देविका घर्ती मगर
दाङ, जेठ ८ । २०७२ वैशाख २८ गते सतबरिया–२ बनघुस्रीकी बासुदेवी चौधरीलाई कपाल मुण्डन गरी, कालोमोसो र जुत्ताको माला लगाएर गाउँ घुमाएकाे घटनाका मुख्य दोषीलाई धरौटीमा रिहा गरिएको छ। जिल्ला प्रशासन कार्यालयले बिहीवार घटनाका मुख्य दोषी मानिएका सीतारामी चौधरी, पानमती चौधरी, हिरामोती चौधरी, जानकी चौधरी, दिलकुमारी चौधरी, आशाकुमारी चौधरीलाई रिहा गरेको हो।
प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले १२ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको जानकारी दिनुभयो। घटनाका पीडकलाई सुध्रिने मौका दिन र पीडितलाई पुर्नस्थापित गर्ने सोच अनुसार हाललाई धरौटीमा रिहा गरिएको उहाँले बताउनुभयो। ‘सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलिरहेको छ। हाम्रो प्राथमिकता पीडित महिलालाई सम्मानसहित कसरी सोही गाउँमा पुर्नस्थापित गर्ने भन्ने कुरा मुख्य हुन्छ’—पौड्यालले भन्नुभयो।
घटनाका मुख्य दोषीले नै पहल गरेर पीडितलाई गाउँको अवस्था सामान्य अवस्थामा ल्याउन् भनेर नै उनीहरूलाई धरौटीमा रिहा गरिएको हो, प्रजिअ पौड्यालले भन्नुभयो। उनीहरूको आनीबानी र पीडितलाई उनीहरू र गाउँलेले गर्ने व्यवहारका आधारमा फेरीपनि कुनै नराम्रो व्यवहार भएमा फेरीपनि थुन्न सकिने उहाँको भनाइ छ। अहिलेलाई मुद्दा चलिरहेको छ। मुद्दाको फैसला पछि हुने र कानुनअनुसार पीडकलाई सजाय तथा जरिवाना गरिने उहाँले बताउनुभयो।
पीडितलाई समाजमा सम्मानसहित पुर्नस्थापित गर्ने उद्देश्य रहेको भन्दै उहाँले आफै गएर गाउँमा पीडितलाई पुर्नस्थापना गर्ने बताउनुभयो। यद्यपी जिल्लाका संघसंस्थाका प्रतिनिधि तथा मानवअधिकारकर्मीहरूले भने, पीडित र आफुहरूसँग सल्लाह नगरेको गुनासो गरेका छन्।
घटना भएको पछिल्ला दिन जिल्ला प्रशासन कार्यालयको पहलमा संघसंस्था, मानवअधिकारकर्मी, पत्रकारसहितको टोलीले घटनास्थलको स्थलगत अध्ययन गरेको थियो। वैशाख २८ गते गाउँभरका महिलाले बासुदेवीलाई पैसा नदिएको आरोप लगाएर कपाल मुण्डन गरी, कालोमोलो दलेर, जुत्ताको माला लगाएर गाउँ घुमाएका थिए। घटनाको सर्वत्र विरोध भएको थियो।
यो पनि पढ्नुस
Comment Here!