दुई भुर्इंचालो खेपेका आमाहरू


प्रकाशित मिति :2015-05-18 15:12:23

narayan pic (2)_0
घटिए सपना एकदुईले पाए 
जल्दा–जल्दी रिसल्ला खबर दिन आए 
माघका दुई गते सोमबारे औंसीका दिन 
आई गयो भुइँचालो सबैको सातो लिन 
त्यति राम्रो घण्टाघर बन्ने हो कि होइन 
त्यती राम्रो धरहरा अब देखिंदैन 
                                                   धरहरा तीन टुक्रा भैगयो 
                                                 राजारानीका रुँदैमा दिन गयो 
काभ्रे ४ जेठ । नब्बे सालको भुकम्पपछि बनेको सवाई गीत काभ्रेकी ९८ बर्षकी वृद्धा झम्ककुमारी खनाललाई खररै आउँछ । २०७२ वैशाख १२ को भुइँचालोमा पनि उनले उक्त सवाइ सम्झिइन् ।
ऊवेला तीनटुक्रा भई ढलेको धरहरा बिउँतियो । भत्केको घण्टाघर बज्न थाल्यो । तर ८२ वर्षपछि बैशाख १२ गते फेरि महाभूकम्प आयो । उठेको धरहरा उस्तैगरी टुक्राटुक्रा भएर भुइँमै बिलायो । घण्टाघरमा पनि असर पर्यो । झम्ककुमारीका सवाइका सत्य फेरि उस्तै बने । उतीबेला जनताका प्यारा राजारानी रोए । अहिले पूरै देशका जनता रोए । आँखा अझै ओभाएका छैनन् ।
राजधानी काठमाडौबाट ५० किलोमिटर माथि, काभ्रे सदरमुकामबाट २० किलोमिटर माथि अरनीको राजमार्ग बीचमा पाँचखाल उपत्यका छ । पाँचखालदेखि थोरै उकालो कच्ची सडक हिँडेपछि पुगिन्छ काभ्रेको टाँके गाउँ । त्यही गाउँमा बस्छिन् झम्ककुमारी ।
 ९० सालको भुकम्पमा कलकलाउँदो युवती २०७२ को भुइृचालोमा आइपुग्दा आँखा धमिला भैसके । कपाल सेतै फुलेका छन् । कान राम्ररी सुन्दिनन् । लठ्ठी उनको सहारा र साथी बनेको छ । भएको घर भत्किएपछि वुढेसकालमा टिन र पालको छानोको ओत लगाउनु परेको छ । ‘मर्नेबेलामा फेरि भुकम्प बल्झिँदा दुई पकटकै कालले लगेन’ उनले भनिन्, ‘लेखेको रहेनछ र बाँचें ।’
टाँकेको ठाडो गाउँका ६९ घरमा ६० घर ढलेका छन् । बचेका घर पनि चर्किएका छन् । नब्बे सालको भुइँचालो जाँदा काठमाडांै सहित आसपासका जिल्ला अहिले जसरी नै त्राहीत्राही थिए । पहाडको धर्ती फाटेकै थियो । ढुंगा र माटो पहरा छाडेर धर्ती खोज्दै भौतारिएकै थियो । धर्तीको त्यो कम्पनले कतिको ज्यान अकालमै चुँडेर लग्यो पनि । कतिलाई टुहुरो बनायो । कतिको काख रित्तो बनायो ।
अस्ति बैशाख १२ गतेको बिनासकारी महाभूकम्पले पनि न साना बालबालिका भनेर छाड्यो । न त बुढाबुढी नै भनेर छाड्यो । मरेका त मरिगए । बाँचेकाहरुमा पनि अब फेरि धर्तीको कम्पन छुट्ने हो कि वा कता के हुने हो भन्ने पिरलोमै छन् ।
नब्बे सालताका पनि यस्तै कोकोहोलोले घरघरलाई पिरोलेको थियो ।  उतिबेला १६ बर्षकी थिइन झम्ककुमारी खनाल । कलकलाउदो उमेर । के खाउँ के लाउँको जवानी । काभ्रेको अनेकोट ५ नम्बर गाउँको घरमा परिवारसँगै थिइन् । गाउँकै तरुनी तन्नेरीसँग कहिले लेक त कहिले बेँसी गर्दै दिन बित्थ्यो उनको ।
१९९० साल माघ २ गते । दिउँसोको समय । खनालका सबै परिवार खाना खाई सुस्ताउदै थिए । चिसो दिन आँगनको आँपको बोटमुनि झम्ककुमारी घामको न्यानो लिँदै थिइन ।
गडडड धर्ती काँप्यो आँखै अगाडि घर झरप्प बन्यो उनले सम्झिइन बसेको जमिन चिराचिरा भए । ऊबेलाका साना घर, खरको छानो, काठको पाली, राता माटाका भित्ता । धर्तीको माटोमै मिल्यो ।
९० सालको भूकम्प बेहोरेकी काभ्रेकी ९८ बर्षीया झम्ककुमारी २०७२ सालको भुकम्पका पीडित गाउँलेहरुसँग गाउँमै भएको राहत वितरण कार्यक्रम लठ्ठीको सहारामा सहभागी हुँदै ।
यतिबेला जस्तो बाटामा मोटर गुड्दैनथ्यो । आकासमा हेलीकप्टर उडेर हेर्न पनि आउँदैनथ्यो । अहिलेको जस्तो टलक्क टल्कने जस्ता पनि थिएन ओत लाग्ने । खानेकुरा कसैले ल्याइदिएनन् गाउँलेलाई । धान जम्मै माटामा पुरिए, गहुँ उस्तै गरी माटामै मिले खनालले भूकम्पपछिको भोकमरी स्मरण गरिन धान खोस्रेर रातभरि निफनियो । बिहानभरि ढिकीमा कुट्यो र खायो ।
कयौं दिन अनेक प्रयास गरेर गाउँलेले छाक टारे । भत्केका घर पनि आफैँ उचाले । दुःखको आँशु पनि आफैँ पुछे । घाइते भएकाहरुले पनि मलमपट्टी आफैँ गरे ।
अहिले झम्ककुमारी ९८ वर्षकी भइन । बेंसी झरेर काभ्रे पाँचखाल १४ को टाँके गाउँमा बस्दै आएकी छिन् । उतिबेला जस्तो जिउमा तागत छैन । ठूलै आकांक्षा पनि केही छैन । ‘कान राम्रो सुन्दिनँ, आँखा देख्दिनँ’ उनले भनिन्, ‘आफू बुढो भइयो तर यो भुइँचालो अझै जवान नै रै’छ ।’
  छोरा नाती अनि पनातीहरुसँग खेल्दै रमाउदै दिन बिताउन भने उनको मन अझै भरिएको छैन । आफ्नो जीवन यही छोराछोरी र परिवारलाई सुम्पिए उनी लर्बराउदै बुढ्यौली भाकामा बोल्छिन्, ‘अब यिनको राम्रो देख्न पाए पुग्यो ।’
उतिबेला जवानीमा आएको भुइँचालो फेरि बुढ्यौलीमा फर्कदा उनी चोटामै सुतिरहेकी थिइन् । ‘ऊ बेलामा पनि मरियो भनेको बाँचिएछ, अहिले पनि चोटामा सुतेको मेरो वरिपरिका भित्ताहरु सबै लडेछन् । दिउँसो सुतेको चोटो मात्रै बाँकी थियो, बैशाख १२ को महाभूकम्प स्मरण गरिन् ‘भगवानले बचाए झैं लाग्छ ।’
नब्बे साल र अहिलको भुइँचालोको झट्का उनलाई उस्तैउस्तै लाग्छ ।  ‘दुईपटक मरेर बाँचेँ’ उनले भनिन् उतिबेला भाग्न सक्ने थिएँ, यो बेला सक्दिनँ । अहिलेको भूकम्प लामो भएको उनले सुनाइन्।
त्यो बेलाका घर साना थिए, तर अहिले ठूलाठूला घर भएको उनले बताइन् । अहिले घरहरु गाउँमै पनि पहिला भन्दा ठूला भएकाले पनि धेरै भत्केको उनको अनुभव छ । तल्लो तलाका परिवारका सदस्य निस्केर भागे तर आमा चोटामा थिइन् । ‘घर चोइटा–चोइटा भए पनि हजुरआमा त जिउँदै रहिछन्’, नाति प्रमोद खनालले  खुसी थपे ।
छोरा गोविन्दले माया मारिसकेका थिए । ‘लौ आमा त ज्यूदै रहिछन्,’ भनेको झम्ककुमारीले सुनिन्। यो पालाको भुइँचालोले घर भत्किए पनि परिवारका सदस्य सकुशल रहेकामै खुसी छिन् उनी । ‘सम्पत्ति त जिउ रहे कमाउला नि’ पाको कुरा गरिन्। ज्यान त नजोगाए कसरी कमाउनु ।
अहिले उनको परिवार तरकारी खेतीका लागि बनाएको टनेल र सहयोगीले दिएको त्रिपालमा बस्छन् । सहयोगीले दिएकै अन्न बाँडीचुडी खान्छन् । तर गाउँ छिमेकीका घरमा शोक परेको देख्दा मन भने कुँडिएकै छ उनीहरुको ।
