छोरीलाई विवाहमा अंश


प्रकाशित मिति :2015-05-19 11:27:00

गीता चिमोरिया

unnamed (4)महोत्तरी, जेठ ५ । हलभरि खचाखच मान्छे, मञ्चमा दुलहादुलही र केही विशिष्ट पाहुना। गेटमा “छोरीलाई दाइजो होइन, शिक्षा र अंश दिनुपर्छ” लेखिएको ब्यानर। विवाहमा न जग्गे थियो न पुरोहित। उद्घोषकको उद्घोषणसँगै दुलहादुलहीले एक अर्कालाई माला लगाई दिए र औठी साटासाट गरे, पररर तालीले हल गुञ्जियो विवाह सकियो।

महोत्तरीको बर्दिबासमा सोमबार आयोजित एक विवाह समारोहको दृश्य हो यो। पछिल्लो समय छोरीलाई पनि छोरा सरह अंश दिनुपर्छ भन्ने कुराले निकै चर्चा पाई रहेको छ। धेरै गोष्ठी भए, चर्काचर्का भाषण सुन्न पाइयो, धेरै थरीले विभिन्न प्रकारका बहस गरे यस विषयमा। तर व्यवहारिक रुपमा परिवर्तन आउन भने समय लाग्ने रहेछ। छोरीलाई दाइजो नदिई अंश दिने यस्तै खालका केही अभ्यास पनि भएका छन्, समाजमा। तर वर्षौदेखि जरा गाडेर बसेका यस्ता कुरीति समाजबाट हटाउन सानोतिनो संघर्षले काम चल्दैन। अझ दाइजो बिना त विवाह नै हुँदैन भन्ने मानसिकता बोकेको मधेसी समुदायमा छोरीलाई विवाहमा दाइजोको साटो अंश दिनुलाई ठूलै परिवर्तन मान्नुपर्छ।

महोत्तरीको बर्दिबास निबासी मधेसी समुदायका एक परिवारले आफ्नी छोरीलाई विवाहमा दाइजो नभएर अंश दिएका छन्। बर्दिबास नगरपालिका २ निबासी सत्यनारायण महतो र रामसखीदेवी महतोले आफ्नी छोरी कल्पनालाई विवाहमा छोरा सरह पैत्रिक सम्पत्तिबाट अंश दिनुभएको हो। छोरीलाई दाइजोको ठाउँमा छोरा सरह अंश दिएर गरिएको यो विवाहले मधेशी समुदायमा नयाँ सन्देश प्रवाह गरेको छ।

unnamed (1)

सिरहाको गोलबजार निबासी अनिल महतोसँग कल्पनाको दाइजोविना विवाह भएको हो। पूर्व मन्त्री, सभासद र सुरक्षा निकायका अधिकारीको समेत सहभागितामा भएको वैवाहिक कार्यक्रममा आमा रामसखीले छोरी कल्पनालाई अंश वापत जग्गा धनी प्रमाण पत्र (लालपुर्जा) प्रदान गर्नुभयो। परम्परागत वैवाहिक विधि विधान बिना बैवाहिक कार्यक्रम सम्पन्न भएको थियो।

बैबाहिक कार्यक्रममा बरबधुले एक अर्कालाई माल्यार्पण र औंठी साटासाट गर्नु बाहेक परम्परागत विवाहका कुनै पनि विधिविधान गरिएको थिएन। कार्यक्रममा मिथिलाका कलाकारले दाइजो प्रथा विरोधी गीत, नृत्य र नाटक प्रस्तुत गरेका थिए। बैबाहिक कार्यक्रमका प्रमुख अतिथि एकीकृत नेकपा माओवादीका प्रमुख सचेतक एवं पूर्व मन्त्री गिरिराजमणि पोखरेलले महतो परिवारले छोरीलाई छोरा सरह अंश दिएर मधेसी समाजलाई नयाँ चेतना दिएको बताउनुभयो।

विवाहमा दिने दाइजोको पीरले छोरीलाई गर्भमै हत्या गर्ने मधेसी समाजलाई यो विवाहले नयाँ चेतना र सन्देश दिएको पोखरेलको भनाइ थियो। उहाँले मधेसमा छोराछोरी बराबरी हुन् भन्ने सन्देश दिन यो विवाहले पुनर्जागरणको काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सभासद निशा साहले दाइजोको पीरले भ्रुणमा छोरीको र भने जति दाइजो नल्याउँदा बुहारीको हत्या गर्ने मधेसी समाजले कल्पना र अनिलको विवाहबाट धेरै कुरा सिक्न सक्ने बताउनुभयो। ‘यो विवाहले छोरीलाई दोश्रो दर्जाको नागरिक सरह व्यवहार गर्ने मधेसी समाजको चेतना परिवर्तन गर्न ठूलो सहयोग पुग्ने छ’, साहले भन्नुभयो।

कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले दाइजोको विकृतिबाट मधेसलाई मुक्त नपारेसम्म मधेसी समाजपछि परिरहने बताउनुभयो। ‘छोरीलाई छोरा सरह शिक्षा र सम्पत्तिमा समान हैसियत दिने हो भने महिलामाथिको हिंसा नियन्त्रण हुन्छ’, प्रमुख जिल्ला अधिकारी काफ्लेको भनाइ थियो। कार्यक्रममा बोल्दै बेहुलाका बुवा सिरहा निवासी रामचन्द्र महतोले बिना दाइजो आफ्नो छोराको विवाह गर्न पाउँदा आफूलाई गर्व लागेको बताउनुभयो।

कार्यक्रममा बेहुलीका दाजु शंकर महतोले बैनीलाई दुई दाजुभाइ सरह १० लाख रुपैयाँ बराबरको अंश दिएको जानकारी दिनुभयो। कार्यक्रममा मिथिलाका कलाकारले मधेशी समाजमा विवाहमा हुने गरेको दाइजोको मोलमोलाई र त्यसले निम्त्याउने विकृतिविरुद्ध गीत, नृत्य र प्रहशनको माध्यमबाट चोटिलो प्रहार गरेका थिए।

छोरीलाई पनि छोरा सरह अंश दिनु महिला हिंसा अन्त्यका लागि एउटा महत्वपूर्ण कदम हो। महिला अधिकारका लागि गरिएको एक सह्राननीय प्रयास। तर अब अधिकारसँगै महिलाले आफ्नो कर्तव्य पनि निर्वाह गर्नुपर्छ। आफूमा आई परेको जुनसुकै जिम्मेवारी निर्वाह गर्न पनिपछि हट्न हुन्न। जिम्मेवारी निर्वाह गर्न हिच्किचाउने र म त छोरी हुँ के गर्नुपर्छ र मैले दाजुभाइ छदैछन् नि भन्न थाल्यौं भने अधिकारका लागि गरिने संघर्ष फेरिपनि बिना अर्थको हुन जान्छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: