सृजना अर्याल
चितवन,जेठ ६। नातिनीसँगै घरमा सुतिरहेकी ७७ वर्षीया बृद्धा ज्ञानधरी सापकोटा लुटेराहरूको आक्रमणमा परी घाइते भएकी छिन्।
लुटेराहरूको आक्रमणबाट घाइते भएकी चितवन भरतपुर उप–महानगरपालिका ६ की सापकोटाको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ।घाइते ज्ञानधरीको निधारमा १० वटा टाँका लगाइएको अस्पतालले जानकारी दिएको छ। उनको शरीरिभरी निलाडाम छन्। लुटपाट गर्नु अघि लुटेराले आफूलाई कुटपीट गरेको सापकोटाले बताइन।
ज्ञानधरीसँगै कोठामा सुतेकी २० वर्षीया नातिनी प्रतिक्षा सापकोटाको पनि कानमा गहिरो चोट लागेको उनको उपचारमा खटेका डक्टरको भनाइ छ।राती साढेदुई बजेतिर घरमा घुसेका लुटेराले ज्ञानधरीले लगाएको साढे एक तोलाको सिक्री, माडवरी र नातिनी प्रतिक्षाले लगाएकोे सिक्री लुटेर भागेको छोरा तुलसी सापकोटाले जानकारी दिनुभयो।
आफू सुतेको कोठालाई लुटेराले बाहिरबाट ताल्चा लगाइदिएकाले घटना हुँदा केही थाहा पाउन नसकेको छोरा तुलसी सापकोटाले बताउनुभयो।वैशाख १२ गते गएको भुकम्पपछि सो क्षेत्रमा चोरी र लुटपाटको क्रम बढेपछि स्थानियले सुरक्षाको माग गर्दै मङ्गलवार जिल्ला प्रहरी कार्यालयमा घेराउ गरेका थिए।
Comment Here!