महिला खवर
कास्की, जेठ ६। खान, लाउन पाएका छौ। बालबच्चाको उपचारदेखि हेरचाह सबै कुरा छ। भूकम्पको त्रास हटाउन घुम्न पनि लगिरहनु भएको छ ,मनकारी मान्छे पनि आइरहन्छन् तर मन भने गाँउमै छ। कहिलेसम्म यहा बस्नुपर्ने हो?’ गोर्खा लाप्राककी २० दिनकी सुत्केरी मनमाया गुरुङले भनिन्।
वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परेर घाइते भएकी मनमाया यतिबेला तमुधिं कास्कीको आश्रयस्थलमा भूकम्पपछि जन्मेको बच्चालाई हेर्दै दिन विताइरहेकी छिन्।
‘भूकम्पले पेटको बच्चा बाँचेको छ भन्ने आशै थिएन ,तीन दिनपछि बल्ल चलेको थाहा पाएँ। १४ गते सेनाको ठूलो मान्छेले पोखरा गएर जँचाउनु भनेर हेलिकप्टरबाट पठाएर १६ गते गण्डकी मेडिकल कलेजमा अप्रेसन गरी बाबु जन्म्यो। ‘ —खुसी हुँदै उनले भनिन्।
अस्पतालबाट डिष्चार्ज भएर ८ दिनको शिशु लिएर आश्रयस्थल आएकी मनमायाले आफ्ना सबै पीडा विर्सेर बच्चाको मुख हेर्दा खुसी लागेको बताइन तर अनिश्चित बन्दै गएको भविष्य देखेर भने मनमायालाई चिन्ता थपिँदै गएको छ।
मनमायाका श्रीमान रोजगारका लागि कुवेतमा छन्। गाउँ घरमा को मरे को बाँचेका छन्’ केही खबर छैन उनलाई। आफ्ना सासुआमा, देवर देवरानी र बच्चाबच्ची सबै सकुशल रहेको उनले बताइन्।
गोरखा बारपाककी १८ वर्षीया माइली गुरुङ पनि आनन्दले सुत्न सकेकी छैनन्। वैशाख १ गते सुत्केरी भएकी उनी छोराको न्वारन लगत्तै भूकम्पमा हल्लायो। कोक्रोमा राखेको छोरालाई टप्प टिपेर घर बाहिर निस्किन्। हेर्दाहेर्दै आफ्नै अगाडी े घर गर्ल्यामगुर्लुम ढल्यो। परिवारका अरु सदस्य पनि घर भित्र नभएकाले बाँच्न सफल भए। ज्यान त बच्यो तर बाँकी दैनिकीको चिन्ताले उनलाई पनि सताइरहेको छ ।
बच्चालाई जण्डिस भएपछि उपचार गराइरहेकी छिन्। उनी भन्छिन् ‘यहाँ हामीलाई सबै ठिक छ, कतिले त केहि नपाएर बसेका छन्। गाउँमा झन विजोग छ रे भन्छन्। हामीले त खुवाउने र हेरचाह गर्ने परोपकारी मनहरू पाइरहेका छौं। तर मनमा भने सन्तोष छैन कहिलेसम्म अरुले दिएको खाने !’
पीडा उस्तै छ लाप्राकै २० वर्षीया माया गुरुङको पनि । ८ महिनाको बच्चा बोकेर वनमा दाउरा लिन गएका बेला भूकम्प आयो। छोरालाई खाली ठाउँमा राखेर उनी दाउरा काट्दै थिइन्। उनीसँगै ८ महिनाकी गर्भवती भाउजु पनि थिइन्। एक्कासी रुख हल्लियो उनीहरू अत्तालिँदै बच्चा बोकेर घर आए तर घर भत्किसकेको थियो। घरका सदस्य भाग्न सफल भएछन्।
अहिले मायालाई निमोनिया भएको आफ्नो ८ महिने छोरोको चिन्ता छ। ‘वर्षायाम सुरु हुन लाग्यो बस्ने बास र खाने गाँसको टुंगो छैन। अरुको भरमा कति बस्नु? गाउँमा गएर पाल मुनि बस्दा यो बच्चालाई फेरी निमोनिया हुन्छ कि भन्ने चिन्ता छ। जाउँ कहाँ जाऊँ नजाऊँ कति बसौ?’
मायाकी भाउजु माइली गुरुङलाई भने बच्चा कस्तो जन्मने हो भन्ने चिन्ता छ। भूकम्पको धक्का लागेपछि अपाङ्गता भएको बच्चा जन्मिन्छरे भनेर अरुले उनलाई सुनाउँदा उनको मन भत्भती पोलेको छ। यहि महिना उनले बच्च्चा जन्माउँदै छिन्।
वैशाख १२ गते गएको महाभूकम्पपछि घाइते र प्रभावितको राहतकालागि पोखराका बिभिन्न संघसंस्थाले पुर्नस्थापना केन्द्र स्थापना गरी सेवा प्रदान गर्दै आएका छन्। केन्द्रमा रहेका भूकम्प पीडितका लागि ३ दर्जन भन्दा बढी संघसंस्था एवं व्यक्तिले राहत, भोजनलगायत अन्य आवश्यक सामग्री सहयोग गरेका छन्।
Comment Here!