महिला खवर
काठमाडौं,जेठ ८। राष्ट्रिय महिला आयोगका अध्यक्ष शेष चाँदताराले भूकम्प पीडित महिलाका लागि राज्यले छुट्टै राहत वितरणको व्यवस्था नगरेको बताउनुभएको छ। उहाँले भूकम्प प्रभावित जिल्लामा केही मात्रामा गैरसरकारी संघ संस्थाले महिलालाई लक्षित गरेर राहत वितरण गरेपनि पर्याप्त नभएको अनुगमनका क्रममा पाईएको बताउनुभयो।
गाँस र बासको व्यवस्थापनभित्र महिलाको विशेष अवस्थालाई ध्यान दिई राज्यले राहत वितरण गर्नुपर्ने बताउनुभयो। भूकम्प प्रभावित जिल्लाको स्थलगत अनुगमन गरेर काठमाडौं फर्किएकी अध्यक्ष चाँदताराले महिलाको क्षेत्रमा काम गर्ने एनजीओ र आईएनजीओलाई राहत वितरणका लागि जिल्ला विभाजन गरिदिएको जानकारी दिनुभयो।
आयोगले समन्वय गरेर भूकम्प प्रभावित एक जिल्ला बराबर ५ वटा संस्थालाई जिम्मा दिएको बताउनुभयो। भूकम्पबाट प्रभावित सुत्केरीलाई दुई महिनासम्म सेल्टरको व्यवस्था गर्न आयोगले महिला आधारशीलासँग मिलेर काम गरेको उहाँले जानकारी दिनुभयो।
आयोगका सदस्यहरू भूकम्प प्रभावित क्षेत्रमा महिलाअनुकूल राहत वितरण भए/नभएको अनुगमन गर्न गएको बताउँदै भन्नुभयो ‘सबै सदस्य जिल्लाबाट फर्केपछि राज्यलाई समस्याको बारेमा जानकारी गराउँछौ र त्यो अनुसार राहतको लागि पहल गर्नेछौ।’
Comment Here!