ईश्वरी जी.एम.
रोल्पा, जेठ ७। जाड रक्सी सेवन र जुवातासले महिला हिंसाका घटना बढेको भन्दै रोल्पा दुबिडाँडा गाविसका आमा समूहले जाड रक्सी सेवन र जुवातास बन्द गर्न बुधबारदेखि अभियान चलाएका छन्।
गाविसस्थित स्वास्थ्य आमा समूहले जाड रक्सी बनाउने र बेच्ने महिला नै बढी हुने भएकाले यसविरुद्ध महिला नै एकजुट भएर पूर्णरुपमा नियन्त्रण र बन्द गर्ने अभियान चलाएको आमा समूहकी अध्यक्ष शर्मिला थापाले बताउनुभयो। अध्यक्ष थापाका अनुसार बालविबाह, बहुविवाह, घरेलु हिंसा, यौन दुर्व्यवहार न्यूनिकरण गर्ने कार्यक्रम पनि अभियानसँगै जोडेर लगिने छ।
यो निर्णयविरुद्ध जाडरक्सी सेवन र वेचविखन गर्ने जो कोहीलाई सुरुमा ५ सयदेखि १० हजारसम्म जरिवाना गर्ने त्यो पनि नमाने कानुनी प्रक्रियाका लागि अघि बढ्ने नियम समेत समूहले बनाएको छ। अभियानलाई व्यापक बनाइ गाउँगाउँमा पुर्याउन प्ले कार्ड सहितको र्यालीले गाविसका विभिन्न वडामा परिक्रमा गरिएको छ। आमा समूहको यो अभियानलाई स्थानीय राजनीतिक दल, स्वास्थ्य संस्था, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, बुद्धिजीवी सबैले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन्।
रोल्पा जिल्लामा अत्यधिक मात्रामा घरेलु मादक पदार्थको उत्पादन, बिक्री वितरण र सेवन गर्ने प्रचलनले जिल्लाका धेरै महिला श्रीमानबाट हिंसामा परेको र समाजमा अशान्ति बढेको भन्दै जिल्ला प्रहरी कार्यालय रोल्पाले पनि सोमबार सदरमुकाम लिबाङबाट करिब ४ सय लिटर घरेलु रक्सी विभिन्न होटेलबाट नियन्त्रणमा लिएर नष्ट गरेको थियो।
Comment Here!