उही गाउँमै नब्बे सालको भुइँचालो जाँदा सात बर्षकी रहेकी छलीकुमारी रम्तेल अहिले ८९ वर्षकी छिन् । उबेला बालकै थिइन् । बाबुले आफुलाई पिठ्यौमा हालेर भागेको याद छ उनलाई ।
‘बहिनी सान्नानी खेलाउँदै थिएँ भुईचालो आयो भनेर आमा वुवाले बोक्न थाले हामीलाई उठाएको केही सिकेन (सेकेन्ड) मा घर ढल्लो र बाँचें’ छलीले भनिन् , अहिले चाहिँ आफैं भाग्दा भाग्दै पनि भेटिहाल्यो, तै पनि मर्न भने लेखेको रैनछ ।’
त्यतिखेर केही नभए पनि यसपालाको भुइँचालोले उनको हात भाँचिदियो । ‘घरमा लसुन केलाउँदै थिएँ, गड्गड गर्दै भुई हल्लियो उनले भनिन् भाग्न खोज्दा खोज्दै घर लडेर लाग्यो र भाँचियो’ हातमा बाँधेको घरेलु जडिवुटीको काम्रो देखाउँदै छलीले भनिन् ।
घरेलु जडिबुटी लगाएर काम्रो बानेर बसेकी छिन् । यस्तो विपित्तमा कहाँ डाक्टर कहाँ अस्पताल  । उनी विरक्तिदै भन्छिन्, ‘हात नजोडिएर के भो र अब मर्ने बेला पनि भैहाल्यो ।’
‘उतिबेलाको भुइँचालोले पनि उनको घर भत्काएको थियो । यसपालाको पापी भुईचलालोले हात पनि भाँचिदियो,’ सुस्केरामा उनी बोल्छिन् । ‘यो पालिको त अजम्मरी भुइँचालो रहेछ आजसम्म पनि आएकै छ’, आश्चर्य प्रकट गर्छीन् ।
९० सालको भुकम्पमा बुवा आमाले बचाएका काभ्रेकी ८९ बर्षीय छलीकुमारी रम्तेल भुकम्पले घर ढलेर भाँचिएको हातको काम्रो देखाउँदै अस्थायी झुप्रो अगाडि ।
नब्बे सालको भुइँचालो गएकै वर्ष जन्मिएकी हुन गोरखाकी दिलमाया भट्टराई । उमेरले ८२ पुगिन् । नब्बे सालको भुइँचालो पनि ८२ वर्षको अन्तरालमा ठूलै कम्पन सहित फर्कियो ।
आमा बाले भनेको बाहेक अरु कुरा ऊबेलाको भुइँचालोबारे उनलाई थाहा छैन । तर पटक–पटक भुइँचालो गएको साल जन्मेको भनेर सबैले सम्झने गरेको उनी बताउँछिन् । कस्तो बिनास भो थाहा त पाइनँ उनी भन्छिन् तर आमा बाले भनेको सुन्दा यस्तै भयो कि जस्तो लाग्छ ।
त्यो बेला बा आमाको घर चिरियो अहिले मेरो बास उठ्ने गरी घर चिरियो उनले तुलना गर्दै भनिन् यसो बुझ्दा यस्तै भएथ्यो होला ऊ बेला पनि ।
गाउँका धेरै परिवारको बिल्लीबाठ भएको देख्दा उनी भुइँचालोप्रति रुष्ट छिन् । ‘किन फेरि–फेरि आइरहन्छ यो भुइँचालो मनै हल्लाउने गरी अब त रोकिए नि हुने’, उनले दुखेसो गरिन् ।
सोमबारसम्म नेपालमा २०७२ सालको भुईचालोले ८ हजार ५ सय ६६ जनाको ज्यान गइसकेको छ । कति वेपत्ता छन् । लाखौं घर भत्किए भने १० औं लाख मानिस विस्थापित छन् । ९० साल माघ २ गते २ बजेर २ मिनेटमा ८ दशमलव ३ रेक्टरको भुकम्प गएको थियो । ९० सालमा ८ हजार ५ सय १० जनाको ज्यान गएको तथ्यांक छ ।
तीन हजारभन्दा बढी घाइते भएका थिए भने ३ लाख ६८ हजार घर भत्किए त्यो बेला । यो पालाको भूकम्पको पूर्ण क्षति विवरण आइसकेको छैन । यस्ता कयौं आमाहरु छन्, जो दुवै भूकम्पबाट जोगिए र त्रासदीका कथा सुनाइरहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: