एजेन्सी
इरान, जेठ ७। इरानबाट प्रकाशित हुने महिला सम्बन्धि पत्रिका ‘जीनान ई इम्रोज ‘ प्रकाशनमा त्यहाँको सरकारले रोक लगाएको छ।
‘जीनान ई इम्रोज’ पत्रिकाले इरानको सामाजिक र धार्मिक कानुनविरुद्ध विवाह हुनुपूर्वको केटाकेटीको सम्बन्धलाई प्रोत्साहन दिएको सामग्री प्रकाशन गरेको भन्दै प्रकाशनमा रोक लगाएको इरानबाट प्रकाशन हुँदै आएको अलमोनिटर डट कमले जनाएको छ। तर, महिला पत्रकार जिला बानी यहवाले भनेकी छन् ‘पत्रिका बन्द गर्नुको कारण विवाह पूर्व केटाकेटी बीचको सम्बन्धका बारेमा प्रकाशित भएको लेखमात्र होइन, महिला अधिकार सम्बन्धि पत्रिकाले उठाउँदै आएका सबै विषयमा राज्यलाई आपत्ति थियो।’
सो पत्रिकालाई इरानी राष्ट्रपति मोहम्मद एहमदिनेजादकै प्रशासनले दोस्रो पटक प्रकाशन हुनबाट रोक लगाएको हो।
महिलाका मुद्दालाई उठाउने उद्देश्यले फेव्रुवरी १९९२ बाट प्रकाशित हुँदै आएको जीनान ई इम्रोज पत्रिकालाई इरान सरकारले पहिलो पटक २००६ मा रोक लगाएको थियो।
पत्रिकाले महिलाको समान अधिकार, छोडपत्रमा महिलाको अधिकार, राजनीतिमा महिला सहभागिता र महिलामाथि हुने हिसांविरुद्धका विभिन्न मुद्दामा आवाज उठाउँदै आएको थियो।
‘जीनान ई इम्रोज’ पत्रिकाका सम्पादक सहला सेरकतका अनुसार ‘पत्रिका प्रकाशन गर्नुको मुख्य उद्देश्य महिलालाई सचेत बनाउने र लैङिगक समानताका बारेमा राज्यको निर्णय तहसम्म महिला पुग्नुपर्छ भन्ने हो।’
Comment Here!