सर्वसाधारण अझै खुल्ला आकाशमुनीः वृद्धवृद्धा र बालबालिका बढी प्रभावित
सरिता राई
सल्लेरी (सोलुुखुम्बु), जेठ ४ । विनाशकारी भूकम्पले विकट हिमाली जिल्ला सोलुखुम्बुका हजारौं सर्वसाधारण अझै खुल्ला आकाशमुनी बसिरहेका छन्। गत वैशाख १२ गतेको भूकम्पबाट कोही पनि अछुतो छैन तथापी सोलुखुम्बुमा २२ जनाको ज्यान गयो अनि सयौं वर्ष पुराना घरहरू ध्वस्त भएका छन्।
वैशाख २९ गतेको भूकम्पले सोलुखुम्बुमा मानविय क्षति नभएपनि पन्ध्र जना घाइत भएकोे र करिब ९ हजार घरमा क्षति भएको जिल्ला दैविक प्रकोप उद्धार समितीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो।
भूकम्प कहिले र कतिबेला आउने निश्चित नभएकोले अझै खुल्ला आकाशमुनी त्रिपाल टाँगेर केटाकेटी सँगै बसिरहेको सल्लेरीेकी देवी निरौलाले बताउनुभयो। ‘पानी परिहरेको छ, चिसोका कारण बिरामी भइने डर एकातिर छ भने अर्कोतर्फ भूकम्पको त्रास अनि बच्चाको झनै बिजोग भयो’ उहाँले भन्नुभयो ।
पञ्चन–९ सोलुखुम्बुकी ७८ वर्षीया देउसाली दमाइको पनि पीडा उस्तै छ। ‘मर्ने बेलामा यस्तो विपती आइलाग्यो, ४५ सालमा बनाएको घर बस्न हुने अवस्थामा छैन, छोराहरू सबै विदेशमा छन्, अझै पनि भूकम्प आउने त्रासले चित्राको गोठ बनाएर चौरमा बसेकी छु। आँखाबाट आँशु झार्दै दमाइले भन्नुभयो “प्राकृतिक विपतीसँग कसैको केही नलाग्दो रहेछ।’
पटक–पटक गएको भुकम्पको धक्काले ३० वटा गा.वि.स र एक नगरपालिका रहेको सोलुखुम्बु जिल्लाका अधिकांश वृद्धवद्धा, बालबालिका तथा सुत्केरी महिला बढी प्रभावित हुनका साथै जनजीवन अस्तव्यस्त र त्रासपुर्ण रहेको छ।
Comment Here!