भूकम्पको रिपोर्टिङ : हातमा कलम आँखामा आँशु (भिडियोसहित)


प्रकाशित मिति :2015-05-15 10:59:44

dhading pic

बैशाख १२ गतेको भूकम्पले धेरै जनधनको क्षति गर्यो । भूकम्पका कारण कतिपयले परिवारको सदस्य गुमाए । कतिले गुमाए परिवारको धरोहर । कतिलाई त वियोग बेदनामा बोझ पनि थप्यो ।

विनाशकारी भूकम्पले दिएको ‘बेदना र बोझ’ को महिला केन्द्रित रिपोटिङ्गको लागि समकोण कार्यक्रमको टीम मंगलबार धादिङको साङ्कोसमा थियो । हामी पीडा खोजी हिँडेका थियौं, अर्काको वेदना धेरैसम्म पुर्‍याउने पत्रकारको काम जो छ ।

घर ढलेको एक आँगनमा पुग्यौं । सीता भट्टको माइतीघर भूकम्पले पल्टाएको थियो । कटहरको रुखमुनि सुन्तला रंगको पालमा खण्डहर घर हेरेर बसेका थिए परिवारका सदस्य । हेर्दा देखिन्थ्यो ओत लाग्ने घरको भग्नावशेष । सीता भट्टको त्यो माइतीघरका हरेक सदस्यको मनभित्र बनेका भग्नावशेषबारे खोजी गर्दै थियौं हामी ।

१२ गतेको विनाशकारी भूकम्पमा श्रीमान रामचन्द्र रेग्मी र देवर रामकृष्ण गुमाएकी थिइन् सीताले । १३ दिनको किरियाकर्म सकेर नलाङस्थित घरबाट माइती आएकी रहिछन् ।

सीताले गलामा एक डोरो रातो माला, निधारमा मसिनो मखमली टिका र हातमा बाला लगाएकी थिइन् । पहिरन सामान्य विवाहित नेपाली महिलाको झैं थियो । एकहदमा भन्दा श्रीमानको मत्युपछि महिलाले सेतो पहिरनमा बेरिएर आफूलाई निरिह देखाउनुपर्ने बाध्यताको केही हद उनले चिरेकी थिइन् ।

हामी उनीभित्रको पीडा खोतल्न तयार भयौं । टेलिभिजनको लागि दृश्य खिच्न क्यामरा सेटिङ गरियो । लाइट, सट, बस्ने ठाउँको सेटिङ एक किसिमले भन्दा हामी कुनै धाराबाहिक टेलिश्रृङ्खला सुटिङ गरेझैं दृष्य ।
हामी पत्रकार कतिधेरै बाध्यताले घेरिएका हुन्छौं । एकातिर कसैको पीडालाई झन् कोट्याएर उनका कुरा खोतल्नुपर्ने । अर्कोतिर प्राविधिक सेटिङ पनि दुरुस्त गरी ‘प्रसारणयोग्य’ बनाउनुपर्ने । त्यतिबेला पीडामा भएका महिलालाई हुने थप पीडाको अनुभुत नगरेको पक्कै होइन । तर पेशागत बाध्यताले पनि बाँधिएका छौं हामी ।

समकोण कार्यक्रम सञ्चालक निर्मला शर्माले सीताको अवस्थाबारे कुराकानी थालेपछि उनको मनभित्रको धाराबाहिक पीडा ‘विस्फोट’ भएझैं लाग्यो । माइक अगाडि परेपछि सीताको आँखाबाट आँशुका धारा बग्न थाले ।

‘बिहे पछि १५ महिना पनि सँगै बस्न पाएका थिएनौं’ सीता भक्कानिदै बोल्न थालिन्, ‘करिअर करिअर भन्दै उहाँ काठमाडौं म धादिङ बस्यौं । एक वर्षअघि मात्रै एमएसी सकेर पढाउन थाल्नु भएको थियो । दैवले देख्न सकेन…..’ उनको क्रन्दनको अघि हामी निःशब्द थियौं ।
बिना शब्द क्यामरा र माइक तेर्साउनुको विकल्प थिएन । सीताको भक्कानो बढ्दै थियो । आडमा थिए ६ वर्षका उनको छोरा अविनव । आमाको भक्कानोमा ६ वर्षीय बालक थपिए । निर्दोष आँखा पुलुक्क आमाको मुहारतर्फ फ्याँक्दै आँखाबाट आँशुका धारा बगाउन थाले । सीताकी आमा शान्ता भट्ट, बुबा शालिग्राम भट्टका सामु पनि छोरीलाई सम्हाल्ने कुनै शब्द थिएन, न त हामीसँग नै थियो । निःशब्द एकोहोरो त्यो क्रन्दन कैद गर्दै थियौं हामी ।

मंगलबार दिउँसोको १२ः ५५ भएको रहेछ । एक्कासी जमिन थर्किन थाल्यो । सुरुमा त लागेको थियो सामान्य अनुकम्पन मात्रै हो । फेरि ठूलो आवाजका साथ भुइँ थर्किन थाल्यो । १२ गतेपछिको दोस्रो ठूलो भूकम्प रहेछ । त्यतिबेला दुईतिर भिडियो क्यामरा चलिरहेको थियो । बीचमा बसेर म फोटो खिच्ने र अडियो रेकर्डिङ्ग पनि गर्दै थिएँ ।

भुकम्पले जमिन थर्किन थालेपछि कहाँ भाग्ने द्विधा थियो । मन अस्थिर थियो ।  अझ बालक अविनव भक्कानो छोडेरै रुन थाले । आमा सीताको आँखाबाट आँशु रोकिएको थिएन । आफू सम्हालिदै छोरालाई काखमा लिएर नरोऊ भन्न थालिन् ।
प्रकृतिले नै दिएको विपत्ति नसहनुको पनि विकल्प छैन । श्रीमान् र देवर गुमाउनुको पीडा एकातिर छ । अर्कोतिर माइतीको घर आँगनसँग मिलेको छ । उता घरमा वृद्ध सासु ससुरा छन् । माइती साङ्कोश नजिकैको लिटिल स्टार प्राथमिक विद्यालयकी अस्थायी शिक्षिका पनि हुन् सीता ।

भूकम्प अघि श्रीमान् काठमाडौंमा कलेज पढाउँथे । सीतापाइलामा डेरा गरी बस्थे । कमाइ राम्रो हुन थालेको थियो । परिवार र माइतीको पनि सहारा बनेकी थिइन् सीता । १२ गते वैशाखको भूकम्पमा उनको श्रीमान् डेरामा नै पुरिए । तर, उनको आफ्नै सहाराको धरोहर ढलेको छ । अब त उनीसँग न बस्ने बास छ न त आडभरोसा दिने श्रीमान् नै ।

‘मलाई जस्तो बज्रपात त अरु कसैलाई पनि परेको छैन ।’ सीता भन्दै थिइन्, ‘भगवानले मलाई किन यस्तो दुःख दियो, यो बालक छोरा अब कसरी हुर्काउने, जागिर पनि स्थायी छैन ।’

उनको क्रन्दनमा केही थोपा आँशु मेरो आँखाबाट पनि खसे । गला अवरुद्ध भए । यो विपत्तिमा उनलाई सहानुभूतिका शब्द व्यक्त गर्नु पनि बेकार झैं लाग्यो । सायद उनको पीडामा एकाकार हुन सकिँन । वा भनौं पेशागत धर्मले दिएन । आँखाबाट आँशु खसाउँदै चुपचाप सीताको क्रन्दनलाई कापीका पानामा टिपिरहें ।

(भिडियोसहित)

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: