प्रकाशित मिति :2015-05-12 12:41:22
महिला खवर

ललितपुर, वैशाख २९ । विपदका कारण बालबालिकामा परेको आघातबाट बाहिर निकाल्न सिविसले विभिन्न संघसंस्था तथा सरकारी निकायको सहकार्यमा १४ वटा बालमैत्री सिकाई केन्द्र (बालसंरक्षण चौतारी) स्थापना गरेको छ । मनोबैज्ञानिक त्रास र असहज परिस्थितीबाट वाहिर ल्याउन बालमैत्री अध्ययन, मनोसामाजिक विमर्श सेवा र मनोरञ्जन दिएको सिवीसले जनाएको छ । सिवीसका अनुसार यी केन्द्रमा दैनिक ८०० भन्दा बढी बालबालिका आउने गर्छन् ।
प्रभावित बालबालिकहरू खेल्ने तथा सिक्ने स्थानको अभाव र घरपरिवार तथा छरछिमेकमा समेत भूकम्पका कुराले थप त्रास सृजना भइरहेकाले उनीहरूलाई छुट्टै वातावरण आवश्यक भएको भन्दै केन्द्रहरू सञ्चालन गरिएको सीविसले जनाएको छ ।
बालबालिकाहरूमा डराउने, सुतिराख्ने, घरभित्र जान नचाहने, नबोल्नेलगायतका समस्या देखिएका कारण उनीहरूलाई खेल खेलाउँदै नजिक हुँने र डर कम गराउँदै लगिएको बालसंरक्षण चौतारीमा कार्यरत मनोसामाजिककर्ता तथा शिक्षक राजु केसीले बताउनुभयो ।
यी केन्द्रमा बालबालिकालाई स्वास्थ्य सेवा, मनोविमर्श सेवा दिँदै उनीहरूलाई चित्रकला, खेलकुद, गीत गाउने, नाच्ने, पढ्नेलगायतका क्रियाकलाप गराइएको छ ।
साथै बालबालिकामा देखिएको तनाव हटाउँदै सिकाउने वातावरण निर्माण गर्न सवीसले शिक्षकलाई मनोसामाजिक विमर्श सम्बन्धी अभिमुखीकरण पनि दिएको जनाएको छ । काठमाडौं र ललितपुरका गोटिखेल स्रोत केन्द्र, गणेश स्रोत केन्द्र र गोंगबु स्रोत केन्द्रमा १८३ जना शिक्षकलाई जिल्ला शिक्षा कार्यालय ललितपुर तथा जिल्ला शिक्षा कार्यालय काठमाडौको सहकार्यमा अभिमुखीकरण आयोजना गरिएको हो ।
प्राकृतिक विपदपछि बालबालिकालाई विद्यालयमा प्रवेशलाई सहज बनाउन तथा विद्यालय जाने वातावरण निर्माण, पहिलो कक्षा कसरी लिने तथा सहज सिकाईका लागि पहिलो चरणको कार्यमा शिक्षकहरुको भूमिका नै महत्वपूर्ण हुने हुँदा मनोसामाजिक अभिमुखीकरण आयोजना गरिएको सिविसका बालसंरक्षण संयोजक युवराज घिमिरेले बताउनु भयो । घिमिरेले तालिम प्राप्त शिक्षकमार्फत विद्यालयमा बालबालिकालाई मनोविमर्श र व्यक्तिगत मनोविमर्श प्रदान गरिने तथा देशव्यापीरुपमा यो कार्यक्रमलाई अगाडी बढाउने जानकारी दिनुभयो ।
Like this:
Like Loading...
Comment Here!