‘कहिल्यै आउँदैन त्यो भोली’


प्रकाशित मिति :2015-05-17 14:43:29

प्रतिमा सिलवाल 
Shovaललितपुर, जेठ ३। धादिङ मुरलीभञ्ज्याङकी शोभा लम्साल वैशाख १२ पछि अझै राम्रोसँग बौरिएकी छैनन्। बेहोस जस्तै छिन्। भूकम्पले उनको परिवारको एकमात्रै आधार श्रीमान् विष्णुहरीलाई खोस्यो। एकातिर श्रीमान् गुमाउनुपर्दाको पीडा अर्कोतिर परिवार पाल्ने जिम्मेवारी थपिएको छ।
तर, अझै आफूलाई बलियो बनाउन भने सकेकी छैनन् उनले। उत्तरी धादिङको रि गाविसमा पर्ने देउराली प्राथमिक विद्यालयको प्रधानाध्यापक थिए शोभाका श्रीमान् विष्णुहरी। विद्यालयबाट एक दुई महिनामा घर आउँथे। धेरैजसो शुक्रबार बेलुका घर आइपुग्थे।
वैशाख १२ गते भने आइतबारको लागि घर आउने योजना बनाएका थिए विष्णुहरीले। ‘भोली बिहानै आउँछु, आज नुवाईधुवाई गर्नुछ भनेर फोन गर्नुभाथ्यो’ भावविह्वल शोभाले भनिन्, ‘त्यो भोली अब कहिल्यै आउँदैन।’
नयाँ शैक्षिक सत्रमा आवश्यक पर्ने पुस्तक किनेर लैजाने योजनासहित विष्णुहरीले परिवारलाई आईतबार मात्रै घर आउने बताएका थिए। तर, वैशाख १२ गतेको भूकम्पले विष्णुहरीलाई उनी बस्ने घरमा पुर्यो। उनीसँगै ४ जना शिक्षक पनि पुरिए।
विष्णुहरीका दाजु शिवहरी लम्सालले भने, ‘पुस्तक पसलमा किताबको लागि पैसा पनि तिरिसकेको थियो। किताब लैजानु त कहाँ, ज्यानै लग्यो भूकम्पले।’
विष्णुहरीका २ छोरा छन्। कक्षा २ र ७ मा पढ्ने छोराको कसरी पढाइ अघि बढाउने अझै सोच्न सकेकी छैनन् शोभाले। ‘उहाँ स्कूल पढाउनुहुन्थ्यो, म दुई छोरालाई स्कूल पठाउँथे, खेतीपाती गरेर बसेको थिएँ’ शोभाले थपिन्, ‘अब मैले यी चिचिला २ छोरा कसरी पढाउनु, हुर्काउनु?’
श्रीमान् मरेका मात्रै होइन भूकम्पले शोभा बस्ने २ कोठे माटोेको घर पनि भत्काइदिएको छ। हेर्दा घर ढलिसकेको छैन, तर भित्रभित्रै चिरिएर बस्न नमिल्ने भएको छ। तर, सरकारका तर्फबाट उनले कुनै राहत पाएकी छैनन्।
भूकम्पमा परि मृत्यु भएका परिवारलाई सरकारले काज किरियाको लागि ४० हजार रुपैयाँ दिने भनेपनि उनले पाएकी छैनन्। न त भूकम्प पीडितका लागि भनेर जाने राहत शोभाको परिवारसम्म पुगेको छ। शोभा भन्छिन्, …आफू नै सम्हालिन सकेकी छैन म कहाँ राहत खोज्न जाने?’
आईतबारसम्म धादिङमा मृत्यु हुनेको संख्या ७ सय २७ जना पुगेका छन्। ती मध्ये महिला २५३ र बालिका १३० जना छन्। मृत्यु भएकामध्ये सबैको परिवारलाई अझै राहत र किरियाखर्च पुगेको छैन।
धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे पहिलो चरणमा बाँडिएको किरिया खर्च अपुग भएकोले गृह मन्त्रालयबाट आएपछि पुन बाँडिने बताउँछन्। राहत भने सबैजसो स्थानमा पुगेको उनको भनाई छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: