भएको बताइएको छ।
Like this:
Like Loading...
Comment Here!