बन्दी गृहमा पनि महिलालाई पुरुषसरह खुला ठाउँ छैन


प्रकाशित मिति :2015-05-20 11:11:45

mahila

कारागार भित्र महिला

सृजना अर्याल/ जिल्ला कारगार चितवनको महिला बन्दी गृहकी चौकीदार अनिता गुरुङको अन्य महिला कैदी बन्दीसँग अचेल एउटै आग्रह हुन्छ– ‘सबै कुरा भन तर ‘आयो आयो’ नभन।’

आफ्नो आग्रहबारे प्रष्टाउदै उनी भन्छिन्, ‘आयो भन्नासाथ सबैले भुकम्प सम्झिन्छन् र भागभाग सुरु हुन्छ।’

कसैले ‘आयो’ भनेको सुन्नासाथ भन्ने सुन्नासाथ कैदी–वन्दीहरू हतारिँदै गेटमा पुग्छन्। बन्दी गीता घिमिरेलाई देखाउँदै चौकीदार गुरुङ भन्छिन्, ‘छ महिनाको छोरी बोकेर यिनी गेटमा पुग्छिन्।’

गीताको मात्र के कुरा थाल मात्रै खसे पनि यहाँका कैदीहरूले भूकम्प आएको ठान्न थालेका छन् । गत वैशाख १२ मा आएको भूकम्प र त्यसपछिका धक्का र अनुकम्पहरूले महिला बन्दी गृहभित्र मानसीक असर परेको छ ।

एकातिर, महिला बन्दी गृहका अधिकांश भौतिक संरचनामा क्षति पुगेको छ । यसले बन्दहरूलाई दिनरात त्रासमै बिताउनु पर्ने बनाएको छ । अर्कातिर, बन्दीका घर र माइती पनि भूकम्पको निशानामा परेकोले थप पीडा सहनु परेको छ।

विनाशकारी भूकम्पले कारागारका महिला बन्दीहरुमा झन् पीडा थपेको दुखसो गरिन् चौकिदार गुरुङले। ‘विभिन्न कारण बन्दी जीवन बिताउन परेका हामीलाई भूकम्पले फेरि यो त्रास थप्यो’ उनले अँध्यारो अनुहार पार्दै भनिन्, ‘भित्र बस्यो सबै चर्केको छ, बाहिर जाने ठाउँ छैन। के गर्नु? कम्पाउण्ड मात्रै भए पनि पाल हालेर राति राम्ररी निदाउन त पाउने थियौं ।’

‘ऊ पुरुष दाजुभाइ त पाल टाँगेर बस्नु भा’को छ’ उनले अगाडि थपिन्, ‘हामी महिलालाई त सत्ताले नि ठग्ने, प्रकृतिले नि ठग्ने, आफन्तीको त झन् के कुरा!’

चौकिदार गुरुङले महिलामाथिको सामाजिक विभेद भूकम्प सामना गर्ने बेलामा पपिन देखिएको बताइन्। उनले बोल्दै गर्दा अर्की बन्दी माया लामाले थपिन्, ‘हामी रातमा पनि पालो गरेर सुतेका छौं । रातमा आयो भने त हामी सकिइहाल्छौं नि। यस्तो धरापमा छौं हामी।’

यसो भन्दै गर्दा उनका आखाँ एकाएक रसाए। केही बेर उनको गला अवरुद्ध भयो।

‘मेरो त यो भुकम्पले विजोक बनायो’ आशु पुछ्दै उनले भनिन्। नुवाकोट दानसिङमा रहेको उनेको घर भत्कियो ।

उनको जिन्दगीको घर भत्केको  त १२ वर्ष भइसक्दा पनि हरेश नखाएकी मायालाई भने यो भुकम्पले साह्रै चोट थप्यो । पतिको साथ नपाई जेनतेन छोरा र छोरी हुकाएकी उनले वर्ष दिनदेखि जिल्ला कारागार भरतपुरमा बन्दी जीवन बिताइरहेकी छिन्  ।

अजिंगरको छाला ओसार पसारमा दोषी ठहर भई उनी जेल परेकी हुन्। उनका छोराछोरी काठमाडौंको डेरामा बस्दै आएका थिए । भूकम्पका कारण उनका दुवै छोराछोरीले पालमुनि रात बिताइरहेका छन् ।

काभ्रेको दोलालघाटमा रहेको उनको माइती घर पनि भत्केको छ। माइतीमा  बाबुआमाले पनि पालमै रात कटाइरहेका छन् । उनलाई आफन्तहरू के गर्दै होलान् भन्ने पीडा एकातिर छ भने अर्कोतिर उनी आफैं बन्दी गृहमा बन्द छिन्।

उनले मनका बह पोखिन, ‘के गर्नु दैव एकै चोटी लाग्छ भन्थे त्यस्तै भयो, माइतीमा आमा बाबुको त्यो हालत, बच्चाहरु त्यस्तै, आफु यसरी बस्नु परेको छ।’

चेलीबेटी बेचविखन विरुद्धको मुद्दामा थुनामा परेकी मकवानपुरकी ४० वर्षीया गोेरीमाया स्याङतानलाई पनि यो भूकम्पले पीडा थपिदिएको छ ।

दुई वर्षदेखि थुनामा रहेकी गोरीमायाले भनिन्, ‘नगरेको अपराध सहेर पनि दिनरात कटाएकी थिएँ। भूकम्पले दिनरात काट्न पनि गाह्रो भयो । मेरो सानो घर पनि अर्काको घरले च्यापेको छ रे। मेरो छोरोको झनै  बिजोग भयो।’

उनका एक मात्र २० वर्षे छोरा पालमा वस्तै आएका छन् । छिमेकी नेहकी लामाको घरले उनको घर च्यापेपछि  छोराले अन्यत्रै सरण लिनु परेको हो।
गोरीमायाका आँखा फेरि टलपलाए। उनले भनिन्, ‘यहाँ पनि यस्तो छ । उता घरको हालत त्यस्तो सुन्छु। आफ्नो भन्ने त्यही एउटो छोरा अर्काको पालमा बसेको छ रे। खै खान पा’को छ कि छैन।’

वैशाख १२ गतेयता भूकम्पले चितवन जिल्लाको भरतपुर कारागारका अधिकांश भवनहरूमा क्षति पुगेको छ । पुरुष बन्दी गृहका ‘क’ र ‘घ’ ब्लकमा पनि क्षति पुगेको छ।

जेलर चोलाकान्त पोख्रेलका अनुसार, महिला बन्दी गृहका अधिकांश भवनमा क्षति पुगेको छ। पुरष ब्लकका ‘क’ र ‘घ’ ब्लकका बन्दीहरूलाई चौरमा पाल टाँगेर राखिएको छ।

महिला बन्दीको लागि त्यस्तो उपयुक्त ठाउँ नभएका कारण केही दिन गेट खुल्ला राखेर बरण्डामै बस्न दिएको पोख्रेलले जानकारी दिए। महिलाहरुका निम्ति पनि खुला कम्पाउन्का लागि धेरै अघिदेखि पहल गरेको उनले बताए।

घाम ताप्न र घरेलु सामग्री निमार्णका लागि पनि कम्पाउन्ड खुला गरेको गरेको खुल्ला ठाउँको व्यवस्था हुन सकेको छैन। भूकम्पका कारण अब नयाँ भवन आवश्यक देखिएको छ । ‘त्यसका लागि हामीले कारागार व्यवस्था विभागलाई जानकारी पनि गराइसकेका छौं,’ पोखरेलले भने।

२०२५ सालमा निर्माण भएको क्षतिग्रस्त चितवन जिल्ला कारागारमा एक सय २० जना कैदी बन्दी राख्ने क्षमता भए पनि हाल ५ सय ६९ जना कैदी बन्दीहरु राखिएको छ ।
महिला बन्दी गृह २० जनाका लागि बनाइएको भए पनि २ नाबालक सहित हाल ४६ जना महिला बन्दीहरु छन् । बन्दी गृह पिलर नभएको पुरानो भवनमा छ र त्यसमा व्यारेक पनि निर्माण भएपछि थप जोखिममा परेको छ।

महिला कैदी बन्दीका लागि कारागारमा पुरुषसरह सुविधाहरु देखिँदैन । उनीहरूका निम्ति जाडोमा घाम ताप्ने र अरुबेला कपडा सुकाउने ठाउँसम्म छैन। महिलाका निम्ति घरेलु काम, सिलाइबुनाइ आदिका निम्ति पनि ठाउँ छैन।

भुकम्पले बन्दी गृहमा क्षति पारे पनि जोखिम भने महिला बन्दीले नै बढ्ता सहनु परेको छ । घरको पीडा र बन्दी गृहको असुरक्षाले तिनीहरू चिन्तित छन्। उनीहरुले पुरुषले जसरी पाल टाँगेर खुला ठाउँमा बस्न पनि पाएका छैनन् ।
बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भने जस्तो स्थिति यी महिलाको छ। जेलमा परेकै कारण प्रायः आफन्तबाट टाढा यी महिलाको आवाज बोल्ने संघसंस्था पनि देखिँदैनन् ।

मानवअधिकार आयोग उपक्षेत्रीय कार्यलय बुटवलका मानवअधिकार अधिकृत चन्द्रकान्त चापागाईँले भूकम्पबाट जीर्ण अवस्थामा रहेका भवनहरुमा क्षति पुगेकोले असुरक्षित भएको बताए।

उनका अनुसार राज्यको बन्दीगृहप्रति दूरदर्शी सोच नभएकाले पनि महिला कैदीवन्दी थप प्रताडित हुनुपरेको हो । भवन निमार्णका क्रममा महिला बन्दीगृहमा पनि खुला ठाउँको व्यवस्था हुन नसकेको परिणाम महिला बन्दीहरुले त्रासमा रहनुपरेको हो । दिउँसो भन्दा पनि रातमा उनीहरुलाई अझै अप्ठरो परिरहेको भन्दै उनीहरुको सुरक्षित रहन पाउनुपर्ने माग गरेका छन्।

‘हामीले सम्बन्धित निकायलाई झक्झक्याएका छौ’ महिला अधिकारकर्मी सरिता केसीले बताइन्, ‘सरकारले बन्दी गृहलाई सुधार गृहको रुपमा परिणत गर्ने भने पनि महिला बन्दीहरुका लागि व्यहारमा त्यस्तो देखिएको छैन।’

‘हाम्रा कारागारमा  लंैगिक मैत्री वातावरण छँदै छैन’ केसीले रोष प्रकट गर्दै भनिन्, ‘भुकम्पपछि पुरुष कैदीलाई खुला ठाउँमा पाल टाँगेर व्यवस्थित हिसाबले राखिएको छ तर महिला बन्दीले भने चर्केकै भवनमा बसिरहनु परेको छ। यो महिला माथिको विभेदको उपज हो।’

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: